पाल्पामा नयाँ कार्यालयको रुपमा सामाजिक विकास डिभिजन कार्यालय खुल्यो

0
243

गोपाल प्रसाद बस्याल । पाल्पा
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, बुटवलबाट पाल्पा र गुल्मी जिल्ला कार्यक्षेत्र निर्धारण गरी सामाजिक विकास डिभिजन कार्यालय बिहीवार तानसेन पाल्पामा स्थापना गरिएको छ ।
कार्यालय स्थापनाका अवसरमा बोल्दै मन्त्रालयका योजना तथा प्रशासन महाशाखाका उपसचीव केशव अर्यालले सामाजिक न्याय, सशक्तिकरण र समाजकल्याणका क्षेत्रमा मन्त्रालयबाट हुँदै आएका क्रियाकलापहरू सुविधाजनक तरिकाले प्राप्त गर्नाका लागि मन्त्रालय कै स्रोत साधनका आधारमा डिभिजन कार्यालय स्थापना गरिएको बताए ।

उनले सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालयको आफ्नै संरचना भएकोले स्वास्थ्य बाहेकका शिक्षा, युवा तथा खेलकुँद, महिला तथा बालबालिका, जेष्ठ नागरिक, भाषा, सरसफाइ लगायत कार्यहरूको योजना, कार्यान्वयन र मूल्यांकन लगायतका कार्य डिभिजन कार्यालयबाट नै सम्पन्न हुने बताए । उनले विशेषगरी स्थानीय सरकारहरूसँग समन्वयमा कार्य गरिने भएकाले स्थानीय सरकार र कार्यालय वीच समन्वय, सहयोग र सहकार्य हुनु जरूरी भएको बताए ।


पाल्पा तानसेनस्थित शिक्षा तालिम केन्द्र भवनमा रहेको यस डिभिजन कार्यालयका प्रमुख लक्ष्मण ज्ञवालीले सम्बन्धित सबैसँग समन्वय गरेर कार्य गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
मन्त्रालयका कार्यहरूको सम्प्रेषण स्थानीय तहसम्म गर्ने पुलको काम गर्नेगरी प्रदेश नं. ५ अन्तर्गत २।२ वटा जिल्ला कार्यक्षेत्र तोकी नवलपरासी र रुपन्देहीका लागि रुपन्देही, पाल्पा र गुल्मीका लागि पाल्पा, अर्घाखाँची र कपिलवस्तुका लागि कपिलवस्तु, दाङ र रोल्पाका लागि दाङ, प्यूठान र रुकुमका लागि प्यूठान र बाके र बर्दियाका लागि बाँकेमा डिभिजन कार्यालय रहने गरी प्रदेश नं. ५ सरकारबाट निर्णय गरिएको थियो ।


यसरी प्रदेश सरकारका कार्यहरूको विस्तार जिल्लास्तरसम्म गरिएका कारण सेवाग्राहीको पहुँच बढ्न जाने र कार्यको गुणस्तर बृद्धि हुनसक्ने विश्वास लिइएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।