आदिवासी जनजाति समुदायका युवाहरु पत्रकारिता तर्फ आकर्षित

0
183

भुवन सिंजाली । बगनाकाली (पाल्पा)
बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडाकी १९ वर्षीया पेमीसरा आले १ घण्टा गाडीको यात्राबाट बगनासकाली गाउँपालिकाको चिर्तुङधारामा सञ्चालित आधारभुत पत्रकारिता अभिमुखीकरण तालिममा सहभागी हुन आएकी छन् ।

उनलाई भविष्यमा पत्रकार बन्ने रहर छ । समाजमा रहेका रचनात्मक बिषयहरुलाई उनी मिडियासम्म ल्याउन चाहन्छिन् । “समाजमा अहिले पनि समाचार बन्न सक्ने धेरै बिषयहरु छन् जसलाई समाचारका माध्यमबाट बाहिर ल्याउन सक्ने हो भने त्यसले अन्य समुदायमा पनि राम्रो सन्देश पुग्न सक्छ ।” उनले भनिन् ।

आदिवासी जनजाति समन्वय समिति बगनासकाली गाउँपालिकाले बगनाकाली गाउँपालिका कार्यालयको सहयोगमा आदिवासी जनजाति युवाहरुका लागि सञ्चालन गरेको ३ दिन आधारभुत पत्रकारिता अभिमुखीकरण तालिममा पेमीसरा मात्रै हैन गाउँपालिका भित्रका ३० जना युवाहरु सहभागी छन् ।

सोही गाउँपालिकाको वडा नं. ४ खानीछापका १९ वर्षीय गन बहादुर गाहा पनि पत्रकार बन्न चाहन्छन् । मगर समुदायमा रहेका बहुमुल्य बिषयहरुलाई बिश्वभरि नै परिचित गराउन र ग्रामीण समाजका सकारात्मक कुराहरुलाई उठान गर्दै अन्य क्षेत्रमा पनि फैलाउनका लागि उनलाई पत्रकार बन्ने रहर जागेको हो ।

मगर समुदायका सोरठी नाँच, कौरा नाच, झ्याउरे नाच, सालैजो घाटु नाँचलाई प्रवर्धन गर्ने चण्डीपुजा, पुर्वेली, बुढाबराजु पुजा, बायु पुजा लगायका महत्वपूर्ण पुजा संस्कृतिको संरक्षणका लागि टेवा पुर्याउने गरि समाचार सामाग्री संकलन गर्ने र सम्प्रेषण गर्ने गरि आफूलाई पत्रकारितामा उभ्याउन चाहेको गाहाले बताए ।

मगर समुदायको भेषभुषा, रहन सहनलाई समेत जगेर्ना गर्दै यो समुदायका अन्य महत्वपुर्ण परम्परा र संस्कारहरुलाई समेत अगाडि बढाउन पत्रकारिता क्षेत्रबाट भूमिका निर्वाह गर्दै उनको सोँच छ ।
चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा यस पालिका भित्रका आदिवासी जनजाति युवाहरु पछाडि परेकोले उनीहरुलाई पनि यो पेशामा आकर्षित गराउनका लागि यो तालिमको आयोजना गरिएको आदिवासी जनजाति समन्वय समिति बगनासकालीका संयोजक टिकाबहादुर थापाले बताए ।

तालिममा बगनासकाली गाउँपालिका भित्रका ९ वटा वडाका जनजाति समुदायका ३० जना युवाहरुको सहभागिता रहेको छ । उक्त तालिममा पत्रकारहरु देव पचभैया, रेखीराम राना, नारन न्यौपाने, नेत्र गैरे, मुक्ति न्यौपाने, दयाराज न्यौपाने लगायतले सहजीकरण गरेका छन् । माघ ६ गतेबाट संचालित तालिम ८ गतेसम्म चल्ने संयोजक थापाले बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।