स्मरणीय दयाराज सर

0
166

मिरा मरासिनी
कतिपय घटनाहरु यस्ता हुन्छन् । जुन घटनाको बिश्वास नै लाग्दैन । घटना भइसक्दा पनि भयो जस्तो मनले मान्दैन । ब्यक्तिले संसार छोडेर जादा पनि उ यही यही संसारमा छ जस्तो लागिरहन्छ । यही मंसिर ५ गते हामीले जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्याललाई सधैंका लागि गुमायाौं तर उहाँ यही संसार हुनुहुन्छ हामीसँगै जस्तो लागिरहन्छ । एउटा असल अभिभावक हामीले सधैंका लागि गुमायौं । सबै पाल्पालीले उहाँको अन्तिम बिदाईमा आँशु झारे । जिल्ला समन्वय समिति अहिले पनि उस्तै मलिन छ ।
पाल्पाको राजनीतिक तथा सामाजिक क्षेत्रमा दयाराज सरलाई सबैले एउटा असल अभिभावककै रुपमा लिए । मेरो नजरमा पनि उहाँ सधै सधैं असल अभिभावक हो । कसैलाई नराम्रो नसोच्ने, नराम्रो रुपले प्रस्तुत नै नहुने र बोल्दा धेरै कुरा सोचेर मात्रै बोल्ने उहाँबाट सिक्नैपर्ने बिषय हो ।

म ग्रामीण स्तरमै राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील रहँदा देखि नै दयाराज सरको लगनशीलता र सामाजिक जीवनको धेरै प्रसंगहरु सुनेकी थिए । मलाई २०६५ सालमा जिल्ला कमिटिको जिम्मेवारी प्राप्त भएपछि उहाँलाई अझ नजिकबाट चिन्ने र बुझ्ने मौका मिल्यो । हरेक कार्यक्रममा उहाँ अत्यन्तै शालिन र भद्र स्वभावले प्रस्तुत हुनुहुन्थ्यो । आफ्नो मात्रै भन्दा पनि सहभागीको भावनालाई समेटेर बोल्ने, हरेक कार्यक्रममा समयमा पुग्ने अन्तिमसम्म साथ दिने र कार्यक्रममा उठेका बिषयहरुलाई सन्तुलित रुपमा बिश्लेषण गर्ने उहाँको निकै राम्रो पक्ष थियो ।

२०७४ सालको स्थानीय निर्वाचनपछि उहाँलाई जिल्ला समन्वय समितिको प्रमुख र मलाई उपप्रमुखको जिम्मेवारी प्रापत भयो । जिल्ला र जिल्ला बाहिरका बैठक, बिभिन्न महत्वपूर्ण कार्यक्रम र सभा समारोहमा समेत मलाई उहाँसँगै जाने उहाँबाट धेरै कुरा सिक्ने मौका मिल्यो । हरेक निर्णयमा सबै पक्षको सहभागिता गराउने, छलफल पछि मात्रै निर्णायक तहमा पुग्ने र सबै पक्षलाई बरावरी रुपमा हेर्ने उहाँको ब्यवहार सधै सम्झनामा रहिरहनेछ । कतिपय स्थानमा प्रमुख उपप्रमुख बीच साना तिना बिषयमा पनि अन्तरबिरोध भएका सुनिन्छन् तर पाल्पामा कहिल्यै त्यस्तो भएन । हामी जनप्रतिनिधि र कर्मचारी क्षेत्रबीच सधै हार्दिक रह्यो र अहिले पनि छ र निरन्तर रहिरहनेछ ।
उहाँले सधै सम्वन्धित बिषयमा म लगायत अन्य सदस्य साथीहरुसँग पनि छलफल गर्ने र निर्णायक तहमा लैजाने गर्नुभयो । म लगायत अन्य साथीहरुको उहाँले कहिल्यै अवमुल्यन गर्नुभएन । स्रोत र साधनको कहिल्यै दुरुपयोग हुनु हुँदैन भन्नेमा उहाँ प्रतिबद्ध हुनुहुन्थ्यो । जसको कारणले पनि जिल्ला समन्वय समिति कहिल्यै बिवादित भएन । बिरामी भएर अस्पताल भर्ना हुनु अघिसम्म उहाँ सधै कार्यालयमा आउने छलफल कार्यक्रममा सहभागी हुनुभयो ।

उहाँले राजनीतिक आस्थाकै कारण धेरै समस्याहरु भोग्नुभयो । यसबारे कहिले काहि हामीहरुसित आफ्नो अनुभव सुनाउनुहुन्थ्यो । निष्ठावान राजनीति, विपक्ष भावनालाई कदर गर्ने, सामुहिक निर्णयमा बिश्वास राख्ने, मयार्दा खोजेर ठुलो मान्छे बन्न नखोज्ने, निहीत स्वार्थका लागि अनावश्यक दवाव कोही कसैलाई नदिने, जतिसुकै समस्यामा पनि हँसिलो अनुहारमा प्रस्तुत हुने, सजिलै घुलमिल हुन सक्ने उहाँबाट सिक्नैपर्ने गुण हुन् ।

उहाँको निधनले हामी अत्यन्तै मर्माहत भएका छौं । यस दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्दै हार्दिक समवेदना प्रकट गर्दछु ।
जिल्ला समन्वय समिति पाल्पा उपप्रमुख (पाल्पा समाचारपत्रसितको कुराकानीमा आधारित)

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।