केही प्रश्न केटाहरूलाई

0
295

अमृता अनमोल, बुटवल ।

  • म तेरो जिस्क्याउने वस्तु हुँ ? तेरी आमा, दिदीबैनीलाई कसैले यस्तै भने के हुन्छ ?

अफिसबाट फर्किंदै थिएँ । साथी निर्मलाले चिया पिउन निम्ता गरी । नजिकैको चियापसल पुग्दा एक जना अपरिचित अनुहार पनि थियो त्यहाँ । उसको बाल्यकालको साथी रे ! मलाई देख्नासाथ ऊ मुस्कुरायो । निकै परिचित जसरी हात चरप्प छोप्यो । र, मुसार्दै बिस्तारै छोड्यो । पहिलो भेटमै ? म छक्क परें । गोलो टेबलको वरिपरि बसेर चिया पिउँदासम्म उसका आँखा मबाट अन्त गएनन् । नशालु आँखा अनुहार, छाती र शरीरमा डुलाइरह्यो उसले । मानौं भोको बाघ सिकारको खोजीमा थियो । त्यस्तो सिकार म थिएँ । टेबुलमुनि उसका खुट्टा मेरै खुट्टा छुने गरी पसारिएका थिए । म तर्कंदै जान्थें । ऊ लहसिँदै जान्थ्यो । बिस्तारै दुवै हात टेबुलमाथि राखेर क्वारक्वारी हेर्न थाल्यो । मैले असुरक्षित– अपमानित महसुस गरें ।


 मेरो स्त्रीत्व उर्लियो । जुरुक्क उठेर चड्याम्म गालामा बजार्न मन लाग्यो । तर, सकिनँ । साथीको मुख हेरेर सम्हालिएँ । चार सुर्कोमै चिया पिएँ अनि जुरुक्क उठें । साथीले बस्न भन्दै थिई । मचाहिँ ‘काम छ’ भनेर बाहिरिएँ । ऊ हेरेको हेर्‍यै भयो । घर आइनपुग्दै मोबाइलमा म्यासेज आयो । ‘तिमीलाई भेटेर सारै खुसी लाग्यो । निकै मायालु रहिछ्यौ,’ लेखिएको थियो, ‘फेरिफेरि भेटेर चिया खाऊँ है ।’ मैले हत्तपत्त उसको म्यासेज डिलिट गरें । त्यत्तिले मन मानेन । नम्बरै डिलिट गरें । त्यसपछि कम्तीमा उसका दुई दर्जनपटक फोन आए । ‘हामी साथी बनौं’ं भन्ने म्यासेज धेरै आए । मैले सबै म्यासेज र कल डिटेल लिएर प्रहरीमा जाने धम्की दिएँ । त्यसपछि ऊ साइड लाग्यो । तनाव सकियो ।

पहिलो भेटमै उसका तुच्छ हर्कतले केटा साथीप्रतिको मेरो विश्वास डगमगायो । घटनाले समग्र केटाप्रति प्रश्न खडा गरिदियो । के सबै केटा सधैं यौनका भोका हुन्छन् ? किन हरेक केटी साथीको मायालार्ई काम वासनामा मात्रै बदल्न खोज्छन् ? अफिसमा काम गर्दै थिएँ । फेसबुक म्यासेन्जरमा यौटा म्यासेज आयो । ‘हाई ! अमृता सन्चै ?’ गाउँले दाइ रहेछन् । मैले ‘नमस्ते, सन्चै छु’ भनें । केही बेर गाउँघरका कुरा गरे । सोधेको प्रश्नको जवाफ दिएँ । त्यसपछिका दिनमा उनी खुल्न थाले । कहिले ‘तिमी कति राम्री छ्यौ’ भन्थे । कहिले ‘टीभीमा तिम्रो कस्तो राम्रो बोली सुनिन्छ’ भन्थे । कहिले ‘तिम्रो बोल्ड रिपोर्टिङले सबै प्रभावित हुन्छन्’ भन्थे । एक दिन त ‘तिमी कस्तो १५ वर्षेजस्तो देखिन्छ्यौ’, ‘तिमीलाई पाउने त कस्तो भाग्यमानी’, ‘सधैँ मस्त, सधैँ सन्तुष्ट’ पो भने । मैले जवाफ फर्काएँ, ‘आफ्नै चेलीमाथि कुदृष्टि लगाउने दाइका नाममा कलंक । तिमीलाई धिक्कार छ ।’ उनले ‘सरी’ लेख्दै थिए । मैले फेसबुक नै ब्लक गरिदिएँ ।

