जब पञ्चे बाजा बज्छन् तव ननाच्ने को होला र ?

0
148

कमलराज तिमिल्सिना । पाल्पा
जव बिवाह वर्तबन्ध वा शुभकार्यमा पञ्चेबाजा घुरुङ घुरुङ बज्न थाल्छन् । तव कहिल्यै ननाच्नेहरुलाई पनि ननाची मनले मान्दैन । यसरी जिल्लामा बज्ने पञ्चे बाजाहरुमा पनि बगनासकालीका पञ्चे बाजाको महत्व बेग्लै छ ।

देवी देवता तथा विशेष पुजाआजामा मात्र सिमित परम्परागत पञ्चेबाजा अहिले व्यवसायिक रुपमा बजाउन थालिएको छ । नेपाली संस्कृति एवम् धार्मिक बाजाको रुपमा प्रयोग हुँदै आएको मौलिक संस्कृतिको धरोहर हो पञ्चे बाजा ।

गणेश, विष्णु, शिव, देवी र सूर्य पाँच भगवानको नामबाट पा“च वटा विभिन्न किसिमका धातुबाट निर्मित बाजाहरु प्रयोग गरेको पाईन्छ । सनाई, कर्नाल, झ्याली, दमाह र ढोलक पञ्चे बाजाको रुपमा रहेका छन् ।

पञ्चेबाजामा अरु चार किसिमका बाजा थपेर बजाईने बाजालाई नौमति बाजा भनिन्छ । नौमति बाजा नौवटा बाजाहरूको सामुहिक बाजा हो । यो पञ्चे बाजाको ठलो रूप हो । जसमा चारवटा अरू बाजा थपिएको हन्छ । यस अन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बाजा हन्छन् । जसमा सहनाई र दमाहाका दुई दुई वटा हुन्छन् । सनही र नरसिंगा फुकेर, ठुलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याली र मजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौजना बाद्य बादक लोक कलाकारहरूले स्वर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो बाद्य समुहलाई नौमती बाजा भनिएको हो ।

बगनासकाली पञ्चेबाजाको उर्भरभुमि हो । यहाँका सबैजसो वडाहरुमा पञ्चेबाजा बज्छन् । खानीगाउ, यम्घा, चापपानी र नायरनम्तलेसमा यसको व्यापकता रहेको छ । अन्य वडाहरुमा बाजा बजाउनेहरु सिंगो समूह नभएपनि अन्य क्षेत्रका समूहसित बाजा बजाउन हिड्ने गरेका छन् । पाल्पा जिल्लामा मात्रै नभएर अन्य बाहिरी जिल्लामा समेत यहाका बाजाले नाम कमाएको छ । बगनासकाली ७ खानीगाउका ६० वर्षीय भिम बहादुर दमाइले तानसेनका बिभिन्न जात्रा समारोह तथा बिशेष कार्यक्रमहरुमा आफूहरुले पहिल्यैदेखि बाजा बजाउदै आएको बताए । “तानसेनको भगवती जात्रामा हामी हरेक बर्ष बाजा बजाउन जाने गरेका छौं, अरु जात्राहरुमा पनि जान्छौं ।” उनले भने ।

