प्राविधिक शिक्षाका पाल्पाली बिद्यार्थीलाई ४० लाख ५० हजारको छात्रबृत्ति बितरण गरिने

0
497

पाल्पा । पाल्पाका १० वटा स्थानीय तहका ८१ वटा वडाका गरिव तथा जेहेन्दार बिद्यार्थीले प्रति वडा एक जनाले ५० हजार रुपैयाँको छात्रबृत्ति पाउने भएका छन् ।

पूर्वमन्त्री समेत रहेका बरिष्ठ उद्योगपति एवं समाजसेवी हरिप्रसाद पाण्डेले स्थापना गरेको मातृसेवा प्रतिष्ठान जननीमार्ग ललितुरको आर्थिक सहयोग र पाल्पाली समाज पोखराको समन्वयमा छात्रवृत्ति वितरण गर्न लागिएको बारे समाजले तानसेनमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

संस्थाले निर्माण गरेको मापदण्डभित्र पर्ने गरिब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउने समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले बताए । एकजना विद्यार्थीले नगद ५० हजार पाउने छन् । ८१ जना विद्यार्थीलाई वितरण गरिने कुल रकम ४० लाख ५० हजार रहेको अध्यक्ष घिमिरेले बताए । स्वास्थ्य चिकित्साशास्त्र, कृषि, भेटेनरी, इञ्जिनियर र होटल व्यवस्थापन अध्ययन गरिरहेका विद्यार्थीले यो छात्रवृत्ति पाउनेछन् ।

उक्त छात्रबृत्ति पाउनको लागि निवेदकले भएको खण्डमा आफ्नो नागरिकता, बुबाको नागरिकताको प्रतिलिपि अनिवार्य, गरिब तथा जेहेन्दार भएको प्रमाण स्वरुप सम्बन्धित वडा र क्याम्पसले दिएको सिफारिस आवश्यक पर्ने छ । अध्यक्ष घिमिरेका अनुसार निवेदक मूल घर पाल्पा हुनुपर्ने तर अध्ययन जहाँ गरेको भएपनि हुने, छात्रालाई विशेष ग्राहयता दिइने र पहिलो वर्षमा अध्ययन गरिरहेको हुनुपर्ने छ । उक्त रकम यही मंसिरभित्र बितरण गरिसक्ने उनले बताए ।
कार्यक्रममा अध्यक्ष घिमिरेले समाजले पोखरामा छिटै सञ्चालन गर्न लागेको पाल्पाको पर्यटन झल्किने पाल्पा हाउस निर्माण र लेकसाइडमा राख्न लागिएको पाल्पा भल्किने डिजिटल बोर्डबारे समेत जानकारी गराएका थिए ।

क्षमता भएको जेहेन्दार विद्यार्थी तर आर्थिक अभावले बीचमै पढाइ छोड्नुपर्ने बाध्यता नपरोस् भन्दै ती अवस्थाका विद्यार्थीलाई सहयोग गर्न लागिएको पाल्पाली वहुउद्देश्यीय सहाकारी संस्था कास्कीका अध्यक्ष तथा समाजका पूर्व अध्यक्ष चिरञ्जीवि श्रेष्ठले बताए ।


कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले पाल्पाली समाज पोखराको उक्त कार्यको प्रंशसा गरे । समाजका प्रथम उपाध्यक्ष रेशम थापाको स्वागत र पत्रकार तथा समाजका सदस्य श्याम कुवँरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।