महेन्द्र आधारभूत विद्यालयको बार्षिकोत्सव सम्पन्न

0
241

एवत सारु । (रम्भा) पाल्पा
महेन्द्र आधारभूत विद्यालय रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोट, पाल्पाको ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सासंद नारायणप्रसाद आचार्यले शैक्षिक विकासले व्यक्ति, परिवार र सिङ्गो राष्ट्रको विकासमा टेवा पु¥याउने भएकोले सबैको सहभागीता र क्रियाशिलतामा शैक्षिक सुधारमा प्रयत्नशील हुनुपर्ने बताए । शिक्षा विकास तथा समन्वय ईकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले शैक्षिक व्यवस्थापनमा नीतिगत व्यवस्थाले धेरै प्रभाव पार्ने भएकोले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । समारोहमा प्रधानाध्यापक नारायण मश्राङ्गगीले शैक्षिक, भौतिक तथा आर्थिक प्रगतिप्रतिवेदन प्रस्तुत गर्दै ७९ लाख ६६ हजार ३०७ रुपिया बराबरको आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

समारोहमा नवनिर्मित भूकम्प प्रतिरोधात्मक ४ कोठे भवनको प्रमुख अतिथि नारायणप्रसाद आचार्य, विशिष्ट अतिथि रमेशराज पौडेल, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले संयुक्त रुपमा उद्घाटन गरे । २०७२ सालको भूकम्पले विद्यालय क्षतविक्षत भएपछि विद्यालयलाई अन्यत्र सार्न परेको थियो । कार्यक्रममा विद्यालय भवन निर्माण गर्न निशुल्क जग्गा प्रदान गर्ने पदमबहादुर सिंजाली तथा विद्यालयको विकासमा योगदान पु¥याउने विभिन्न व्यक्ति, संघसंस्थालाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

यसै गरि रम्भा गाउँपालिकाले संचालन गरेको बालमैत्री विद्यालय अभियानका सबै सूचक पुरा भएकोले विद्यालयलाई बालमैत्री विद्यालय समेत घोषणा र्गिरएको छ । प्रमुख अतिथि नारायणप्रसाद आचार्यले बालमैत्री विद्यालयका निम्ती तयार पारिएको आचार संहिता पढेर सुनाउनु भएको थियो । रम्भा गाउँपालिकाले निर्धारण गरेको सूचकमा आधारित भएर बालमैत्री विद्यालय घोषणा गरिएको हो ।

वि.सं. २०१७ सालमा स्थापना भएको महेन्द्र आधारभूत विद्यालयमा हाल ९४ जना विद्यार्थी तथा ७ जना शिक्षक अध्ययन अध्यापन कार्यमा संलग्न रहेका छन् । कार्यक्रममा विद्यार्थीले रमाईलो साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, २ नम्बर वडाका अध्यक्ष उमानसिं सारु लगायतले शैक्षिक विकासमा स्थानीय सरकारको सहयोग रहने र यसको लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताए । यसै गरि महेन्द्र थापा, भूतपूर्व शिक्षक छवीरमण आचार्य, जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक खुमबहादुर पौडेल, शान्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक मोहनलाल पौडेल, पशुपति प्राथमिक विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद गैरे, वडा सदस्य दुर्गाबहादुर थापा, अभिभावक अम्बीसरा सिंजाली लगायतले विद्यालयको प्रगतीको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए । समारोहमा सहायक प्रधानाध्यापक विमला देवी सिंजालीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम शिक्षक कलीसरा रानाको संचालन तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर सिंजालीको अध्यक्षतामा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।