परदेशबाट फर्केर वडाध्यक्ष, आफ्नो सबै सुविधा जनताको सेवामा खर्च

0
452

पाल्पा । रम्भा गाउँपालिका–१ हुँगीका वडाध्यक्ष इश्वर काफ्ले कोरोना संक्रमण अघि बैदेशिक रोजगारीका लागि कतारमा हुनुहुन्थ्यो । कतारमा काफ्लेको जागिर राम्रै थियो । बिदेशबाटै आफ्नो जन्मभुमिको दुःखसुखमा मलम लगाउने काममा काफ्लेको अग्रसरता थियो ।

पाल्पाली सेवा समाज दोहा कतारको अध्यक्षको रुपमा रही उहाँले पाल्पालीको सेवा गर्नुभयो । भुकम्पको समयमा मात्रै नभएर गरिव दुःखी नेपालीहरुको उपचार तथा अप्ठेरोमा यो समाज अहिले मलम पट्टि लगाउने काममा तल्लिन छ ।
कतारमा कोरोना संक्रमण फैलिएको बेला नेपालमा पनि कोरोनाको त्रास थियो । कोरोना संक्रमण भई आइसोलेसनमा रहेका बेला उनै काफ्लेले सबैभन्दा बढी आफ्नो जन्मभुमि सम्झनुभयो । दुःखको सारथी आफ्नै गाउँ हुने आत्मसात् गर्दै उहाँ कोरोना निको भएपछि गृह गाउँ हुँगी फर्कनुभयो । गाउँ आएपछि पनि एक हप्ता बढी समय गाउँकै बिद्यालयमा रहेको क्वारेन्टाइनमा बिताउनुभयो । क्वारेन्टाइनमा रहेको समयमा उहाँमा झनै गाउँप्रतिको आत्मियता बढ्यो ।

त्यतिबेलासम्म काफ्लेको पहिचान विदेशमा रहेर रोजगारीसँगै सेवामा सर्मर्पित युवाको रुपमा थियो । नेपाली कांग्रेसमा आस्थावान काफ्लेको त्यसपछिको समय राजनीतिक क्रियाशीलतामा पनि देखियो । यसअघि पनि काफ्लेकै पहलमा हुँगीमा थ्रिस्टार युवा क्लव मार्फत रचनात्मक कार्यक्रम हुँदै आएका थिए । उहाँकै नेतृत्वमा स्थानीय स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण पनि गरिएको थियो ।

२०७९ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित काफ्लेले निर्वाचनका समयमा आफु जनताको असल सेवकको रुपमा लागिपर्ने प्रतिबद्धता जनाउनुभएको थियो । फलतः उहाँले निर्वाचित भएपछि त्यसलाई व्यवहारमा उतार्दै आउनुभएको छ । वडाको सेवा प्रवाह थप व्यवस्थित भएको छ । जनतालाई छरितो सेवामा उहाँ र उहाँको टिम अहिले सक्रिय छ ।

वडाध्यक्षको रुपमा प्राप्त सुविधा जनताकै सेवामा
धेरै तिर चर्चा हुन्छ । जनप्रतिनिधि तलव र भत्तामा मात्र केन्द्रीत भए । तर वडाध्यक्ष काफ्लेले आफूले सेवागरेवापत सरकारबाट प्राप्त भत्ता र सुविधा जनताकै सेवामा खर्चनुभएको छ ।

वडाध्यक्ष काफ्लेले आर्थिक बर्ष २०७९,०८० सकिएलगत्तै आइतवार जनसमुदायसँग सेवकको स्नेहमिलन गर्दै आफुले १ बर्षको अवधिमा राज्यबाट पाएका भत्ता सेवा सुविधा वडाका विभिन्न संघसंस्थामा हस्तान्तरण गर्नुभयो । गत १ बर्षको सुविधा र दशैं सेवा गरि १३ महिनाको रकम र कार्यपालिका बैठकबाट प्राप्त नगद, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको कार्यक्रमबाट प्राप्त भत्ता रकम उहाँले हस्तान्तरण गर्नुभयो ।

१३ महिनाको कुल रकम ३ लाख ४४ हजार ५ सय २०, कार्यपालिका बैठक भत्ता २० हजार रुपैया र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको कार्यक्रम सहभागी भत्ता १२ हजार ५ सय रुपँया गरि करकट्टी जम्मा रकम ३ लाख ७७ हजार २० रुपैयाँ उहाँले विभिन्न सामाजिक क्षेत्रका लागि हस्तान्तरण गर्नुभयो ।

प्रावि तहलाई निशुल्क गराउनुपर्ने परिकल्पनामा सघाउ पु¥याउने उद्देश्यले जनकल्याण मावि १–५ तहलाई १ लाख रुपैयाँ, मजुवा प्रा.वि.लाई ५१ हजार १ सय ११, कालीगण्डकी गुरुकुलम सञ्चालन तथा व्यवस्थापनमा ५१ हजार १ सय ११ रुपैयाँ, हुँगी स्वास्थ्य चौकीबाट सञ्चालित एम्बुलेन्स मर्मतमा ९८ हजार, शारिरीक अपाङ्गता (फरक क्षमता) भएका सागर बोटेलाई ह्विल चेयर खरिदमा ९ हजार, पन्टार सार्वजनिक शौचालय हेरालुलाई ३ हजार ५ सय र वडा आपतकालिन कोषमा आपतकालिन अबस्थामा उपयोग गर्न सकिने गरि ६४ हजार रुपँया वडाध्यक्षको सेवा सुविधा वडाध्यक्षका बुवा र आमाले सम्बन्धितलाई हस्तान्तरण गर्नुभयो ।

निर्वाचित भएपछिका ५ बर्ष नितान्त सेवाभावमा नागरिकसँग रहने प्रतिबद्धता गर्नुभएका वडाध्यक्ष काफ्लेले जनताकै सुझाव सल्लाह बमोजिम वडा कार्यालय अगाडि बढ्दै आएको बताउनुभयो । यही मेसो पारेर जनसमुदायसँग सुझाब लिनुभएको हो । कार्यक्रममा रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारी सहित स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here