रामपुर नगरपालिका वडा नं. ६ को कालीआँप देखि गौरीघाटसम्मको सडक पुष्प मार्गको रुपमा विस्तर गरिँदै

0
348

पाल्पा । रामपुर नगरपालिका वडा नं. ६ को कालीआँप देखि गौरीघाट सम्मको सडकलाई पुष्प मार्ग नामाकरण गरी फूल प्रजातिका विरुवा लगाईएको छ । ४ किलोमिटर लम्बाई रहेको सडकको दायाँ बायाँ सौन्दर्य प्रदान गर्ने विरुवाहरु लगाईएको हो ।

बुधबार पुष्प मार्गमा वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरलाई हरियाली शहरको रुपमा विकास गर्न नगरले आर्थिक वर्ष २०७९÷०८० देखि कार्यक्रम बनाएर अघि बढेको बताउनुभयो । कालीआँप देखि विजयपुर, तालपोखरा, तिलकपुर हुँदै गौरीघाट सम्मको सडकलाई अहिले पुष्प मार्गको रुपमा अघि बढाईएको र नगरका अन्य सडकहरुलाई पनि सोही अनुसार अघि बढाउने योजना रहेको बताउनुभयो । सौन्दर्यका लागि मात्र नभै पर्यावरण र मानव जीवनका लागि बोटविरुवाको महत्वपूर्ण स्थान रहेको भन्दै नगरका पार्क, चौतारो र सार्वजनिक स्थान संरक्षण संगै विरुवा रोप्नको लागि प्रोत्साहन गरिने जानकारी दिनुभयो । बजार क्षेत्रको सौन्दर्यका लागि गमलामा विरुवा रोप्ने कार्यलाई प्रोत्साहन गर्ने उल्लेख गर्नुभयो । उहाँले वृक्षरोपण गरिएको बोट विरुवाको हेचाह गर्नु र हुर्काउन सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।

रामपुर नगरपालिका ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले वडाका अन्य सडकहरुमा पनि माटो अनुसार फलफूलका विरुवा लगाउने कार्यलाई निरन्तरता दिदै जाने बताउनुभयो । उहाँले दिगोविकासको अवधारणा अनुसार पर्यावरणका लागि विरुवा रोपिएको जानकारी दिनुभयो । रामपुर सव डिभिजन वन कार्यालय बाट प्राप्त गोल्डमोहर, पारिजात, शिरिष र कपुर प्रजातिको विरुवा मार्फत विरुवा सडकको दायाँ बायाँ लगाईएको हो । रामपुर सव डिभिजन वन कार्यालयका कर्मचारी केश बहादुर खण्डलुले वन कार्यालयले सौन्दर्य प्रदक ६ सय विरुवा प्रदान गरेको जानकारी दिदै आवश्यक प्राविधिक सहयोग गर्न कार्यालय सदा तप्पर रहेको बताउनुभयो ।

पुष्प मार्ग वृक्षरोवण उपभोक्ता समितिका अध्यक्ष केदार अधिकारीले पुष्प मार्गलाई नमुना सडकको रुपमा चिनाउनका लागि लगाईएका विरुवा हुर्काउनका लागि सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । रामपुर नगरपालिका ६ का वडा सचिव चिन्तामणी भण्डारीले वडा गौरवको रुवमा रहेको पुष्प मार्गको लागि नगरपालिका बाट ७ लाख रुपैयाँ विनियोजन भएको र सोही रकम बाट विरुवा लगाउने, विरुवा संरक्षणका लागि घेराबार निर्माण गर्ने कार्य भैरहेको बताउनुभयो । पुष्प मार्ग वृक्षरोवण उपभोक्ता समितिका अध्यक्ष केदार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव चिन्तामणी भण्डारीले गर्नु भएको हो । कार्यक्रममा वडाका जनप्रतिनिधि, नगर सल्लाहाकार, वडा सल्लाहाकार सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here