रम्भाको बार्षिकोत्सव सम्पन्न, नीजिलाई पनि प्रक्रिया मिलाएर सामुदायिकमै ल्याउन सांसद आचार्यको आग्रह

0
246

पाल्पा । रम्भा माध्यमिक विद्यालय रम्भा गाउँपालिका वडा नं. ५ ताहुँ पाल्पाको ६७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बसन्तराज श्रेष्ठको अध्यक्षतामा संचालित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुल्सीराम अर्यालले विद्यालयको बार्षिक आर्थिक तथा अन्य शैक्षिक बिषयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले बालबालिकाका क्रियाकलाप र प्रतिभाहरूलाई बिशेष स्थान दिएकै कारण रम्भा मावि यहाँसम्मको सफल अवस्थामा आइपुगेको बताए । उनले विद्यार्थीलाई स्थानीय स्तरमा प्रचलित कला संस्कृति तथा विभिन्न किसिमका सीपको विकास गराउनुपर्नेमा समेत जोड दिए । उनले स्थानीय नीजि बिद्यालयहरुलाई समेत प्रक्रिया पुर्याएर सामुदायिकमै ल्याउन गाउँपालिकालाई सुझाव दिए ।

विशिष्ट अतिथि रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले रम्भा माविको शैक्षिक भौतिक पूर्बाधार राम्रो भएकोले नमूना विद्यालयका लागि पहल गर्नुपर्ने बताए । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेशराज पौडेलले कम विद्यार्थी संख्या भएका र दूरीमा नजिक भएका विद्यालयहरूलाई मिसाएर सम्पन्न विद्यालय बनाउदै नमूना बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा रम्भा गाउँपालिकाका शिक्षा शाखाका प्रमुख काशिराम बस्यालले शैक्षिक तथा भौतिक उन्नतिको बाटोमा बिद्यालयले पाइला चालेको भन्दै प्रशंसा गरे । कार्यक्रममा रम्भा ५ का वडा अध्यक्ष खुमकान्त बस्याल, रम्भा बहुमुखी क्याम्पसका प्रमुख दुर्गाप्रसाद अधिकारी , नेकपा रम्भा गापाका अध्यक्ष अर्जुन श्रेष्ठ , नेका प्रतिनिधि भरत कुमार श्रेष्ठ ,ताहूँ स्वास्थ्य चौकीका प्रतिनिधि विष्णु केसी , जनता प्राविका प्र अ कमला श्रेष्ठ ,जनता बैंकका प्रबन्धक वीरबहादुर सारु लगायतले बिद्यालयको सफलताको लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा विद्यालयका शिक्षिका कृष्णकला भण्डारीले शिक्षक अभिभावक र विद्यार्थीसंग सम्बन्धित रचनावाचन गरेकी थिइन् ।

कार्यक्रममा बिद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती समेत राखेका थिए । बार्षिकोत्सवको अवसरमा कार्तिक १३ गते विद्यार्थीहरु बिचमा खेलकुद र १४ गते विविध बौद्धिक कार्यक्रम समेत संचालन गरिएको थियो । बिद्यालयका शिक्षक शंकर बस्यालको स्वागतपछि सुरु भएको उक्त कार्यक्रमको सञ्चालन बिद्यालयका सहायक प्रअ कमल बस्याल र शिक्षक प्रकाशराज श्रेष्ठले गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।