लालीगुँरास दुग्ध सहकारी हुमिनको साधारणसभा सम्पन्न

0
246

खुम बहादुर पौडेल । ( हुमिन ) पाल्पा
रम्भा गाउँपालिका वडा नं. ४ हुमिन बगचौरका दुग्ध उत्पादक कृषकहरुको भेला तथा लालीगुराँस दुध संकलन केन्द्रको प्रथम बार्षिक साधारण सभा तिलाहारमा सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष यमकला खनालले संस्थाको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै १ बर्षमा १९३८७ लीटर दुध संकलन तथा विक्री गरिएको जानकारी गराइन् । केन्द्रका व्यवस्थापक कृष्ण सिंजालीले १६ लाख ११ हजार ३९५ रुपैँया बराबरको आम्दानी खर्चको विवरण प्रस्तुत गरे ।

लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा स्थापना भएको केन्द्रले हाल दैनिक १०५ लीटर दुध संकलन र विक्री गर्दै आएको छ । १९ जना कृषकहरुबाट उत्पादन भएको दुध हुमिन, ताहुँ, चिदीपानी, खहरे, सराइ बजारमा विक्री गरिन्छ । कार्यक्रममा १ बर्षमा सबै भन्दा बढी ५ हजार २१८ लीटर दुध उत्पादन गर्ने कृषक शर्मिला आचार्य र व्यवस्थापक कृष्ण सिंजालीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी रम्भा गाउँपालिका वडा न.ं ४ का वडा अध्यक्ष भोज बहादुर वि.क ले दुध उत्पादनमा संलग्न किसानहरुको प्रशंसा गर्दै आवश्यक अनुदानको व्यवस्था मिलाउन पहल गर्ने बताए । दुधमा आत्मनिर्भर गाउँपालिका बनाउने अभियान अन्तर्गत रम्भा गाउँपालिकाबाट दुध संकलन केन्द्रको लागि डि फ्रिज उपलब्ध गराइएको र व्यवसायीक भैसी पालक कृषकलाई अनुदानको व्यवस्था गरिने वडा अध्यक्ष भोज बहादुर वि.क ले जानकारी गराए ।

कार्यक्रममा लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चेत नारायण श्रेष्ठ, उपाध्यक्ष केशव प्रसाद श्रेष्ठ, कोषाध्यक्ष खुम बबहादुर पौडेल, कार्यकारी प्रमुख विष्णु बहादुर बोमरेल, अमर आधारभुत विद्यालय बगचौरका प्रधानाध्यापक राम प्रसाद खनाल लगायतले शुभकामना दिएका थिए ।
संस्थाका सचिव मिलन काफ्लेको संचालन, गीता पराजुलीको स्वागत र दुध संकलन केन्द्रका अध्यक्ष यमकला खनालको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।