घुमघाम गर्न पाल्पा आउँदै हुनुहुन्छ ?

0
380

–के.वि.मसाल
पाल्पा जिल्लाका प्राकृतिक, ऐतिहासिक र धार्मीक मठ मन्दिरहरु अहिले पर्यटकिय स्थलको रुपमा विकास हुन थालेका छन । तानसेनको श्रीनगर कालीगण्डकीको किनारमा रहेको रानीमहल पाल्पामा पुग्ने आन्तरिक एव. वाह्य पर्यटकहरु धेरै पुग्ने गर्दछन् । पाल्पामा ऐतिहासिकस्थल, मगर सस्कृति र प्रकृतिक महत्वका सम्पदाहरु अध्यन गर्ने धेरै स्थल छन् । श्रीनगरबाट देखिने हिमाल, पहाड र माडीफाट सबै ठाउँका आ–आफ्नै विशेषता छन् । प्राकृतिक, सांस्कृतिक र जैविक विविधताका हिसाबले पाल्पा रमणिय छ ।


पाल्पा पुगेपछि सबै भन्दा पहिले पाल्पा दरवार अवलोकन गर्ने सबैको इच्छा हुन्छ । पाल्पा दरबारमा अहिले संग्राहलय छ । यो दरवार तत्कालित पश्चिम कमाण्डर जनरल प्रतापशमशेरले वि.सं.१९६९ मा निर्माण गरेका हुन । बेलायती शैलीमा निर्माण भएको यो दरवार प्रशासकीय कार्य सन्चालन गर्न र निजि प्रयोजनका लागि निर्माण भएको थियो । यो दरबार ७–१४–२–१ रोपनी क्षेत्रफलमा फैलिएको छ । दरबारमा ४ तला, ६३ कोठा, २ बैठक कोठा र २ बुर्जा समेत रहेको छ । पहिले दरबारमा सरकारी कार्यालय संचालनमा रहेको थियो । माओवादी जनयुद्धमा ध्वस्त भएको पाल्पा दरवार पुन निर्माण भएपछि संग्राहलय संचालनमा छ ।
पाल्पा दरवार पसिरमा जोडिएको भगवती मन्दिर उजीरसिंह थापाले निर्माण गरेका हुन् । उजीरसिहं थापाले तत्कालीन पाल्पाको जीतगढीमा अडग्रेजहरुलाई परास्त गर्न सफल भएपछि यो मन्दिर निर्माण गरेका हुन् । भगवती मन्दिरमा विजय उत्सवकै प्रतीक स्वरुप प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन विशाल रथयात्रा उत्सव मनाइन्छ । ब्रिटिश इण्डिया कम्पनीलाई पराजित गरेमा मन्दिर बनाउने भाकल उजीरसिहं थापाले गरेका थिए । खडक शमसेरद्धारा हावाखान र सैनिकहरुको जमघट गराउन वि.स. १९५० मा निर्माण गरिएको शितलपाटी र एशियाकै ठूलो मानिने काठबाट निर्मीत शितलपाटीको मुलढोका पर्यटकहरुका लागि अध्ययन अनुसन्धान र अवलोकनका स्थलहरु बन्दछन् ।

तानसेनको अमरनारायण मन्दिर वि.सं.१८६३ मा अमरसिंह थापाले निर्मांण गरेका हुन । अमरनारायण मन्दिर अत्यन्त कलात्मक छ । श्रीनगर पाल्पा पुग्ने पर्यटकहरुको लागि आकर्षणको गन्तब्य हो । श्रीनगर प्रकृति प्रेमीका लागि रोजाइको स्थलमा पर्दछ । करिव १ हजार पाचँसय रोपनी क्षेत्रफलमा फैलिएको श्रीनगर शान्त वातावरण श्रीनगरमा बुद्धको मूर्ति र भ्युटावर समेत छ । श्रीनगरको जगलमा चितुवा, खरायो, दुम्सी आदि जनावरहरु र कालिज, तित्रा, कोइली प्रजातिका पन्छीहरु रहेका छन् । वन विहार र वनभोजका लागि प्रख्यात श्रीनगरबाट माछापुच्छ्रे, हिमालचुली, अन्नपूर्ण, काञ्जीरोवा, मनास्लु, गणेश हिमाल आदिको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । श्रीनगरबाट पाल्पाको माडी उपत्यका र सफा मौसममा पाल्पाका धेरै डाडाकाडा र गाउँघर अवलोकन गर्न सकिन्छ ।

