तानसेनमा भ्रमण बर्षको शुभारम्भ, हेर्न लायक ठाउँ कुन कुन हुन ?

0
851

नेत्र गैरे । पाल्पा
तानसेन नगरपालिकाले भ्रमण वर्ष २०२० को सुभारम्भ गरेको छ । तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै भ्रमण वर्षको शुभारम्भ गरे । नेपालको राष्ट्रिय गौरवको कार्यक्रम भ्रमण वर्ष सफल बनाउन तानसेन नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गर्ने नगरप्रमुख शाहीले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख अशोक कुमार शाहीले ऐतिहासिक महत्व बोकेको तानसेन र समग्र पाल्पालाई संसार सामु चिनाउन र आन्तरिक र बाह्य पाहुनालाई भित¥याउन भ्रमण बर्षको सुरुवात गरेको बताए । रानीमहलको फोटो नेपालका सबै स्थानमा राख्ने, पोखराको फेवाताल, सुनौली लगायतका ठाउँहरुमा तानसेन झल्कने डिस्प्ले वोर्ड राखिने उनले बताए ।

नगर प्रमुख शाहीले पाल्पामा अवस्थित ऐतिहासिक मठ, मन्दिर, गढी किल्ला, तालहरु आकर्षणका केन्द्रको रुपमा रहेको बताए । तानसेनलाई पश्चिम नेपाल कै एक पुरानो ऐतिहासिक शहरको रुपमा परिचित रहेको पाईन्छ । यस ऐतिहासिक शहरलाई आन्तरिक र बाह्य पर्यटनको आकर्षणको केन्द्र बनाउन बार्षिक कार्यक्रम बनाई नगरपालिकाले विविध कार्यक्रम अगाडि सारेको उनको भनाई थियो । नगरपालिकाको आ.ब. २०७६,०७७ को कार्यक्रममा श्रीनगरमा १०५ फिट उचाईको विग बुद्ध निर्माण, परिलेक बन परिसर निर्माण तथा मर्मत, टक्सारलाई ऐतिहासिक शहरको रुपमा बिकास गर्ने योजना बनाएको नगर प्रमुख शाहीको भनाई छ । भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै नेवारी खाजा महोत्सव, माउण्टेन साईकिलिङ, अन्य पर्यटकिय नगरीसंग मितेरी साईनो कार्यक्रम, पर्वतिय पर्यटन अध्ययन तथा अनुसन्धान, भारतिय पर्यटकलाई लक्षित गरेर बिशेष कार्यक्रम लगायतका २४ वटा कार्यक्रम संचालनमा ल्याईएको टुरिजम एक्सन कमिटि तानसेनले जनाएको छ ।

प्राकृतिक सुन्दरताले भरिपुर्ण पाल्पा धार्मिक, सांस्कृतिक, ऐतिहासिक तवरबाट नै सुन्दर र मनमोहक छ, तथापी यस जिल्लामा रहेका पर्यटन आर्कषणका केन्द्रका रुपमा परिचित प्रेमको प्रतिक रानीमहल, ऐतिहासिक अमर नारायण मन्दिर, रणउजीरेश्वरी भगवती मन्दिर, भैरवस्थान, बोटानिकल गार्डेनको रुपमा जलेश्वर क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा रहेका छन् ।

यस्तै रम्भादेवी मन्दिर, दर्लममहाकाली, उत्तरबाहिनी काली, शिवासन धाम, रामनदी धाम र सुनगुफा, ऐतिहासिक मुलढोका र खड्ग स्तम्भ, पाल्पा दरबार यहाँको अर्को महत्वपुर्ण पर्यटकीय गन्तव्य हो । परम्परागत कला र कौशल प्रयोग गरी निर्माण गरिएको मूल ढोकाप्रति तानसेन घुम्न आउने पर्यटक आकर्षित हुने गरेका छन् । पाल्पाली करुवा, पाल्पाली ढाका ,पश्चिम पाल्पाको बल्ढेङगढी ,पाल्पाकै अग्लो लेक कौडे लेक ,सत्यवती ताल, जन्तीलुङ डाँडा पाल्पाका पर्यटकिय गहना हुन ।

पछिल्लो समय पर्यटकहरुका लागि प्रेमसग जोडेर भारतको आग्राको ताजमहलसग तुलना गरी “नेपालको ताजमहल” समेत भनेर चिनिने यो दरवार पाल्पाकै आर्कषणको केन्द्र बन्न पुगेको छ । यहाँका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको विषयले आन्तरिक तथा बाह्य पर्यटकको मन जितेको छ । भ्रमण वर्षको अवसरमा तानसेन नगरपालिका परिसर हुदै बसपार्क सम्म सरसफाई कार्यक्रमको पनि आयोजना गरिएको थियो । त्यसैगरी बसपार्कमा तानसेन झल्कने स्वागतम् डिस्प्ले वोर्डको पनि उद्घघाटन गरिएको छ । कार्यक्रमका तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी पाठक, वडा अध्यक्षहरु, कर्मचारीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।