५ बुँदे पाल्पा घोषणापत्र जारी गर्दै लघुवित्त सम्मेलन सम्पन्न

0
123

रामचन्द्र रायमाझी । पाल्पा
पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाले लघुवित्त सम्मेलन तथा सहकारी शिक्षा प्रशिक्षण कार्यक्रम शनिवार तानसेनमा गरेको छ ।

सहकारीको अवस्थाका विषयमा जानकारी दिने उद्देश्यले सम्मेलन तथा प्रशिक्षण कार्यक्रम भएको हो । सम्मेलनका प्रमुख अतिथि तथा प्रशिक्षण कार्यक्रमका प्रशिक्षक प्रदेश ५ सहकारी शिक्षालयका प्रमुख प्राचार्य श्रीकृष्ण नेपालले मुक्तकण्ठले प्रशंसा गर्दै, वचत तथा ऋण सहकारी संस्थाहरुमा अव्वल र पुरानो सहकारी पाल्पा राराले वचत तथा ऋणको कारोवार मात्र नभएर लघुवित्तका क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्य अत्यान्तै प्रभावकारी भएको बताए ।
उनले सहकारीको लघुवित्तका १ हजार भन्दा धेरै शेयर सदस्यलाई प्रशिक्षण दिनुका साथै पाल्पा घोषणा कार्यक्रम गरेको यो नौलो र समय सापेक्ष कार्यक्रम भएको धारणा व्यक्त गरे । संस्थाका अध्यक्ष जगदीश भट्टराईले, सहकारीलाई सूचना प्रविधि मैत्री बनाउँदै स्थानीय, प्रदेश र केन्द्रीय सरकारले अगाडि सारेका आर्थिक विकासका पाटामा सँग संगै सदस्यहरुको चौतर्फी विकासमा अग्रसर बनाउँने सोंचका साथ यो कार्यक्रम गरिएको बताए । सहकारी अभियन्ता तथा संस्थाका पूर्व अध्यक्ष भीमसेन कार्कीले, लघुवित्तले आर्थिक अनुशासनलाई बढावा दिने हुँदा विपन्नवर्गको लागि यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताए । संस्थाका सञ्चालक समितिका सदस्य अजयमान कर्मचार्यले जिल्लाको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । संस्थाका सचिव अरुणकुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।


यस्ता छन् सम्मेलनका पाँच बुँंदे पाल्पा घोषणा


तानसेन र आसपासका ग्रामिण क्षेत्रमा कार्य क्षेत्र बनाएर लघुवित्तको कारोवार शुरु गरेको पाल्पा रारा वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको लघुवित्त सम्मेलनले शनिवार पाँच बुँदे पाल्पा घोषणा जारी गरेको छ ।


शनिवार बिहान प्रभात फेरी पछि श्रीनगर वनपार्कमा सम्मेलनका रुपमा एक हजार २ सय भन्दा धेरै महिला सदस्यहरुको सहभागितामा भएको सम्मेलनमा विभिन्न दश समूहमा भएको समूहगत छलफलको निस्कर्षका आधारमा तयार पारिएको घोषणा पत्रमा लघुवित्तको दीर्घकालीन सोंच,रणनीति निर्माण गर्न लघुवित्तका सरोकारवाला र स्थानीय, प्रदेश र केन्द्रसरकार तथा सम्बन्धित निकायलाई नयाँ संरचना अनुरुप काम गर्ने वातावरणको विकास गरी आर्थिक सम्वृद्धि तर्फ लाग्ने दीशा निर्देश गर्न आग्रह गर्ने बताईएको छ ।


सहकारी अभियानमा लघुवित्त क्षेत्रको पनि महत्वपूर्ण योगदान हुने हुँदा शेयर सदस्यहरुको दोहोरो सदस्यता अत्य गर्दै सहकारी ऐन २०७४ को पूर्ण पालना गर्दै, विपन्न वर्गलाई सम्पन्नता तर्फ अग्रसर गराउँदै लग्ने नीतिको अवलम्वन गर्न सबै पक्ष संग आग्रह गरिएको छ । घोषण पत्रमा सहकारी शिक्षाको प्रचार प्रसार र प्रशिक्षणलाई प्राथमिकता दिदै, लगानीको सुरक्षण र वचत तथा ऋणप्रवाहलाई पारदर्शी बनाएर प्रत्येक शेयर सदस्यलाई नियमित वचतको वानीमा विकास गर्ने, कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै जाने प्रतिवद्धताका साथै सहकारीलाई सूचना र प्रविधि मैत्री र पारदर्शिता, सहभागिता मुखि बनाउँदै लग्ने कुरामा जोड दिईएको छ । लघुवित्तको कारोवार गर्ने सहकारी, संघ संस्था र वित्तीयसंस्थाहरु सँगको सहकार्यलाई जोड दिदै अगाडि बढ्ने अठोटका साथ सम्मेलन सकिएको हो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।