पाल्पाकै चर्चित पुरानो बाटो ठुली र सानी उकाली, पहिले चहलपहल अहिले सुनसान

0
712

भोजराज तिमिल्सिना । पाल्पा
यहाँका बुढापाकाहरु अहिले पनि घर कहाँ हो भनेर परिचय गराउँदा ठूली या सानी उकालीकै नाम लिन्छन् । पाल्पा र आसपासका जिल्लाका बुढापाकाहरुमा पनि यस क्षेत्रको अहिलेको नाम भन्दा पहिलेकै उकाली नाम स्मरणमा छ ।
तिब्वतको सिमाना भोट देखि भारतसम्मका मानिसहरुको स्मरणमा अहिले पनि छोटो घोरेटो गोरेटो वाटो (उकाली) चर्चामा छ । राम्दीबाट यता फर्कने क्रममा बगनासकाली गाउँपालिकाको वडा नं. ५ दर्लमडाँडाको ओस्वाखोला देखि करिव डेढ किलोमिटर उकालो दर्लडाँडाको पसल सम्मको वाटो सानी उकालीको नामले परिचित छ । यो बाटोको बीचमा खासै बस्ती छैन । यसको सबै भुभाग दर्लमडाँडामा पर्छ ।

सानी उकाली सकिएपछि खहरेखोला अन्र्तगतको खोलाकी वुढीको घरदेखि (खहरेखोलाको किनार) वगनासकाली ९ चापपानीको वगनास सम्म करिव साढे ३ किलोमिटर उकालो बाटो छ । त्यो बाटो ठूली उकाली नामले परिचित छ । यो बाटोको बीचमा जुकिया, बाटुलीचौर, बझादी लगायतका टोलहरु रहेका छन् । यसको सबै भुभाग चापपानीमा पर्छ । दुवै उकालो भएको हुदाँ यो वाटो सानी र ठूली उकालीको नामले चिनिएको हो । जसका नाम पनि बटुवाहरुले नै राखिदिएको स्थानीय जानकारहरुको भनाई छ ।

बि.सं.२०२२ सालमा सिद्घार्थ राजमार्ग अन्र्तगत (सुनौली–पोखरा) को निर्माण हुनुभन्दा अगाडि सबै यात्रुहरु यही बाटो पैदलबाटै आउने जाने गर्दथे । स्याङ्गजा, कास्की,पर्वत, तनहुँ, लम्जुङ्ग, वाग्लुङ्ग हुदै तिव्वतको भोट सम्मका र अर्कोतिर गुल्मी अर्घाखाँची र कपिलवस्तु सम्मका पाका पुस्ताहरुले पनि यो बाटोको उपयोग गरे । अझै पनि यि क्षेत्रका पाका पुस्ताहरुले ठूली र सानी उकालीलाई विर्सेका छैनन् ।

यो बाटो छेउछाउमा त्यसताका व्यापार पनि हुन्थ्यो । काठका खाबा गाडेर स्याउलाले छाएका घर (छाप्रो) र खरको छानो र मान्द्राको गारो भएको घरमा होटलहरु संचालनमा थिए । ठूली उकाली प्रारम्भ भन्दा केही माथि त्यसबेला कानी नामकी महिलाको भट्टी पसल निकै चर्चामा थियो । अहिले त्यो ठाउँलाई कानीबारी भनेर चिनिन्छ । त्यस्तै उकाली छेउ छाउमा दर्जनौ साना पसल थिए । जहाँ स्थानीयहरुले घरमा उत्पादित फलफुल, दही, महि, दाउरा समेत लगेर बेच्ने गर्दथे ।


यो बाटोमा मानिसहरुको घुइचो नै हुन्थ्यो । यात्रा गर्ने क्रममा भए पुगेमा छाप्रोमा नभए रुखको फेदमा खुल्ला आकाश मुनि पनि वटुवाहरुले रात विताउने गरेको बगनासकाली ९ का ८७ वर्र्षिय टोपलाल तिमिल्सिनाले बताए । ढाकरमा नुन लगायत खाद्यन्नहरु बोकेर हिड्नेलाई ढाक्रे भनिन्थ्यो । ढाक्रेहरुको भिड् भाड हुन्थ्यो उनीहरु छाप्रो रुखमुनी वस्दथ्थे । लाहुरेहरु पनि यो वाटो भई ठूलाठूला बाकस बोकेर आउने जाने गर्थे । व्यापारीहरुले गधा खच्चडमा खाद्य सामान नुन, तेल, चामल, कपडा लगायत बोकाउने गर्थे । सामान वासवस्ने ठाउँमा उतारी गधा खच्चड्हरु चर्न छोडि दिदाँ वाटोको छेउछाउमा लगाइएका वालीहरु समेत खाइदिने गर्दथे । त्यतिबेला बाटोमा हिड्ने बटुवाहरुका लागि आफूले उत्पादन गरेको गोन्द्रा (ठूलो) केरा ५ पैसामा ३ कोसा बेच्ने गरेको तिमिल्सिनाले बताए ।