इतिहासको कालखण्डमा प्रधानमन्त्रीको रोलक्रमबाट खेदिएका राणाहरुले पाल्पामा गरेका विकास निर्माण अहिले पाल्पाको पहिचान मात्र नभएर आन्तरिक एवं वाह्य पर्यटकहरुको गन्तब्य बनेको छ । चाहे नेपालको ताजमहल भनेर चिनेपनि, रानीमहल भनेपनि, सच्चा प्रेमको प्रतिक ठानेपनि राणाहरुले पाल्पा गौडाको लागि तैनाथ गरि पठाएका सेनापती खडक शमसेरले आफ्नो दिवंगत भएकी रानी तेजकुमारीको संझनामा निर्माण गरिएको दरवार हो, कालीगण्डकी किनारमा रहेको रानीमहल । वि.स. १९५० सालमा शिलन्यास भएर १९५४ साल निर्माण सम्पन्न भएको रानीदरवार नागवेलीको स्वरुप बग्दै आएको कालीनदी उत्तर फर्किएको मोडमा चट्टान माथी बनाइएको छ । पश्चिमीकला र कौशलको उत्कृष्ट नमूनाबाट तयार पारिएको रानीमहलमा खडक शमसेरले महत्वपूर्ण साजसज्जा र फर्निचरबाट कोठा सजाएका थिए ।

रानीमहल तयार भएपछि कहिले कहि रानीको संझनामा खडक शमसेर भावविह्वल हुदै रानीदरवारमा रात विताउने गर्दथिए । समय वित्दै जादा वि.स. १९६० सालमा खड्क शमसेरलाई पदको मोह बढन थाल्यो । श्री ३ को पद र काठमाण्डौ उपत्यका कव्जा गर्ने षढयन्त्र उनले गर्न थाले । जुन षढयन्त्र त्यतिवेलाका प्रधानमन्त्री श्री ३ चन्द्र शमसेरले थाहा पाए । चन्द्र शमसेरले खडक शमसेरलाई अपदस्त गरि तैनाथी आफ्नो हातमा लिन सेनाहरुलाई पाल्पामा पठाए । त्यो कुरा खडक शमसेरले थाहा पाएपछि सरकारी ढुकुटीको रकम लिएर भारत पलाएन भएका थिए । पाल्पा र स्याङजा जिल्लाको सिमामा रहेको कालीगण्डकी किनारको रानीमहल अहिले पाल्पा घुमघाममा जाने पर्यटकहरु धेरै जना पुग्ने गर्दछन् । तानसेनबाट १३ किलोमिटर दूरीमा रहेको रानीमहल नेपालमा ताजमहलका रुपमा चिनिन्छ । तानसेनबाट भुसलडाडा, बराङदी हुदै पैदल ३ घण्टा र मोटरवाट १ घण्टामा पुग्न सकिने रानीदरवार प्रेम दिवसको अवसरमा नेपालका धेरै जिल्लाका युवा युवतीहरु आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पु¥याउन सकियोस भन्ने उद्देश्यले रानीदरवारलाई साक्षी राख्न पुग्ने गर्दछन । रानीदरवारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहन्छ भन्ने विस्वासले प्रेममा भुलेका जोडीहरुले भित्तामा नाम लेख्ने गर्दछन ।
पाल्पा पुगेपछि भैरवस्थान पुगेन भने घुमघामनै अधुरो हुन्छ । भैरवस्थान मन्दिर तानसेन देखि ९ किलोमिटर पश्चिम रिब्दीकोट गाउँपालिकामा पर्दछ । पहाडको टुप्पोमा ठूलो त्रिशुल रहेको यो मन्दिरमा प्रायः सधैभरि तीर्थाटनका पर्यटकहरु पुग्ने गरेता पनि विशेषगरी मंगलबार र शनिबारका दिन धेरै तीर्थाटनका लागि पर्यटक पुग्दछन् । विभिन्न चाडपर्वहरुमा बोका, हाँस, कुखुरा र पाडाहरुको बली कालभैरवलाई दिने प्रचलन छ । भैरवस्थानबाट अधिकांश हिमशिखरहरुको दृश्यावलोकन गर्न सकिन्छ । भैरवस्थान पुगेपछि आफ्नो घुमघामको समय लम्वाउन सके पश्चिम पाल्पाको प्राकृतिक दृष्यलाई अवलोकन गर्दै रैनादेवी पुग्न सकिन्छ । तानसेन देखि ३८ कि.मी.को दुरीमा रहेको रैनादेवीको मन्दिर प्राचिन, धार्मीक, ऐतिहासिक, पर्यटकिय एवं पुरातात्विक महत्वका हिसावले महत्वपुर्ण मानिन्छ । पाल्पा र गुल्मीको संगमस्थलमा रहेको रैनादेवी महाभारत पर्वतमा पर्दछ । पाल्पा जिल्ला कला र लोक सस्कृतिमा निकै धनी मानिन्छ । रैनादेवीमा दसैको महाअष्ठमीको दिन मध्यरातमा गरिने कालीकाको पुजा, सोरठी नाच, सराँय, मालश्री, बालुन र ख्याली नाच रैनादेवी पुग्ने पर्यटकहरुले अवलोकन गर्न सक्दछन् ।


