पाल्पाको पहिचानः ढाकाको उत्पादन

0
438

पबित्रा पराजुली । पाल्पा
तानसेन नगरपालिका– ६ कि पूर्णमाया महर्जन ८७ बर्ष पुग्नुभयो । उहाँ एक सफल महिला उद्यमी हुनुहुन्छ । ६५ बर्ष अघि पाल्पामा पहिलो पटक पाल्पाली ढाका उद्योग स्थापना भएको थियो । सुरुवातमा मर्हजन र उहाँको परिवार मिलेर खोलेको उद्योगले अहिले पाल्पामा एक दर्जन भन्दा बढी उद्योगहरु स्थापना गर्नका लागि प्रेरित गरेको छ ।

करिव एक हजार बढीलाई सीप सिकाउनु भएकी महर्जन अहिले पनि कामप्रति उत्तिकै लगनशील हुनुहुन्छ । आफूमा भएको सीप निखार्दै अगाडि बढ्नुभएकी महर्जनको उद्योगमा अहिले पनि ३० जना महिलाले काम गर्छन् । महर्जनले श्रमिकहरुलाई बुनेको ढाकाको आधारमा पारिश्रमिक दिनुहुन्छ । उहाँका अनुसार एक जानाले मासिक २० । २५ हजार आम्दानी गर्न सक्छन् । उहाँ पाल्पाली ढाका संघकी अध्यक्ष समेत हुनुहुन्छ ।

पाल्पामा १५ ढाका उद्योग छन् । वर्षेनी कम्तीमा १७ हजार ५ सय मिटर ढाका यहाँ नै उत्पादन हुन्छ । यसबाट हरेक बर्ष करोडौ रुपैयाँको कारोबार हुने पाल्पा ढाका संघका अध्यक्ष महर्जनले बताउनुभयो । उहाँका अनुसार उद्योगबाट बनेका ढाकाका सामाग्रीहरु टुडिखेलमा रहेको ढाका संघको सोरुम बाट बेचबिखन गरिन्छ । बिशेषगरि ढाकाका कपडाहरुको जिल्लासँगै जिल्ला बाहिरबाट माग हुने गरेको उहाँले बताउनुभयो । पाल्पा जिल्ला ढाकाले परिचीत जिल्ला हो । पाल्पाली ढाका भनेपछि स्वदेश तथा बिदेशमा समेत राम्रो परिचय छ ।

लुम्बिनी प्रदेश सरकारले एक पालिका एक कोसेली कार्यक्रम अन्तर्गत पाल्पाको तानसेन नगरपालिकासँग समन्वय गरि कोसेली घर स्थापना गरिदिएको छ । पाल्पा ढाका संघले ब्यबसायीहरु बाट ढाका खरिद गरि कोसेली घरबाट बिक्री गर्ने ब्यबस्था मिलाएको छ । अहिले ढाकाबाट चोली, टोपी , भोटो, कमिज, साडी, ब्लाउज, झोला कुर्था पछ्यौरा दौरासुरुवाल कोट लगायतका कपडा बनाइने मदनपोखरा ढाका उद्योग पाल्पाका संचालक कमल भण्डारीले बताउनुभयो ।

कुनै पनि कार्यक्रममा दोसल्ला ओढाउन , बिहेका लागि आवश्यक पर्ने ढाकाका कपडा , चिनो दिनका लागी प्रयोग हुने पछ्यौरा , झोला बालबालिकाका लागि बनेका रेडिमेट तथा थानका कपडा बढी बिक्री हुने गरेको बताउनुभयो । सामानका लागि अन्यत्रबाट समेत पसलका लागि होलसेल सामानकोअर्डर आउने हुनाले बेचबिखनमा समस्या नभएको मदनपोखरा जानकी बस्त्रालयका संचालक कल्पना पोखरेल भट्टराईले बताउनुभयो ।

चोली राम्रो पाल्पाली ढाकाको गीत त्यसै गाइएको हैन । साच्चैनै पाल्पाली ढाका नेपालमा मात्रै नभएर बिदेशमा पनि प्रसिद्ध छ । १५ ढाका उद्योग रहेको पाल्पामा ९८ प्रतिशत महिलाले रोजगारी पाएका छन् । पाल्पालाई २०७८ चैत १२ गते ढाकाको राजधानी घोषणा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here