लाहुरेहरु भारत–वटौली पाल्पा हुदै घरमा जान र घरवाट छुट्टी पुरा गरी फेरी लाहुर जान यो बाटोकै प्रयोग गर्थे । छोटो बाटोको रुपमा रहेको यो बाटोले पोखरा, पाल्पा हुँदै बटौलीसम्म जाने र फर्कनेहरुका लागि पुलकै काम गरेको थियो । छाप्रो र रुखको फेदमा ठूलो संख्यामा वटुवा (ढाक्रे, ढाकरमा सामान वोक्ने) हरु हल्ला खल्ला गरी वस्ने गदथ्थे । उता भट्टीमा लाहुरेहरु नाच गान गर्ने दोहोरी गित गाई रमाइलो गर्ने गर्दथ्थे ।

वि.स. २०१६ सालमा राजा महेन्द्र राम्दी नजिकै चिउरीवासमा वासवसी यहि उकाली हुदै तानसेन सवारी भएको वगनासकाली ५ दर्लमडाँडाका ८३ वर्षिय ऋषिराम गैरेले वताए । राजा आउने भनेर छाप्रो वनाउन गइयो, चिउरीवास खेतमा छाप्राहरु वनाइयो, राजा संग दर्शन भेट गरी माला लगाई दियौ महाराजाको पैदल सवारी भएको थियो गैरेले थपे । चिउरीबासलाई अहिले राजा महेन्द्र बासको रुपमा पनि चिनिन्छ ।


टेलिफोनका लागि ३ लाइनको तामाको तार यहि वाटो हुदै पोखरा सम्म पुगेको थियो । आफू पोखरा पढ्न वस्दा तानसेनवाट दाइले फोन गर आमाको मृत्यु भएको खवर दिएको र आफू घरमा आएको उनले अनुभव सुनाए । अहिले ति तामाका तार कहाँ गए केही पत्तो छैन तर कतै कतै पुराना रुखहरुमा तार अड्याउन ठोकिएका फलामका किल्लाहरु भने देख्न पाइन्छ ।
बटौलीवाट खाद्यन्न सामान खरिद गरी आफै वोकेर ल्याएर यही ठाउँमा बेचेर घर गुजारा चलाउनेहरु पनि यही बाटो हिडे । ठुला व्यापारीहरुले गधा खच्चडको प्रयोग गरे भने साना व्यापारीहरु पिठ्युमै भारी बोकेर हिंडे । बगनासकाली–६ यम्घाका ७९ वर्षीय वेदराज वस्यालले २०२३ सालमा बटौलीवाट ६ रुपियाँमा १ पाथी चामल खरिद गरि १० रुपियाँमा राम्दी पारी परेवा कुनमा मोटर वाटो खनाउने शेर्पा थरका मेठलाई बेचेको अनुभव सुनाए । उनले यसरी चामल बेचेर ४ हजार ४ सय कमाएका थिए । बटौलीबाट आफूले १० देखि १२ पाथी चामल ल्याएर बेच्ने गरेको बस्यालले बताए । त्यतिबेला बाटो खन्नेहरुले प्रति दिन ३ रुपियाँ २० पैसा पाउथे । उनले भने ।
हुलाकीहरु टाढैवाट संकेत गरी भाला (एक प्रकारको लठ्ठी) वजाउदै हुलाक वोकी हिड्दथ्थे, वटौलीवाट ल्याएका मट्टीतेलको टुकी वाली भट्टीवालाले व्यपार गर्ने गर्दथ्थे । ठुली उकालीमा ३ ठाउँमा वझादी, मुलवाटा र खोलाकी वुढीको घरमा वास वस्न खानका लागि भट्टी संचालनमा रहेको र सानी उकालीमा एक ठाउँ स्वामीको फेदमा भट्टी माथि डाँडामा पसल रहेको स्थानीयहरुले बताउँछन् । यो ठाउँको नाम अहिले पनि पसल भन्ने चलन छ ।
दर्लमडाँडाकै राम्दी क्षेत्रमा वुवा आमाहरुले कपडा तथा किराना सामान विक्री गर्ने गरेको राम्दीका ७० वर्षिय नन्दकिशोर अमात्यले वताए । सानी ठूली उकाली आउने र जाने नाकाको रुपमा रहेको राम्दी मा त्यो वेलामा धेरै चहलपहल थियो व्यापार पनि वेस्सरी हुन्थ्थो । त्यो वेलालाई सम्झदा सिद्धार्थ राजमार्ग खुलेपछि व्यपारमा गिरावट नै आएको अमात्यको अनुभव छ ।
ढाक्रे ,लाहुरे र अन्य यात्रीहरुको भिड भाड्ले गर्दा वाटोमा एक्लै हिंड्दा पनि डर नहुने अवस्था त्यति वेला थियो । वुवा आमाले ठूली उकालीको वझादीमा यो क्षेत्रकै ठूलो भट्टी चलाउनुभयो, अहिलेपनि हामीलाई भट्टीका भन्छन, वगनासकाली ९ चापपानीका ७४ वर्षिय विन्दवहादुर थापाले भने । थापाका अनुसार उनको घरमा ६ वटा पाहुँना वस्ने घर हुँदा पनि सबै पाहुनालाई बसाल्न नसकिने अवस्था थियो । बटुवाहरुको भिडभाड हुन्थ्यो । आफू बुबा आमालाई सहयोग गर्ने कुखुरा, खसी गाउँतिरबाट खोजी ल्याउने काम गरेको बताउँदै थापाले २ रुपियाँ ५० पैसामा सादा भात र ३ रुपियाँ ५० पैसामा मासुसंग भात खुवाउने गरेको बताए ।