ऋषिकेश मन्दिर तानसेनदेखि ३० कि.मि.पश्चिम रिडीमा पर्दछ । मणिमुकुन्द सेनले स्थापना गरेको यो मन्दिरमा कलात्मक ढङ्गले कुंदिएका विभिन्न मूर्तिहरु छन् । यस तीर्थाटन क्षेत्रलाई रुरु क्षेत्र पनि भनिन्छ । गुल्मी, स्याङजा र पाल्पाको संगमस्थल रिडी अर्थात रुरुक्षेत्र हिन्दुहरुको प्रशिद्ध धार्मीकस्थल हो । काली गण्डकीको किनारमा रहेको रिडीमा रुरु कन्याले तपस्या गरेको स्थल मानिन्छ । प्रत्येक माघे सक्रातीको दिन रिडीमा ठूलो मेला समेत लाग्ने गर्दछ । पवित्र कालीनदीको स्नान गर्न त्यसदिन नेपालका मात्र होइन भारतीय तिर्थयात्री समेतको भिड रिडीमा हुने गर्दछ ।
पूर्वी पाल्पाको ताहूमा रहेको रम्भादेवीको ऐतिहासिक महत्वले पनि पाल्पा घुमघाममा पुग्नेहरुको लागि अध्ययन अवलोकन गर्न रमणिय गन्तब्य बन्दछ । रम्भा गाउँपालिकाको ताहुमा रहेको रम्भादेवीको मन्दिर आजभोली ग्रामीण पर्यटकहरु पुग्ने गर्दछन् । मगरजातीहरुको वाहुल्यता रहेको पुर्वी पाल्पामा रम्भादेवीको महत्व र धार्मीक विस्वासमा सवै जाती जनजातीहरुको आस्थाको केन्द्र बनेको छ । वाह्य पर्यटकहरु कमै पुग्ने भएपनि पुर्वी पाल्पाका गाडाकोट, झिरुवास, मित्याल, सहलकोट, अर्चले खालीवन, गल्धा, दर्छा र रामपुर मात्र होइन त्यस क्षेत्रका मानिसहरुले रम्भादेवीलाई आफ्नो कुलदेवीको प्रतिकको रुपमा समेत पुज्ने गर्दछन । सरकारले घोषणा गरेको नयाँ एक सय पर्यटकीय गन्तव्यहरु भित्र रम्भादेवी पनि पर्दछ । रम्भादेवीको वन जंगल प्राकृतिक रुपले रमणीय छ । रम्भादेवी पुगेपछि रामपुरको तालपोखरा पुग्न सके राम्रो हुन्छ । तालपोखरा रामपुर नगरपालिकाभित्रको महत्वपूर्ण पर्यटकीय स्थल हो । तालपोखरा को तालमा पर्यटकले डुंगामा शयर गरेर आनन्द लिन सक्छन् । तालपोखराको ताल मानव निर्मित ताल हो । लगभव २० रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । तालको बीच भागमा मन्दिर निर्माण गरिएको छ ।
पाल्पा चुरे र महाभारत श्रृखलाले घेरिएको जिल्ला हो । माथागढी–३, कसेनीको कौडेलेक पाल्पाको सबैभन्दा उच्च स्थानमा रहेको लेक हो । यो श्रृखलाबाट पाल्पाको माडीफाँट, तानसेन, उत्तरतर्फका हिमश्रृंखलाहरु देखिन्छ । मौसम सफा भएको बेला यहाँबाट ५ नं. प्रदेशको राजधानी बुटवल, भैरहवा, परासी लगायतका भूगोल समेत देखिन्छ । प्रकृतिसँग रमाउन रुचाउने ग्रामीण पर्यटकहरुका लागि कौडेलेक आकर्षक बन्न सक्दछ । कौडेलेकको तल्लो भागमा मगर समुदायको मात्र बस्ती ओलेस रहेको छ ।


