सांसदको बालहठ र मेडिकल कलेजका नैतिकहीन स्वास्थ्यकर्मी

0
815

यज्ञमूर्ति तिमिल्सिना
कोभिड १९ अर्थात् कारोनाको नेपाल चर्चा हुन थालेदेखि नै खासै टिप्पणी गरेको थिइन । अन्य बेला जस्तो सानो टिप्पणी गरिराख्नुपर्ने बेला यो होइन भन्ने मेरो निश्कर्ष हो । स्कुल कलेजको परीक्षा सहि समयमै सकिएर बिदा हुनु, एसइई परीक्षा सर्नु, लकडाउनको घोषणा सहि समयमा हुनु सरकारका राम्रा कदम हुन् ।


हुन मुलुक नै समस्यामा रहेको बेला फेरि समस्या उठाएर अप्ठेरो सृजना गर्न खोज्नु मेरो सोचाई छदै छैन । केन्द्र सरकारले गरेका निर्णयलाई जिल्ला र स्थानीय तहमा पटक्कै गतिलो गरि कार्यान्वयन नै भएको छैन । यसले भोलि थप जटिलता ननिम्त्याओस् भन्नेमा यो लेख केन्द्रीत छ ।


पाल्पामा यो अवधिमा त्यस्ता घटना भए जसले हाम्रो जिल्लाको नियत छताछुल्ल बनाएको छ । प्रशासनबाटै स्वास्थ्यकर्मीका लागि आएको मास्क हराउनु, मेडिकल कलेजमा पुगेका बिरामीले सहित उपचार नपाउनु, सांसदले जान्ने बनेर अस्पतालमा राख्नुपर्ने बिरामीलाई डाक्टरलाई दबाब दिएर घर फर्काउनु, गाउँ गाउँमा क्वारेन्टाइन बन्नु तर मान्छे बस्नै नमान्नु, स्थानीय सरकारहरुले सही एक्सन लिनै नसक्नु, जिल्लामा दर्जनौं निर्णय निर्णय हुनु तर कार्यान्वयन हुँदै नहुनु । यस्ता बिषय समाचार सामाग्रीको रुपमा आएको देख्दा नलेखी मनले नै मानेन ।


मेडिकल कलेजका नैतिकहिन स्वास्थ्यकर्मी


यो बेला अस्पताल र अस्पतालमा खटिइरहेका डाक्टर बिशेषज्ञहरुलाई गाली गरिरहँदा आफुतिर पनि फर्केर हेर्नुपर्छ । थोरै सुरक्षा सामाग्री र अपर्याप्त उपकरणका बिच पनि आफ्नो स्वास्थ्यको समेत प्रवाह नगरि दिन रात सेवामा खट्ने अन्य स्वास्थ्यकर्मीहरु प्रति हार्दिक सम्मान प्रकट गर्दछु ।


तर लुम्बिनी मेडिकल कलेज प्रभासको गल्ती आज मात्रै होइन पटक पटक दोहोरिइरहन्छ । यस्तो बिषम् परिस्थितिमा भारतबाट फर्केर ज्वरोले सिकिस्त भएका पोखराथोकका २० बर्षीय दामोदर कुमाललाई पिसाव फेर्न समेत नदिएर एम्बुलेन्सबाटै फर्काइएको खबर राता रात भाइरल भयो । यहाँ दामोदरको स्वास्थ्यको मात्रै कुरा होइन । यदि उनमा समस्या देखिएको भए त्यसले समाजमा पार्ने प्रभावको चिन्ता हो । यस्तो बेला सहि उपचार नदिने कलेजलाई जति गाली गरेपनि पुग्दैन । सेवाका नाममा ब्यापार गरेर लुट मच्चाउनेहरुका लागि यो खबर सामान्य जस्तै भयो होला तर म जस्ता सर्वसाधारण नागरिकका लागि सिकिस्त भएका बेला पनि उपचार नपाइने रहेछ भन्ने कुराले खुबै पिरल्यो ।


हुन त लुम्बिनी मेडिकल कलेजको यो पहिलो गल्ती होइन । हरेक महिना जसो यहाँ गल्ती भइरहन्छन् । ३ महिना अघि गुल्मीबाट हास्दै बोल्दै उपचारका लागि यहाँ आएकी एक युवतीको मेडिकल कलेजकै गल्तीले अनाहकमा ज्यान गुमाइन् । उनको मृत्युपछि कलेज प्रशासन र पिडित परिवार बिच भएको छलफलमा म पनि थिए । हामी पाल्पाका धेरै सञ्चारकर्मीहरु त्यहाँ थियौं । कलेज प्रशासनका केही ब्यक्तिले उल्टै पिडितलाई सम्झाउनु बुझाउनुको साटो हप्काउँदै थिए । हामीले पूर्ण अवरोध गर्यौ । हामी सञ्चारकर्मीहरु पिडितको पक्षमा खुलेरै उत्रियौ पछि कलेजले माफी माग्दै ८ लाख रुपियाँ क्षतिपुर्ति दियो ।


