गोम बिक्रमका ५ मुक्तकहरू

0
158

मुक्तक -१

पहिले जुलुस नाराबाजी, षडयन्त्र कति घुस्सा हुन्छ
सत्ता अनि पदमा पुग्दा, आश्वासन जति भुस्सा हुन्छ
आफ्नो खल्ती भर्नै पर्यो, आफ्नाको जोहो गर्नै पर्यो
ठूलाबडाको भाग नपुगी, विकास सधै फुस्सा हुन्छ ।

मुक्तक -२

शून्य भए गाउँका बस्ती, फिर्ता आउने पाइला छैनन्
झाम्रे र खेली रन्काउँथे, रसीला ती साइला छैनन्
साइलीहरू शहर पसे, विदेश जाने उतै फसे
रोगी कम्जोर बूढाबुढी, डाँडैका घाम रमाइला छैनन् ।

मुक्तक -३

कति जीवन बन्धकी छ, सिन्की खोलेमा नून लाउन
तिनकै पसिना चुस्ने बरू, सक्षम भए सुन लाउन
न त कहिले रस पाइने, न त कसैको जस पाइने
अलिक गाह्रो लाग्छ अचेल, बैगुनीलाई गुन लाउन

मुक्तक -४

कस्तो प्रीति लाउँछौ कुन्नि ? महँगो मूल्य चुकाएर
टोलैभरी हल्ला चलाई, सारा कुकुर भुकाएर
फूर्ति उस्तै ला’को देख्छु, संचारभरी छा’को भेट्छु
थाहै भए नि पर्दाभित्र, ‘कर्तुतहरू’ लुकाएर ।

मुक्तक -५

कर्तुतहरू लुकाइरहने, कहीँ कसैको खल्ति हुँदैन
निमुखालाई न्याय दिने, अन्यायीको चल्ति हुँदैन
कसूर जति टिक्दै जान्छ, इज्जत उत्ति बिक्दै जान्छ
काण्डै घटून जतिसुकै, ठूलाको गल्ति ‘गल्ति’ हुँदैन ।

गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।