फेसबुक ब्लक गरे पनि मन शान्त भएन । टेबुलमाथिको बोतल तानेर घटघटी पानी पिएँ । बेचैन महसुस भयो । मनभित्रै प्रश्न मडारियो, ‘केटाको शरीरमा त्यस्तो के छ जसले हरेक प्रसंगलाई यौनसित तुलना गर्छ ?’

कात्तिक अन्तिम साता । सिमसिम पानी परिरहेको थियो । घरनजिकैको एसियन रिसोर्टमा वनसम्बन्धी कार्यक्रम थियो । म छाता ओढेर हतार–हतार जाँदै थिएँ । एक जना नजिकैबाट गुनगुनायो । ‘यौटै छाता ओढौं मायालु’ हतार थियो । त्यसैले म नसुनेजस्तो गरी होटलतर्फ लम्कँदै गएँ । उसले फेरि गायो, ‘ओढौं छाता ओढौं मायालु !’ म ठिंग अडिएँ । उसका आँखा मतिर थिए । रिस उम्ल्यो । त्यसैले कड्किएँ, ‘ए, के भनेको ? कसलाई भनेको ?’ ऊ ‘गीत गाएको’ भन्दै मुस्कुराउन पो थाल्यो । मैले झपारेँ । उसले ‘लाज मानीमानी माया गरेको’ भन्ने जवाफ फर्कायो । म ‘खोइ तेरो माया ?’ भन्दै झम्टिन जाँदै थिएँ । लुसुक्क अर्को होटलभित्र छिर्‍यो । ऊ त्यही होटलको कामदार रहेछ । होटल मालिकलाई ‘आइन्दा त्यसको मुख देखे कालो पोतिदिने’ चेतावनी दिँदै आफ्नो काममा लागें ।

त्यसयता ऊ होटलमा छ या छैन, थाहा छैन । तर, जब म त्यस ठाउँमा पुग्छु— मलाई त्यो मानिसको सम्झना आउँछ । पुरुषको सम्हालिनै नसकिने यौन उत्तेजना सम्झेर दया लाग्छ । र, त्यो स्वभावप्रति घृणा लाग्छ । अघिल्लो साता राजमार्ग चौराह हुँदै अफिस जाँदै थिएँ । ठ्याक्कै बर्दघाट बुटवल बस लाग्ने ठाउँतिर एक जना अधबैंसे मतिर फर्केर बोल्यो, ‘बैनी सुन्तला खाम् सुन्तला । सानासाना चट्ट मिलेका । तिम्रैजस्ता । बैनी सुन्तला खाम्,’ मैले बुझें । उसले स्तनसँग तुलना गरेर मलाई जिस्क्याइरहेको थियो । तर, पनि नसुने जसरी अगाडि बढ्दै थिएँ । ऊ झन्झन् जोडले बोल्न थाल्यो । मैले सहन सकिनँ । टक्क अडिएँ र सोधें, ‘के भनेको ?’ उसले ‘सुन्तला किन्न भनेको’ भन्ने जवाफ फर्कायो । ‘खोइ सुन्तला ?’ उसले पारिपट्टि देखायो । मैले ‘ल हिँड्’ भनें । तर, ती सुन्तला उसका थिएनन् । मेरो रिसको पारो तात्यो । ‘तैँले मलाई जिस्क्याएको ?’ ऊ बहादुरी गरे जसरी मुसुक्क हाँस्यो । र, गिज्याउँदै भन्यो, ‘सुन्तला त सुन्तलै हुन् नि बैनी ! जसका भए नि ।’ मैलै सहनै सकिनँ, ‘तँलाई बदमास !