स्थानीय कृष्ण बहादुर दमाईले केही वर्ष अघिसम्म चाड पर्वको बेलामा मुखियाको घरमा बाजा बोकेर बजाउन जानु पर्ने चलन रहेको बताए । साईतको समयमा कर्नाल बजाएर सुचना दिने चलन थियो तर ती परम्पराहरु धेरै हराईसकेको छ । पछि आएर रमाईलोको लागि बजाउन थालियो विस्तारै पन्चेबाजा व्यवसायिकता तिर गएको उनले बताए । सुरु सुरुमा दमाई समुदायलाई अगाडि लगाएर हिड्दा साईत पर्छ भनि सगुनको रुपमा मान्ने गरेको पाईन्छ । हरेक शुभकार्य गर्दा पञ्चे बाजा टोलीलाई अगाडि लगाउ“दा शुभ हुन्छ भन्ने मान्यता रहेको छ । केही बर्ष अघिसम्म दमाई समुदायले मात्र बाजा बजाउने गरेता पनि अहिले व्यवसायिक रुपमा मगर तथा अन्य समुदायले पनि बाजा बजाउन थालेका छन् । स्याङजाको गुरुङदीबाट बसाई सराई गरि यम्घाको ठुलापोखरामा आएका तिन परिवारले सुरु गरेको बाजा बजाउने पेसा लामो समय सम्म यम्घेली बाजाको रुपमा निकै चर्चित थियो । तर यसैबाट गुजरा चल्न नसकेपछि विस्थापित हुनुपर्ने वाध्यता परेको यम्घाका रामप्रसाद दर्माले बताए ।

एघार वर्षको उमेर देखि बाजा बजाउंदै आएका बगनासकाली ९ चापपानीका शोभाखर परियार उमेरले ७८ वर्षको हुदा समेत बाजा बजाउन हिड्ने गरेका छन् । आफूले बाजा बजाउन शुरु गर्दाका सङगी साथी अहिले कोहि पनि नभएको उनले बताए । उमेरले पाको मात्रै कामको अनुभवले खारिएका शोभाखरले शुभकार्यमा बाजाको निकै महत्व हुने भएकोले आफूहरुलाई टाढा टाढाबाट बोलाउने गरेको बताए ।

बगनासकाली ७ खानीगाउ टाकीचौरका मगर समुदायले १२ वर्षदेखी पञ्चेबाजा बजाउदै आएका छन् । पञ्चेबाजा पुरानो लोकसस्कृति भएकोले धेरैलाई मनपर्ने भएकोले पनि यस जगेर्ना आवश्यक रहेको स्थानीय बल बहादुर थापाले बताए । उनले भने–“यो संस्कृति सबैको संस्कृति हो । यसलाई जोगाउन सकियो अव आउने पुस्ताले पनि यसबारे जान्न सकुन् भनेर हामीले अग्रसर भएर पञ्चे बाजा जोगाउन लागिपरेका छौं ।” उनले भने । पछिल्लो समय पञ्चेबाजा प्रति लोकप्रियता बढ्दै गएको र थोरै भएपनि आयआर्जनमा मद्दत पुग्ने भएकोले यस क्षेत्रमा लागेका समुदायलाई निरन्तर लाग्नका लागि हौसला दिइरहनु पर्ने बगनासकाली ७ खानीगाउका नल बहादुर साठीघरेको भनाई छ ।

यस विधामा सिप, रुचि भएका समुदायलाई अन्य समुदाय र सरकारले पनि उचित साथ र सहयोग गरे लोप हुन लागेको पञ्चे बाजालाई जोगाउन सकिने सरोकारवालाहरु बताउ“छन् । संगीत सबैलाई मनपर्छ यसभित्र पनि पञ्चेबाजा झनै रमाईलो आनन्द दिने पुरानो लोक संगीत र संस्कृति हो । पञ्चेबाजा खानीगाउलाई मात्रै नभएर बगनासकालीलाई नै चिनाउने राम्रो अवसर भएको सामाजिक अभियन्ता टंकप्रसाद भट्टराईको भनाई छ । यस क्षेत्रमा जीवन रहेको पञ्चेबाजा संस्कृति संरक्षण र सम्बर्धनमा सबै पक्षले सहयोग गर्नु पर्ने अर्का अभियन्ता हरिप्रसाद पाठकको भनाई छ । यस क्षेत्रको बाजा संस्कृति संरक्षणका लागि यस अघि संघीय सांसद सोम प्रसाद पाण्डेयको सांसद विकास कोषबाट बाजा समेत बितरण गरिएको थियो । बगनासकाली फिचर संग्रह

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।