अहिले फेरि कलेजको तर्फबाट डा. राजु शाक्यले पछिल्लो घटनाबारे माफी मागेका छन् । कलेजको लापरबाही चरम छ । तर यहाँको प्रहरी प्रशासन सधै मौन छ । अघिल्लो महिनामात्रै कलेजका स्वास्थ्यकर्मी र कर्मचारी बोक्ने पहेलो गाडीभित्रै रातिको समयमा कलेजकै एक महिला र एक पुरुष कर्मचारी बिच भएको अस्वभाविक कृयाकलापको भित्र भित्रै चर्चा खुबै भयो । पछिल्लो दिन प्रहरीमा यो घटनाको गुपचुपमै मिलापत्र भयो ।


अघिल्लो बर्ष अस्पतालबाटै नवजात शिशु चोरियो । पिडितलाई जागिरको प्रलोभन देखाएर मिलापत्र गरियो तर जागिर दिइएन । पिडित पिडित नै छन् । साक्षी बसेका जनप्रतिनिधिहरु समेत मौन छन् । (यसबारे हामीले केही समय अघि समाचार पनि प्रकाशन गरेका थियौं) यत्रा यत्रा गल्ती दोहो¥याइरहँदा पनि कलेजप्रति प्रहरी प्रशासनले कहिल्यै एक्सन लिएको देखिएन । पछिल्लो घटनामा प्रशासनले कलेजसित लिखित स्पष्टीकरण समेत लिन सकेन । यसबाट सिडिओ कार्यालयप्रति दर्जनौं प्रश्न उब्जिएका छन् ।


स्थानीय सरकार क्वारेन्टाइन बनाउँदै, बिदेशबाट आएकाहरु लुक्दै हिड्दै


चैत १० गतेपछि पाल्पाका बिभिन्न स्थानीय सरकारहरुले धमाधम क्यारेन्टाइन बनाएका समाचार र तस्बिर सार्वजनिक भए । हामीले पनि खुशी ब्यक्त गर्यौ अव केही हुन्छ । तर पाल्पामा स्थानीय तहले बनाएका क्वारेन्टाइनको सहि उपयोग भएकै छैन । पाल्पामा मात्रै स्थानीय तहहरुले ३ सय बढी बेड क्षमताका क्वारेन्टाइन बनाएका छन् ।


तथ्यांक मात्रै हेर्ने हो भने यो अवधिमा बिभिन्न मुलुकबाट पाल्पामा मात्रै १ हजार १ सय बढी नागरिक भित्रिएका छन् । रेकर्ड बाहिर रहेका र लुकि छिपि रहेकाहरु पनि हुन सक्छन् । तर क्वारेन्टाइनमा बस्नेको संख्या ५० पनि छैन । अन्य कहाँ छन् ? किन क्वारेन्टाइनमा राख्न सकिएन ? के उनीहरु भनेजस्तो सुरक्षित रुपमा होम क्वारेन्टाइनमा छन् त ? यसबारे पटक्कै छलफल भएको छैन । स्थानीय तहहरुले भनेका सेल्फ क्वारेन्टाइनको कार्यान्वयन छदै छैन ।


यसका धेरै कारण छन् । परदेशबाट आएकाहरु आफ्नो, परिवार र समाजको स्वास्थ्य प्रति चिन्तित् नहुनु, उनीहरुले स्थानीय सरकारलाई टेर्दै नटेर्नु, स्थानीय सरकारले पनि जोड बल गर्न नसक्नु र जिल्ला स्तरबाट यसको खास पहल हुन नसक्नु । हुन त अहिलेसम्म खास समस्या देखिएको छैन । तर क्वारेन्टाइनमा नबसेका १ हजार बढी बाहिरबाट नागरिक मध्ये १ जनामा पनि संक्रमण रहेछ भने त्यसको जालो परिवार, समाज र जिल्ला हुँदै कहाँ कहाँ फैलिन्छ होला ? यसबारे कसको ध्यान जाने हो ?


सांसदको बालहठ


पाल्पाबाट चुनाव जितेर प्रदेश सांसद भएका पुरन बज्राचार्य यो अवधिमा निकै आलोचित भए । ज्वरोले सिकिस्त एकजनालाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने भएपनि उनले पाल्पा अस्पताललाई दवाव दिएर घर फर्काएको बिषयले चर्चा पायो । हुन त उनी डाक्टर पनि हुन् तर उनको भूमिका सरकारी अस्पतालमा डाक्टरको होइन, सांसदको हो । तर सांसदको जोड बलमा बिरामी अस्पताल नराखेर घरमै फर्काइनु त्यो पनि यस्तो बेला यो निकै लज्जाको बिषय हो ।


यस्ता लज्जाको बिषयमा यहाँका सांसद, कर्मचारी, प्रशासन स्थानीय सरकार सबैको ध्यान जानुपर्छ । अप्ठेरोका बेला उम्किने, पद र शक्तिको दुरुपयोग गर्नेहरु कारबाहीको भागिदार बन्नैपर्छ । त्यसका लागि प्रशासनको मुटु दह्रो हुनुपर्छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।