दही चामल खाने न्वागी मेला भब्य भयो

0
125

पाल्पा । हरेक बर्ष जस्तै रैनादेवीको न्वागी मेला यस वर्ष पनि भब्य रुपमा सम्पन्न भएको छ । किसानले घरमा धान भित्र्याएपछि घरमा नखांदै रैनादेवीलाई चढाउने मेलाको रुपमा रहेको न्वागी मेला सोमबार र मंगलवार चलेको थियो ।

मेलाको उद्घाटन गर्दै प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले रैनादेवी मन्दिर पर्यटकीय रुपमा अत्यन्तै सम्भावना बोकेको क्षेत्र रहेको भएता पनि पर्याप्त पुर्वाधारको अभावमा ओझेलमा परेको भन्दै यस क्षेत्रको गुरुयोजना सहित विकास गर्न प्रदेश सरकारको पूर्ण सहयोग रहने बताए । उनले परापूर्वकालमा रैनादेवीको प्रचारप्रसार पश्चिम नेपालमा मात्र नभएर छिमेकी मुलुकमा समेत रहेको बताउदै रैनादेवी क्षेत्रलाई जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्दै पर्याप्त आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताए ।

हरेक वर्ष नया धान भित्र्याएपछि नयाँ चामल देवीको मन्दिरमा चढाएर चामल दहीमा मिसाएर दही चिउरा खाने प्रचलन रहेको छ । जसलाइ न्वागी खाने पनि भनिन्छ । नया चामल पहिले देवीको घरमा चढाउने र त्यसपछि त्यहा“का स्थानीय बासिन्दाले नया चामल, दही र केरा मिसाएर न्वागी खाने प्रचलन रहेको वडा अध्यक्ष लाल बहादुर दर्लामीले बताए ।

रैनादेवी मन्दिर सञ्चालनार्थ परापूर्व कालदेखि स्थानीय राजा रजौटाहरूद्वारा गुठीको व्यवस्था गरी मगर जातिका पुजारीले पूजा आजा गर्ने व्यवस्था छ । यस मन्दिरको वरिपरि दुरदराजका गाउहरुसम्म कार्तिक महिनामा धानबाली स्याहारी नया“ अन्नको प्रसाद अक्षता बनाई देवीलाई चढाउने र दही चिउरा प्रसादको रुपमा खाने चलन रहेको छ । जंगल भित्र रैनादेवीको शक्ति पीठ, सत्य देवी र कालिकाको मन्दिर रहेका छन् । मन्दिरमा आठ सय वर्ष पुरानो घन्ट रहेको छ । घन्टमा उल्लेख भएअनुसार मन्दिरको नाम पहिले “रोइन देवी” रहेको र पछि सजिलोका लागि रैनादेवी बन्दै गएको वडाध्यक्ष दर्लामीले बताए ।

हरेक वर्ष न्वागी पर्वको अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्छ । दशैंको महाअष्ठमीका दिन मध्यरातमा गरिने कालिका पुजा, सोरठी नाच,सराय,मालश्री,बालन र ख्याली नाच यहाका प्रमुख आकर्षण हुन् ।

न्वागी मेलाको दिन प्रत्येक गाउबाट सोरठी नाच समेत प्रस्तुत भएको थियो । उत्कृष्ट नाचलाई गाउपालिका र वडा कार्यालयले पुरस्कार प्रदान गरेका थिए । न्वागी मेलामा प्रदेश सासद तुलाराम घर्तीमगर, नारायण आचार्य, पुरनमान बज्राचार्य, वीरबहादुर राना, जिल्ला समन्वय समितिका उपप्रमुख मीरा मरासनी, गाउपालिका अध्यक्ष राम बहादुर कार्की लगायतले शुभकामना व्यक्ति गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।