तानसेन देखि ३० कि.मि. दक्षिणमा पर्ने महाभारत श्रृखंलाको टाकुरामा रहेको सत्यवतीताल प्राकृतीक र धार्मीक दृष्टिकोणले प्रशिद्ध स्थल मानिन्छ । तिनाउ गाउँपालिका–४ मा रहेको सत्यवती तालमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा चिच्याएर वरदान अर्थात वर माग्ने मेला लाग्दछ । रातको समयमा सत्यवती तालमा लिंगो गाडेर बिहान आफुले गाडेको लिंगो चिनेर पूजा गर्ने चलन रहेको छ । सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमा चिच्याएर वर माग्ने चलन रहेको हो । त्यहाँ पुग्ने हजारौँले एकैपटक चिच्याएर वर माग्दा जंगलको सुनसान रात गुञ्ज्यमान हुने गर्दछ । तानसेन बुटवल सडकखण्डको चौबिस माइलबाट एकघण्टा ३० मिनेटको उकालो चढेपछि सत्यवती ताल पुग्न सकिन्छ । सत्यवती बजैका लागि परेवा र बाख्राको बलि दिने चलन छ । सत्यवतीमा होमस्टे संन्चालनमा छ । त्यहा पुग्दा खानाबस्नको लागि असुविधा हुदैन ।
घुमघामका लागि कुनै खास मौसम हुँदैन । पाल्पामा घुमघाम गर्दा सबै मौसममा घुमघाम गर्दा खोजेकै आनन्द लिन सकिन्छ । पाल्पामा ग्रामीण पर्यटकहरुलाई गाउघरमा पु¥याउन पुर्वाधारको विकास गर्दै जानु पर्दछ । पर्यटक गाउँमा पुग्नको लागि सडक पहिलो पुर्वाधार हो । त्यसपछि गाउँघरमा घुमघाम गर्न जाने पर्यटकहरुलाई खानबस्नको लागि होटल अथवा होमस्टे हुनु पर्दछ । ग्रामीण क्षेत्रमा होमस्टेको सेवाले पर्यटकहरुलाई सुबिधा हुन्छ । ग्रामीण बस्तीमा होमस्टे सञ्चालनले स्थानीय स्रोत साधनको परिचालनहुन्छ । स्थानीय कृषिको प्रवद्र्धनसँगै अर्गानिक खानाले स्थानीयको आर्थिक सुधार पनि हुन्छ । होमस्टे सञ्चालन गर्दा स्थानीय कला, संस्कृति र जीवन पद्धतिको समेत संरक्षण हुन्छ । पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्धेश्यले आफ्नै घर, समुदायमा निजी वा सामूहिक रुपमा होमस्टे सञ्चालन गर्न पर्दछ ।


