तानसेनमा भएको १६ स्थानीय तहको सम्मेलनले के के निर्णय गर्यो ?

0
801

पाल्पा । १० बुँदे तानसेन घोषणापत्र सहित सिद्धार्थ लोकमार्ग सेरोफेरोका स्थानीय तहहरुको सिद्धार्थ आर्थिक करिडोर सम्मेलन तानसेनमा सम्पन्न भएको छ ।

तानसेन नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा करिडोर अन्र्तगतका १६ स्थानीय सरकारहरु, यस क्षेत्रका नागरिकको समुन्नती तथा यसक्षेत्रको समग्र विकासका लागि आर्थिक विकासलाई प्रमुख मुद्दा बनाएर एकआपसमा समन्वय गरी सहकार्यका लागि नयाँ सोच, शैली र दायरामा अगाडि बढ्ने कुरामा सम्मेलनबाट सबैको सहमति जुटेको छ । यो संयुक्त प्रयासले ल्याउने परिवर्तन हाम्रो आर्थिक तथा सामाजिक परिवेश अनुसार दीगो र जिम्मेवार समेत हुने कुरामा सबैको बिश्वास रहेको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।


सम्मेलनले करिडोरमा रहेका स्थानीय सरकारहरुले साँचो समन्वय र सहकार्यमा प्रतिफलको बाडफाँड पारदर्शीरुपमा स्थानीय नागरिकसम्म पु¥याउने प्रतिवद्धता जाहेर गर्दै नेपालको संविधानले परिकल्पना गरेको संघीय स्वरुप र विकासको मर्मलाई आत्मसात गर्दै सिद्धार्थ आर्थिक करिडोरको विकासका लागि १० बुँदे घोषणापत्र समेत जारी गरेको छ ।


घोषणापत्रमा सिद्धार्थ लोकमार्ग स्तरोन्नतिको (राम्दीको पुल नयाँ निमार्ण वा पुनर्निर्माण साथै सडक फराकिलो बनाउने) कार्य तत्काल अगाडि बढाउन माग गर्दै उक्त कार्यबाट यसक्षेत्रमा पर्ने सकारात्मक प्रभाव अभिबृद्धिमा जोडदिदै नकारात्मक असर न्यूनीकरण र प्रभावितहरुका लागि वैकल्पिक अवसर सिर्जना तथा व्यवस्थापनमा एकतावद्ध भएर लाग्ने, सिद्धार्थ लोकमार्गसँग जोडिएका र सेरोफेरोका पालिकाहरुको आर्थिक विकास मार्फत् समृद्धिका लागि अवसरहरु पहिचान गरी द्विपक्षीय तथा वहुपक्षीय सम्वादको माध्यमबाट निष्कर्षमा पुग्ने र साझा सवालमा समन्वय र सहकार्यलाई जोड दिने, त्यस्तै उक्त घोषणापत्र मार्फत स्थानीय अवसरहरुको पहिचान,उपयोग र त्यसको व्यवसायीकरण तथा दीगोपनाको लागि समन्वय समितिको निर्माण, विज्ञ समूह तथा सचिवालयको गठन गरी सञ्जालका निर्णय कार्यान्वयनमा लैजाने प्रतिवद्धता ब्यक्त गरिएको छ ।


उक्त घोषणापत्रमा विकास साझेदारहरुसँग स्थानीय, प्रदेश र संघीय सरकारको विकास अवधारणाको मर्म आत्मसात गर्दै यस क्षेत्रको विकासका लागि सार्वजनिक निजी साझेदारी तथा वहुआयामिक ढंगले समन्वय र सहकार्यमा जोड दिने, स्थानीय सरकारको सबलीकरण, शक्ति सन्तुलन तथा समुन्नतिका लागि प्रदेश र संघीय सरकारसँग समन्वय, पैरवी गर्न एकतावद्ध भएर अगाडि बढ्ने, यस क्षेत्रको विकासका लागि अन्र्तपालिकास्तरमा कृषि, पशु, पर्यटन एवम् स्थानीय साधन, स्रोत र कच्चापदार्थमा आधारित तथा घरेलु उद्योगहरुको सम्भाव्यता खोजी र उद्योग सञ्चालन, विकास योजनाहरुको छनौट, परियोजनाको बिस्तृत योजना तयार लगायतका साझा हितका सवालमा राष्ट्रिय योजना आयोग, प्रदेश योजना आयोग लगायत सरोकारवाला निकाय, पक्षसँग समन्वय, सहकार्य गरी यसक्षेत्रको समग्र पूर्वाधार विकासको योजनामा एकरुपता ल्याउने कुरामा जोड दिइने उक्त घोषणापत्रमा उल्लेख छ ।