पाका पूस्ताले मात्र चिन्ने र जान्ने बनेको विषय ठूली र सानी उकाली नयाँ पुस्तामो जानकारीमा छैन । पाका पुस्ता ठूली र सानी उकालीको बाटो सम्झदै वटौलीबाट नुन तेल बोकेको कुरा नयाँ पुस्तालाई सुनाउदा अलमल पर्नु स्वभाविकै हो । अहिले हरेक ठाउँमा मोटर बाटो पुगेको छ, यात्रा सहज भएको छ । त कसरी ठूली र सानी उकालीको बाटो भनि बुझ्ने ।

ऐतिहासिक महत्व बोकेको बाटो ठूली र सानी उकालीको संरक्षणको अभावका कारण ओझेलमा परेको छ । सानी उकालीको मोटर बाटो भइ लामो बाटो प्रयोग गरी अहिले मानिसहरु हिड्ने गरका छन् । ओस्वा खोलाबाट सिधा माथि निस्कने सानी उकाली मियालका काँडाले हिडि सक्नु छैन । अर्को ठूली उकालीमा भने मानिसहरु हिड्ने गर्दा केहि हिड्न मिल्नेछ । तर उचित संरक्षण भएको पाइदैन । वनमारा काँडाले यो वाटोलाई पनि ढाकेको छ । अहिले यो बाटो खासगरि मर्दा पर्दाको रुपमा मात्रै प्रयोग भएको छ । कहिलेकाँहि सिद्घार्थ राजमार्गमा विभिन्न कारणवस गाडी नचलेका वेला पैदल मार्गको रुपमा प्रयोग हुने ठूली र सानी उकाली भई अहिले पनि मान्छेहरु हिंड्ने गर्दछन् ।

यो बाटोको उचित संरक्षण गर्ने हो भने यसलाई पर्यटकीय पैदल मार्गको रुपमा विकास गर्न सकिन्छ । यो बाटोको बीचमा दर्जन बढी धार्मिक साँस्कृतिक स्थलहरु पनि छन् । जसको अवलोकन गर्न पनि सकिन्छ । ऐतिहासिक यस क्षेत्रलाई पर्यटकीय पैदल मार्गको रुपमा विकास गरि प्रचार प्रसार गर्न सक्ने हो भने यहाँको पर्यटन प्रवर्धनका लागि धेरै हदसम्म टेवा पुग्न सक्छ ।
बगनासकाली फिचर संग्रह

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।