अहिले होमस्टे सुविधा भएका गाउँघरमा घुमघाम गर्दा बसाइमा सस्तो मात्र होइन रमाइलो पनि हुन्छ । होमस्टे सांस्कृतिक संगठनका रुपमा प्रचलित अंग्रेजी शब्द हो । जसले भ्रमण अथवा यात्राका क्रममा ग्रामीण भेगका घरमा बास बस्ने भन्ने अर्थ दिन्छ । यसले ग्रामीण क्षेत्रको घुमघाममा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहन सहित घरघरमा खाने, बस्ने व्यवस्थालाई जनाउँछ । अब पर्यटनको बिकासको लागि पाल्पा जिल्लाका सबै स्थानिय तहका गाउँघरमा परम्परागत संस्कृतिको संरक्षण गर्दै होमस्टे सन्चालन गर्नु पर्दछ । होमस्टे सन्चालन भएपछि आन्तरिक पर्यटकहरु गाउँमा पुग्दछन । गाउँघरमा उत्पादन हुने कृषिजन्य बस्तुहरुको ब्यपार बढछ । कला सस्कृति र भाषाको समेत आदान प्रदान हुने गर्दछ । स्थानिय पर्यटन प्रवर्दधनमा होमस्टेले राम्रो सघाउ पु¥याउछ । खासगरी व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे पर्यटकहरुका लागि राम्रो विकल्प हो । होमस्टेमा पाहुना बनेपछि स्थानिय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट गाउँमा पुग्ने पर्यटकहरुले साक्षतकार गर्न सक्दछन ।
पाल्पाको इतिहास
पाल्पा जिल्लाको इतिहास लामो छ । सेनवंशका दशौ पुस्ताका राजा चन्द्रसेनका छोरा रुद्रसेनले वि.स. १५६३ मा पाल्पा राज्यको स्थापना गरेका थिए । राजा मुकुन्दसेनको पालामा पाल्पा राज्यलाई विस्तारगरी पूर्वको धनकुटा सम्म पु¥याएका थिए । झण्डै ४९८ बर्षसम्म शासन गरेका सेनवंशका पछिल्ला राजा पृथ्र्वीपाल सेन को पालामा वहादुर शाह र भिमसेन थापाको रणनैतिक चलाखिले गर्दा पाल्पा राज्य वि.स. १८६१ मा नेपाल राज्यमा विलय भएको थियो ।


पाल्पाको अस्तित्व इसाको पाचौ शताव्दीमा भएको अनुमान गरिन्छ । त्यतिवेला भारत र चिनको ठूलोक्षेत्र मगांलियाको अधिपत्यमा रहेको कुरा इतिहासले देखाउछ । पाल्पाको नाम पनि मगाेंलियन शव्दबाट बनेको हो भन्नेकुरा किम्वदन्ती रहेको छ । मगाेंलियन शव्द वाल्वा को अर्थ सिप,कला र कालिगढ हुन्छ । त्यहि शव्दबाट अपभ्रशं हुदै पाल्पा भएको हो भन्ने अनुमान छ । इतिहास हेर्दा पाल्पा राजा पृथ्र्वी नारायण शाहको मावली, राणा शासकहरुको पालामा प्रधानमन्त्रीको रोल खोखिएकाहरुको शरणस्थल,२००७ सालको क्रान्तीमा शासकनै सहभागी बनेको पहिलो जिल्ला जस्ता विशेषता पनि पाइन्छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।