त्यस्तै यस क्षेत्रको सन्तुलित तथा दीगो विकासका लागि तथा युवा स्वरोजगार सिर्जनाका लागि निजी क्षेत्रलाई विकासका सवालमा साझेदार बनाउन आवश्यक नीति निर्माण गरिने, दिगो विकास लक्ष प्राप्तिको लागि समावेशी तथा दीगो आर्थिक विकासलाई सहयोग पुग्ने गरी रोजगारीको सिर्जना साथै युवाहरुलाई उत्पादनशील रोजगारी तथा सम्मानका काम गर्ने अवसरहरुको सिर्जना गर्न प्रतिवद्ध रहने समेत उक्त घोषणापत्रमा उल्लेख छ ।


त्यस्तै घोषणापत्रमा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका क्षेत्रमा सीमा अतिक्रमण भएकोमा सम्मेलनको ध्यानाकर्षण भएको उल्लेख छ । तत्काल अतिक्रमित नेपाली भूमि फिर्ता गराउन सम्बन्धित निकायसँग जोडदार माग समेत गरिएको छ । सिद्धार्थ करिडोर अर्थात सिद्धार्थ लोकमार्ग सेरोफेरोका स्थानीय तहहरुको साझा बैठक आयोजना र सञ्जाल निर्माणका लागि कार्यक्रम आयोजना गर्ने तानसेन नगरपालिका तथा प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्ने विभिन्न संघसंस्था लगायत नगरबासी सबैलाई सञ्जालले धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रम अन्र्तगत पहिलो दिन आइतवार १६ वटा स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत सहित बिशिष्ट अतिथिहरुले टक्सार, भगवतीटोल, शित्तलपाटी, नारायणस्थान, टुँडिखेल लगायतका स्थानमा स्थानीय समुदाय तथा उद्यमीहरुसित भेटघाट सहित अन्र्तक्रिया गरेका थिए । साँझ सास्कृतिक प्रस्तुती समेत राखिएको थियो ।


कार्यक्रममा तानसेन नगरपालिकाको तर्फबाट नगरप्रमुख अशोककुमार शाहीले अवधारणा पत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका येजना आयोगका उपाध्यक्ष डा. गिरधारी शर्मा पौडेलले सिद्धार्थ आर्थिक करिडोर बिकासका लागि सहकार्य बिषयमा कार्यपत्र प्रस्तुत गरे ।
प्रदेश नं. ५ का योजना आयोगका उपाध्यक्ष प्रा. डा. इश्वर गौतमले आवधिक योजनामा सिद्धार्थ राजमार्ग आसपासका योजनाहरु, योजना पूर्व उपाध्यक्ष डा. शंकर शर्माले सिद्धार्थ आर्थिक करिडोरको महत्व, सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख केदारप्रसाद नेपालले सिद्धार्थ राजमार्गको हालको अवस्था र भावी योजना बारे बिस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए । सञ्जालको आगामी बैठक वालिङ नगरपालिकामा बस्ने सम्मेलनले निर्णय गरेको छ ।


सम्मेलनले आर्थिक करिडोरका लागि सञ्जाल गठन गर्ने, हरेक ३ महिनामा सञ्जालको बैठक बस्ने, हालको जिम्मेवारी तानसेन नगरपालिकाले लिने, दुबै प्रदेशका संघीय सांसद, प्रदेश सांसदहरुको सल्लाहकार समिति गठन गर्ने, बिज्ञ समिति गठन गर्ने, तानसेन घोषणापत्र २०७६ घोषणा गर्ने निर्णय गरेको छ ।


कार्यक्रममा करिडोरभित्रका स्थानीय तहहरुको तुलनात्मक बिश्लेषण तानसेनका नगरपालिकाका योजना अधिकृत बिष्णु पौडेल र करिडोर भित्रका स्थानीय तहहरुको मुद्धद्धाका पहिचान र चुनौती एवम् आगामी योजनाबारे अर्थबिद् प्रा. किशोर महर्जनले सहजीकरण गरेका थिए । तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीको अध्यक्षता, उपप्रमुख लक्ष्मी पाठकको स्वागत र मधुसुधन घर्तीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।