बगनासकाली गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न

0
109

पाल्पा । बगनासकाली गाउँपालिकाकोे छैठौं गाउँसभा तथा हिउँदे अधिवेशन सोमबार सम्पन्न भयो ।

सभामा उठेका जिज्ञासाको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जनप्रतिनिधि र सेवाग्राहीबाट प्राप्त सुझावलाई आत्मसाथ गर्दै गाउँपालिकाको कार्यसम्पादनलाई चुस्त, दुरुस्त, सहज र सरल बनाइने बताए । उनले सेवाग्राही र जनप्रतिनिधले राखेको चासोले पृष्ठपोषण गर्ने भएकाले गाउँपालिकामा सम्पन्न गतिविधिलाई पारदर्शिता र प्रभावकारी बनाउन सर्वपक्षीय सहयोग आवश्यक हुने बताए । अध्यक्ष बस्यालले जनप्रतिनिधि र कर्मचारीहरूबीच नङ र मासुको जस्तै सम्बन्ध रहने भन्दै जनप्रतिनिधि र कर्मचारीको संयुक्त पहलबाट मात्र गाउँपालिकाको नीति तथा कार्यक्रमलाई अगाडि बढाउन सकिने बताए ।

सभामा स्वागत मन्तव्य सहित धारणा राख्दै उपप्रमुख सरस्वती चिदीले पाँचौ गाउँसभादेखि हालसम्म गाउँ कार्यपालिकाले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्दै गाउँपालिकालाई समृद्ध बनाउन जनप्रतिनिधिहरू साझा मतका साथ लाग्नुपर्नेमा जोड दिइन । उनले गाउँपालिकामा पूर्वाधार विकाससँगै कृषि, पशु, शिक्षा, महिला, बालबालिका क्षेत्रको उत्थानमा गाउँपालिकाले विशेष पहल गरेको बताइन ।

गाउँसभामा जिज्ञासा राख्दै जनप्रतिनिधिहरूले विकास निर्माणका कार्यक्रमलाई समावेशी बनाउनुपर्ने सुझाव दिएका थिए । सभामा टोपबहादुर न्यौपाने वडा नं. ५ का वडा सदस्य, वडा नं. ६ का वडा सदस्य झपेन्द्र खनाल, वडा नं. ७ का वडा सदस्य रीता भट्टराई, वडा नं. २ का वडा सदस्य तुलसी प्रसाद बस्याल, वडा नं. १ का वडा सदस्य कुलप्रसाद ढुङ्गानाले कृषि र पशुका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, आन्तरिक आम्दानीलाई बढाउनुपर्ने लगायतका सुझाव राख्दै गाउँसभामा राखिएका सुझावलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त गरेको उपलब्धिको बारेमा बताएका थिए । गाउँपालिकाले आ.व. २०७६,७७ को शुरुदेखि नै कार्यालयको लेखा व्यवस्थापन पारदर्शी बनाउन संचीत कोष व्यवस्थापन प्रणाली (सुत्र) लागु गरी लेखा प्रणालीलाई व्यवस्थित गरिएको, बगनासकालीलाई पूर्ण संस्थागत गाउँपालिका घोषणा गरिएको, गाउँपालिकाका सबै विद्यालयलाई बालमैत्री घोषणा गरिएको लगायतका कार्यक्रमबारे श्रेष्ठले जानकारी गराए ।

श्रेष्ठले चालु आ.व.मा चाजम्मा ३३.६ प्रतिशत खर्च भएको जानकारी दिए । सभामा उनले पाँचौ गाउँसभादेखि हालसम्म गाउँ कार्यपालिका बैठकका निर्णयलाई अनुमोदन गराउँदै सभाले गरेका निर्णयलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । उपप्रमुख सरस्वती दर्लामी चिदीको स्वागत र प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम चलेको थियो । गाउँपालिकाको हिँउदै अधिवेशन आजै सकिएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।