जाने हैन त सत्यवती बज्यैसित चिच्याएर बर माग्न ?

0
954

पाल्पा । तिनाउँ गाउँपालिका वडा नं. ४ सत्यवतीमा रहेको सत्यवती तालमा सत्यवती बज्यै मेला यस वर्ष पनि लाग्ने भएको छ । यस वर्ष कात्तिक २४, २५ र २६ गते मेला लाग्ने आयोजकले जनाएका छन् ।

यस वर्ष मेलामा ३ लाख दशनार्थी भित्र्याउने गरि तयारी गरिएको तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताए । मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर रानाले मेलाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए ।

खासगरी रातिको समयमा मेला लाग्ने र चिच्याएर बर माग्ने मेलाको रुपमा परिचित सत्यवती बज्यै मेलामा हरेक वर्ष लाखौं दशनार्थीहरु पुग्ने गरेका छन् । यहा जोक परेका बेला वर्षेनी यसैगरि मेला लाग्दै आएको छ । सत्यवती बज्यै बुढी भएकी र कानले समेत कम सुन्छिन् भन्ने मान्यताका आधारमा चिच्याएर बर माग्ने प्रचलन रहँदै आएको छ ।

किंवदन्ती अनुसार वर्षौ पहिले एक जना स्थानीय केटो सोही सत्यवती ताल वरपर खेल्दै रहेछ । बिहान पख सोही स्थानमा एक्कासी सत्यवती बज्यै प्रकट भइछन् । एकाबिहानै कहिल्यै नदेखेकी बुढी आईमाई देखेपछि केटो डराएछ र अत्तालिएछ । पछि सत्यवती बज्यैले केटोलाई नआत्तनु भन्दै अगाडि भनिछिन् “म सत्यवती बज्यै हु“ प्रत्येक वर्ष यसै समयमा म यही स्थानमा आउनेछु । तिमी र मेरो यसरी भेट भएको भन्ने कुरा कसैलाई नबताउनु यदि तिमीले मैले भनेको मान्यौ भने तिमीले आटेका जति सबै इच्छा मैले पूरा गरिदिनेछु । यदि झुक्किएर पनि कसैलाई यो कुरा बतायौं भने तिम्रो मृत्यु हुनेछ ।”

पछि सोही केटोले सत्यवती बज्यैसँगको भेटको कुरा घरमा पुगेर बेलीबिस्तार लगाएछ र लगत्तै उक्त केटोको मृत्यु भएछ । यही किंवदन्तीको आधारमा हरेक वर्ष यहा मेला लाग्दै आएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक खण्डको चर्चरेबाट २ घण्टाको पैदलबाट पुग्न सकिने सत्यवती मेलामा पाल्पा सहित गुल्मी, रुपन्देही, अर्घाखाची लगायतका जिल्ला र भारतबाट समेत दशनार्थीहरु आउने गर्दछन् । खासगरि पहिले बर मागेर आफ्नो भाकल पूरा भएकाहरुले खुशीयालीमा पाठो, कुखुरो काट्ने र परेवा उडाउने प्रचलन छ भने नया“ बर माग्नेहरुले सत्यवती ताल परिक्रमा गर्दै चिच्याएर बर माग्ने प्रचलन रहँदै आएको छ ।
फोटोः गुगल

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।