फोक्सिङ्गकोट पूर्ण सरसफाई उन्मुख वडा घोषित्

0
358

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटलाई पुर्ण सरसफाई उन्मुुख क्षेत्र घोषणा गरिएको छ । मंगलबार भएको एक औपचारिक कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद एवम भूतपूर्व भुमि सुधार मन्त्री दलबहादुर रानाले सरोकारवालाको लागि तयार पारिएको प्रतिबद्घता वाचन गरेर सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको हो ।

घोषणा समारोहमा सुआहारा नेपाल रम्भा गाउँपालिकाका फिल्ड सुपरभाईजर कुश्माखर पाण्डेले फोक्सिङ्गकोटका ७४६ घरकुरीयामा तय गरिएका विभिन्न ६ शीर्षकका २२ वटा सूचकहरु पूरा भएकोले पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणाको लागि सिफारिस गरेको प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा फोक्सिङ्गकोटलाई पूर्ण सरसफाई उन्मुख क्षेत्र बनाउनको लागि सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो । यसै गरि महिला स्वयं सेवीका तथा स्वास्थ्य सहजकर्तालाई समेत मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद दलबहादुर रानाले यस्ता कार्यक्रमको सफलताले अन्ततः सरकारको नीति तथा कार्यमा टेवा पुग्ने बताउँदै फोक्सिङ्गकोटको विशेष पहिचान पुग्ने गरि विशेष कार्यक्रमहरु तय गरि कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व सांसद राधाकृष्ण कँडेल, प्रदेश सांसद नारायण आचार्य, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधादेवी श्रेष्ठ लगायतले फोक्सिङ्गकोट वासीले स्वास्थ्य क्षेत्रमा मारेको फड्को प्रति खुशी व्यक्त गर्र्दै शुभकामना व्यक्त गरेका थिए । यसै गरि टंकप्रसाद खनाल, विष्णुनाथ न्यौपाने, रमाकान्त अधिकारी, कालीदास श्रेष्ठ, राजेशकुमार अर्याल, हुमीकुमारी पाडेमगर, टोपबहादुर जर्घा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा रम्भा गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी व्यवस्था भएको गाउँपालिका समेत घोषणा गरिएको छ । रम्भा गाउँपालिका स्वास्थ्य शाखा सह–संयोजक शिवप्रसाद अर्यालले रम्भा गाउँपालिकाका पाँच वटै वडाका गर्भवती महिलाहरुले अस्पताल वा स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम रम्भा गाउँपालिका प्रशासन शाखा प्रमुख भक्तुजङ्ग रानाको संचालन तथा फोक्सिङ्गकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका संयोजक एवम रम्भा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष उमानसिं सारुको अध्यक्षतामा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।