जसले १६ वर्षमै अन्तरजातिय बिवाह गरिन् उनै पतिबाटै मरणासन्न हुने गरि कुटिइन्

0
242

पाल्पा । आफ्नै पतिबाट मरणासन्न हुने गरि कुटिएकी रामपुर नगरपालिका ४ गिजिनडाँडाकी १९ वर्षीया पुजा सोमै (परियार)को उपचारमा आर्थिक अभाव भएको छ ।

३ वर्ष अघि रामपुर नगरपालिका वडा नं. ४ गिजिनडाँडाका २४ वर्षीय भोमबहादुर सोमैसित अन्र्तजातिय बिवाह गरेकी निस्दी ५ पाक्दीकी १९ वर्षीया पुजा सोमै (परियार) लाई आफ्नै गत असोज ८ गते राति आफ्नै पतिले मरणासन्न हुने गरि कुटेका थिए ।

बिहे गर्दाको समयमा भोम बहादुरको उमेर २१ र पुजाको उमेर १५ वर्षको थियो । उनीहरुको आपसमा माया प्रेम बसेपछि प्रेम बिवाह भएको थियो । पुजालाई भोम बहादुरले आफ्नो घरमा भित्र्याए तर घरमा राम्रो बातावरण भने भएन । उनले घरमा कहिल्यै पनि बुहारीको बातावरण पाइनन् ।

बिहेपछि बिदेश गएका भोम बहादुर गत भदौ महिनामा नेपाल आएका थिए । घर फर्केपछि भोम बहादुरले हरेक दिन जसो श्रीमति पुजामाथि बिभिन्न शंका उपशंका गर्दै, अर्कै परपुरुषसित हेलमेल गरेको आरोप लगाउँदै कुटपिट गर्न थालेका थिए । असोज ८ गते राति फेरि भोम बहादुरले पुजालाई मरणासन्न हुने गरि कुटे । उनी बेहोस भइन् घर पट्टिका ससुरा राति पुजाको माइतीमा खबर गर्न आए । पानी परिरहेकोले रातभरि खोजी गर्दा पनि एम्बुलेन्स पाइएन । बिहान भएपछि मात्रै पुजालाई ३ घण्टा लगाएर एम्वुलेन्समा लुम्बिनी मेडिकल कलेज प्रभावमा पुर्याएको थियो ।

लुम्बिनी मेडिकल कलेजमा उहाँको उपचार सम्भव नभएपछि उनलाई असोज २९ गते बुटवलको क्रिमसन अस्पतालमा लगियोको थियो । क्रिमसन अस्पतालमा उनको ८४ दिन सम्म उपचार गरिएको थियो । उपचारमा लागेको १ लाख ६२ हजार ४ सय रकममध्ये माइती पक्षले ऋणधन गरि अस्पतालमा ८७ हजार ९ सय ३० भुक्तानी गरेका थिए । अन्य बाँकी रकम बुझाउन नसकेपछि अप्ठेरोमा परेको समाचार बिभिन्न सञ्चार माध्यममा सार्वजनिक भएपछि प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालको पहलमा अस्पतालले अन्य रकम छुट दिएको थियो । पुजालाई पूर्ण रुपमा निको भएको छैन । तर उपचारमा आर्थिक अभाव भएपछि माइती पक्षले अहिले पुजालाई माइतीमा ल्याएर राखेका छन् ।

पतिको कुटाईबाट पुजाको टाउकोको खोपडी नै फुटेको र चिकित्सकले खोपडी फेर्नुपर्ने सल्लाह दिएपनि आर्थिक अभावमा उनको थप उपचार गर्न नसकिएको पुजाका बाबु लाल बहादुरले बताए ।
पुजाका घर पट्टिका पक्षहरु एक दिन अस्पतालमा पुजाको अवस्था बुझ्न आएपनि त्यसपछि फर्केर नआएको उनले बताए । पुजाको उपचारका लागि अब १ लाख ५० हजार लाग्ने अस्पतालले बताएपनि उपचारका लागि आर्थिक समस्या रहेको उनले बताए । छोरीको उपचारका लागि पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका पुर्वखोला गाउँपालिका तथा तानसेन नगरपालिकाको टोलटोलमा चन्दा सहयोग उठाउन हिडे पनि कसैले पनि सहयोग नगरेको उनले गुनासो गरे ।

पुजाको माइती पक्षको निस्दी गाउँपालिकाको पाक्दी डाँडाभेगको बसाई छ । थोरै र साघुरो जग्गामा घर छ । दिनभरि मजदुरी गरे मात्रै साँझ बिहान खान पाइने अवस्था छ । पत्निलाई मरणासन्न हुने गरि कुट्पिट गरेको अरोपमा उनका पति भोग बहादुर जिल्ला अदालत पाल्पाको कार्तिक १९ गतेको आदेश अनुसार आरोपित भोग बहादुर पुर्पक्षका लागि थुनामा रहेका छन् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।