धर्मशाला र गौशाला निर्माण सहयोगार्थ रामपुरमा महायज्ञको तयारी

0
215

बन्दना पोखरेल । (रामपुर) पाल्पा
गौशाला निर्माणको लागि रामपुरमा महायज्ञ आयोजना गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ स्थित तातोपानीधाममा गौमाता संरक्षण गर्न रामपुर नगरपालिकाको आयोजनामा श्रीमद्भागवत नवाहा ज्ञान महायज्ञ हुने भएको छ । यही फागुन १२ देखि २० गतेसम्म संचालन हुने महायज्ञको तयारी तीव्र पारिएको छ ।

गाई संरक्षणका लागि रामपुर नगरपालिकाले गौशाला निर्माणको काम गरिरहेको छ । यसको लागि आर्थिक रकम अभाव भएपछि महायज्ञ गर्न लागिएको हो । गौशाला निर्माण गर्न रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७४,०७५ मा २० लाख र आर्थिक वर्ष ०७६,०७७ मा २० लाख रकम विनियोजन गरी भौतिक संरचना निर्माणका कामहरु भइरहेको छ । महायज्ञमा ५ करोड दान संकलन गर्ने लक्ष्य रहेको महायज्ञ मुल आयोजक समितिका संयोजक तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताए । “गाईलाई पछिल्लो समय हेयका रुपमा लिइएको अबस्थामा, यसको संरक्षण गर्न महायज्ञ गर्न लागिएको हो, महायज्ञ सकिएपछि भौतिक संरचना छिट्टै नै सम्पन्न गरी गाईलाई गौशालामा राखिनेछ ।” उनले भने । महायज्ञबाट करिव रु ५ करोड रकम उठ्ने अनुमान गरिएको छ यस मध्ये ३ करोड रकम धर्मशाला निर्माणमा खर्च गर्ने र बाकी २ करोड रकम गौशालाको दीगो विकासका लागि प्रयोग गरिने उनले बताए ।

एक सय जना अपांगमैत्री र एक सय जना अन्य व्यक्ति अट्ने खालको सुबिधा सम्पन्न धर्मशाला बनाउने योजना छ । तातोपानीधाममा निर्माणाधिन अवस्थामा रहेको गौशाला परिसरमा हुने भएको महायज्ञमा पण्डित तथा बालब्यास नारायणप्रसाद न्यौपानेले संगीतमय शैलीमा कथावाचन गर्नेछन् । महायज्ञको प्रचार प्रसारको कामलाई तीव्र रुपमा अगाडि बढाइएको प्रचार प्रसार उपसमितिका संयोजक दुर्गेश मल्लले बताए । उनले प्रचार प्रसारको कामलाई तीव्र रुपमा अगाडि बढाइएको समेत बताए ।

हाललाई भने गौशाला सम्पन्न नहुँदा सम्मका लागि साउनबाट यता वडा नं ६ को कार्यालय परिसरमा नै अस्थायी बारबन्देज गरेर गाईहरु संरक्षण गरेर राखिएको छ । यहा अहिले करिव ५० गाई छन् । साउन देखि नगरपालिकाले दुई जना हेरालुको व्यवस्था गरेको छ । रामपुर नगरपालिका क्षेत्रमा छाडा गाईले कृषकका खेतबारीमा पुगेर अन्नबाली खाएर सताउन थालेपछि गौशाला निर्माण सुरु गरिएको हो । करिव पन्ध्र रोपनी क्षेत्रफलमा गौशाला निर्माण गर्ने काम भएको वडा सचिव बासुदेव ढकालले जानकारी दिए ।

गाईलाई व्यवस्थित गर्न यसको गहत मल दुध धार्मिक शास्त्र अनुसार अत्यन्त उपयोगी भएकाले यसको प्रयोगका लागि सचेत बनाउने र गाईको सम्मानका लागि प्रेरित गर्न समेत महायज्ञ सञ्चालन गर्न लागिएको उनले बताए । यो महायज्ञले समग्र रामपुरको बिकासका लागि टेवा पुर्याउने भएकोले महायज्ञको सफलताका लागि आआफ्नो तर्फबाट सहयोग गर्न आयोजकले अनुरोध समेत गरेका छन् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।