पाल्पाको दुर्गम गाउँमा महिलाहरुले चलाएको सहकारीबाट बार्षिक करोडौ कारोवार

0
148

एवत सारु । (रम्भा) पाल्पा
उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड रम्भा गाउँपालिका २ फोक्सिङ्गकोट पाल्पाको चौथो साधारण सभा तथा नव निर्मित भवनको उद्घाटन गरिएको छ ।

नव निर्मित भवन उद्घाटन गर्दै प्रदेश नं. ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री आरती पौडेलले गाउँगाउँमा खुलेका सहकारीले जनजीविका संचालनमा सहजता ल्याएको र यसको विकासको लागि प्रदेश सरकारले सहकारी संस्थाहरुसंग सहकार्य गरि जनपक्षिय कार्य गर्ने अभ्यास गरेको बताइन् । मन्त्री पौडेलले सहकारी संस्था मार्फत आम नागरिकले कृषि क्षेत्रबाट उत्पादन गरि आम्दानी गर्ने गरेको र सहकारी व्यवस्थापन तथा विकासमा प्रदेश सरकार लागि परेको बताइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष गंगीसरा सिंजालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २ करोड २८ लाख ८७ हजार ३७५ रुपिया कूल पूँजी भएको आर्थिक प्रगति विवरण प्रस्तुत गरिन् । २०७२ सालमा स्थापित यस सहकारी संस्था फोक्सिङ्गकोटका ३६ समूहका ६१६ जना शेयर सदस्य आबद्घ रहेका छन् ।

जिल्लामा उल्लेख्य संख्यामा खसी तथा बोका बिक्री गर्न सफल सहकारी संस्थामा यस वर्ष ९ लाख १९ हजार ५९६ रुपिया खुद नाफा भएको छ । कार्यक्रममा उपहार सामाजिक उद्यमी महिला सहकारीको को नवनिर्मित भवनको मन्त्री आरती पौडेलले उद्घाटन गर्नु भयो । कार्यक्रममा सहकारी संस्थामा उत्कृष्ट बाल बचत गर्ने, समूह बचत गर्ने, उत्कृष्ट अङ्क ल्याई एसईई उत्तीर्ण हुने शेयर सदस्यका सन्तती, संस्थालाई सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा सह सचिव मीना सिंजालीले स्वागत गर्नु भएको थियो । विशिष्ट अतिथि प्रदेश सभासद नारायणप्रसाद आचार्य, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुल्सीराम भण्डारी, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी लगायतले सहकारीको विकासले समग्र जनताको विकासमा टेवा पुगेको बताउदै सहकारीलाई थप व्यवस्थीत बनाउनुपर्नेमा जोड दिए । यसै गरि हेफरईन्टरनेशनल नेपालका प्रबन्धक अनन्त सिलवाल, ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्की, रम्भा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष उमानसिं सारु लगायतले सहकारी विकासका बारेमा आफ्नो धारणा राख्दै शुभकामना दिएका थिए । कार्यक्रम व्यवस्थापक कृष्णमाया पाडेमगरको संचालन तथा अध्यक्ष गंगीसरा सिंजालीको अध्यक्षतामा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।