पाल्पाको जनसंख्या १६ हजार घट्यो, ३० हजार बढी विदेशमा

0
531

पाल्पा । पाल्पाको जनसंख्या घट्दो गतिमा रहेको छ । राष्ट्रिय जनगणना २०७८ को पाल्पा जिल्ला स्तरीय नतिजा अनुसार जिल्लाको जनसंख्या २ लाख ४५ हजार २७ रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार २ लाख ६१ हजार १८० जनसंख्या थियो । यो १० वर्षको अवधिमा पाल्पाको जनसंख्या १६ हजार १ सय ५३ जनसंख्या घटेको हो ।

पाल्पामा महिलाको जनसंख्या बढी रहेको छ । पाल्पामा १ लाख ३२ हजार २६६ महिला र १ लाख १२ हजार ७७६ पुरुषको संख्या रहेको तथ्यांक कार्यालय पाल्पाका निमित्त प्रमुख लेखनाथ पाण्डेले बताउनुभयो । १० वर्षको अन्तरालमा महिलाको संख्या बढी घटेको छ । राष्ट्रिय जनगणना २०६८ र २०७८ मा तुलना गर्दा १३ हजार ७४ महिलाको संख्या घटेको उहाँले बताउनुभयो । ३ हजार ६४ पुरुषको संख्या घटेको छ ।

पाल्पामा जनसंख्या घट्दै गएपनि परिवार संख्या भने बढेको छ । राष्ट्रिय जनगणना २०७८ मा ६५ हजार ४९ परिवार संख्या रहेको छ । २०६८ मा ५९ हजार २९१ परिवार संख्या रहेको थियो । ५ हजार ७५८ घर परिवार संख्या वृद्धि भएको पाण्डेले बताउनुभयो । यहाँको जनघनत्व १७८ रहेको छ । पाल्पाको साक्षरता दर ८३.६७ प्रतिशत रहेको छ । अक्सर विदेशमा बस्ने जनसंख्या ३० हजार ६९८ रहेको छ । २७ हजार ७८६ पुरुष र २ हजार ९१२ महिला विदेशमा बस्ने गरेका छन् । राष्ट्रिय जनगणना २०६८ को भन्दा अहिलेको जनगणनाअनुसार अक्सर विदेशमा बस्नेको जनसंख्या कम देखिन्छ । २०६८ मा ३९ हजार ५०४ जनसंख्या अक्सर विदेशमा बस्ने तथ्यांकमा उल्लेख थियो । यसरी हेर्दा ८ हजार ८०६ जनसंख्या घटेको निमित्त प्रमुख पाण्डेले बताउनुभयो । पाल्पामा अपांगता भएको जनसंख्या ७ हजार ७१९ रहेको छ ।

स्थानीय तहअनुसारको तुलना गर्दा सबैभन्दा बढी जनसंख्या तानसेन नगरपालिकाको रहेको छ । ५० हजार ७ सय ९२ जनसंख्या तानसेनमा रहेको छ । सबैभन्दा कम रिब्दीकोट गाउँपालिकामा १५ हजार ४७३ जनसंख्या रहेको छ ।
रामपुर नगरपालिकामा ४० हजार ८ सय ८३, रैनादेवी छहरा गाउँपालिकामा २३ हजार १४९, बगनासकाली गाउँपालिकामा १८ हजार ५ सय ९७, माथागढी गाउँपालिका २४ हजार ४३, निस्दी गाउँपालिका १८ हजार १२०, पूर्वखोला गाउँपालिका १६ हजार ५२, रम्भा गाउँपालिका १७ हजार १५५, तिनाउ गाउँपालिकामा १७ हजार ७७७ जनसंख्या रहेको तथ्यांकमा उल्लेख रहेको पाण्डेले बताउनुभयो । पाल्पामा संस्थागत जनसंख्या ३ हजार ७६ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here