म तेरो जिस्क्याउने वस्तु हुँ ? तेरी आमा, दिदीबैनीलाई कसैले यस्तै भने के हुन्छ ? ल हिँड् प्रहरीमा ।’ ऊ केही नर्भस भयो । हत्तपत्त १०० मा डायल गरेँ । त्यो फोन अहिले नजिकको प्रहरीमा जाँदो रहेनछ । जिल्ला प्रहरीमा उठ्यो । ऊ डरले काँप्दै थियो । त्यतिबेलै अफिसबाट फोन आयो । सम्झेँ । आज स्टोरी सक्नु छ । औंला ठाडो पारें र उसलाई ‘आइन्दा कोही केटीमाथि आँखा मात्रै ठाडो गरे जेलमा कोच्छु’ भन्दै भुतभुताएर हिँडें । पछिसम्म मलाई थकथकी लागिरह्यो— त्यसलाई किन प्रहरीकोमा लगिनँ ?

बुटवलमै लैंगिक हिंसाविरुद्धको कार्यक्रम थियो । कार्यक्रममा एक जना नेता र म अतिथि थियौं । हामीसहित मञ्चमा ७ जना र हलमा करिब ६० जना थिए । आयोजकले उपस्थिति पुस्तिका ल्याए । मैले पुस्तिका दिदैं गर्दा ती अधिकृतले मेरो हात छोए । र, रोमाञ्चित हुँदै भने, ‘म्याडमको हात कति मुलायम ! मान्छे राम्री, अनुहार राम्रो, ज्यानै राम्रो । कस्तो म्याचिङ !’ यसो भन्दै गर्दा आफ्ना नशालु आँखा मेरो अनुहार हुँदै शरीरभरि दौडाए । लैंगिक हिंसाविरुद्धको कार्यक्रममै ममाथि हिंसा भयो । जुरुक्क उठेर एक चड्कन लगाउन मन लाग्यो । तर, सम्हालिएँ । ‘सर यो त लैंगिक हिंसा हो नि,’ यत्ति भनें, ‘यसरी कसैलाई नजिस्क्याउनु यौन दुर्व्यवहारको आरोपमा प्रहरी खोरमा जाकिनुपर्ला !’

उनी ङिच्च दाँत देखाएर अगाडि फर्के । जब मेरो कार्यपत्र सुरु भयो, मैले नामै नलिई ‘यसरी पनि हिंसा हुन्छ’ उनको हर्कत सुनाएँ । यस्तोमा के गर्ने भनेर सहभागीलाई सोधें । हलबाट ‘प्रहरी खोरमा जाक्ने’ भन्ने जवाफ आयो । पुलुक्क उनको मुखमा हेरें । उनी उधोमुन्टो लगाएर बसिरहेका थिए ।

अन्त्यमा, केही प्रश्न केटालाई । तिमीले गर्ने व्यवहार तिम्रा आमा, पत्नी र दिदीबैनीमाथि भए तिमी के ठान्छौ ? तिम्रा पत्नी, जसले तिम्रैलागि जीवन अर्पेका छन्, तिनले तिमीले जस्तो व्यवहार अर्को केटासित गरे तिमीलाई कस्तो महसुस हुन्छ ? तिमी सहन्छौ ? अहँ सहन्नौं । आफूले नसहने व्यवहार अरूलाई किन गर्ने ? पतिपत्नीबीच सीमित हुनुपर्ने यौन उत्तेजना अरूलाई किन देखाउने ? हरेक सम्बन्धलाई यौनसित किन जोड्ने ? केटाको यो उसको कमजोरी हो । साहस होइन, दुस्साहस हो । रोमान्स होइन हिंसा हो । महिलामाथि हुने हिंसा महिलाको मात्रै समस्या होइन । समाजकै समस्या हो । तसर्थ हिंसाविरुद्ध पुरुष पनि प्रतिबद्ध हुनुपर्छ । हरेक पुरुषले महिलाप्रतिको उच्छृंखलता र आवेग रोक्नुपर्छ। – इकान्तिपुरबाट । 

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।