फाटेको मन सिलाउने मेलमिलापकर्ता र न्यायिक समिति बीच छलफल

0
100

पाल्पा । तानसेन नगरपालिकाको समन्वय, द एसिया फाउण्डेशनको सहयोग र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा नगरपालिकाका विभिन्न वडामा क्रियाशील मेलमिलापकर्ता र न्यायीक समितिबीच अभ्यास अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।


तानसेन नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक लक्ष्मीदेवी पाठकको अध्यक्षतामा भएको कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि नगरप्रमुख अशोककुमार शाहीले आफूलाई प्राप्त अधिकारको दायराभित्र रहेर विवाद व्यवस्थापन गर्नु पर्ने बताए । उनले न्यायाधिश नबन्न तथा विवाद वा झगडा घटाएर शान्तिपूर्ण समाज स्थापनामा न्यायिक समिति र मेलमिलापकर्ताको महत्वपूर्ण भूमिका हुने हुनाले तानसेन नगरपालिकाले आवश्यक सीपविकासको व्यवस्था गरेको बताए । नगरप्रमुख शाहीले मेलमिलाप सम्वन्धी आधारभूत तालिमप्राप्तमध्ये ७९ जना मेलमिलापकर्ताहरुको सूची नगरसभाले अनुमोदन गरेको बताउदै जिम्मेवारढंगले काम गर्न आग्रह समेत गरे ।


कार्यक्रममा बोल्दै न्यायिक समिति संयोजक लक्ष्मीदेवी पाठकले न्यायिक समितिमा रहेका र मेलमिलापकर्ताको तालिम लिएका साथीहरुले फाटेका मन सिलाउनआफूलाई प्राप्त ज्ञान, सीपको उपयोग गर्दै प्राप्त सामग्री अध्ययन गर्नुपर्ने कुरामा जोड दिइन् । विवाद लिएर आउने पीडित र पीडकको आत्मसम्मानलाई मनन गर्दै गोपनियता कायम राख्दै आपसमा मेलमिलाप गराउनेतर्फ सबैले जोड दिनुपर्ने बताउदै भनिन्–“सम्वन्ध विच्छेद गर्न भन्दै आएकालाई मिलेर बस्ने गराएका छौं ।” समितिका सदस्य विनिता लुइँटेलले आफूहरुले प्राप्त ज्ञान, सीपका आधारमा स्थानीय सरकारले सुम्पिएको जिम्मेवारी वहन गर्दै विवाद व्यवस्थापन गर्ने गरेको बताइन् । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका रमिला हुमागाइँले मेलमिलापका सवालमा तानसेन नमूना बनोस भनेर आफुहरुले चाहेको बताइन् ।

अर्का सहजकर्ता इरादा पहाडीले आफूहरुले तानसेन सरकारको आवश्यकता र सहयोगी संस्था एसिया फाउण्डेसनले निर्देश गरेअनुसार काम गरेको बताइन् । पंक्तिकारसँग कुरा गर्दै द एसिया फाउण्डेसनका ५ नं प्रदेश संयोजक चुरामणि पोखरेलले न्यायिक समितिसँग सम्वन्धित मेलमिलापकर्ताहरुलाई दक्ष बनाउन तानसेन सरकारको आवश्यकता अनुसार आफूहरुले सहयोग गर्ने बताए ।


तानसेन नगरपालिकाका १४ वडामा क्रियाशील मेलमिलाप संयोजकहरुले आआफ्ना अभ्यास र अनुभवबारे जानकारी गराउनुका साथै आवश्यक कुराहरुबारे ध्यानाकर्षण गराएका थिए । चिरञ्जीवी खनाल, मित्रलाल नेपाली, विश्वराज रेग्मी, कल्पना पोखरेल खनाल, मञ्जु ज्ञवाली, भुनु थापा, रमेश बोहरा, चिरञ्जीवी शर्मा, शोभा शाक्य, नूरदेव पौडेल, यादवनाथ भट्टराई, दुर्गाप्रसाद अर्याल, रुद्रनाथ घिमिरे, सीताराम घिमिरे, घनश्याम गैरे, लोकबहादुर रेश्मी, दुर्गादत्त रेग्मी, श्रीधर भट्टराई र मीना जीसीले आआफ्ना अनुभव सुनाएका थिए ।

विशेषत नियमित बैठक बसेको, आएका विवाद न्यायीक समितिमा पठाएको, मेलमिलाप कार्यालय सबै वडामा स्थापना गरेको र विवाद लिएर आउने पीडित र पीडकबीच मेलमिलापका लागि आफूहरु खटेको कुरा अधिकांशले जानकारी गराएका थिए । विवादहरुबारे प्रक्रियासम्मत हिसावले न्यायिक समितिमा जानकारी गराउने प्रक्रिया र विवाद व्यवस्थापनका बारेमा न्यायिक समिति संयोजक लक्ष्मीदेवी पाठकले प्रष्ट पारेकी थिइन् ।

–गोविन्द भट्टराईबाट

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।