चापपानी पूर्ण संस्थागत सुत्केरी वडा घोषित्, बगनासकालीमा अव ३ वटा वडा बाँकी

0
174

पाल्पा । बगनासकाली गाउँपालिका वडा नं. ९ चापपानीलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा र बालमैत्री स्थानीय शासन कार्यक्रम अन्र्तगत एक कार्यक्रमका बीच प्रदेश नं ५ का सांसद बीर बहादुर रानाले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरे ।

कार्यक्रममा स्वास्थ्य चौकीका अहेव मोहन घिमिरे वडा स्तर र स्वास्थ्य चौकीको गर्भवती महिला र संस्थागत सुत्केरी प्रतिबेदन प्रस्तुत गर्दै अघिल्लो आर्थिक वर्ष वडा भित्र ४७ जना महिला गर्भवती भएको र सबै महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएको बताए । ३ वर्ष अघि जिल्ला स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन संघको सहकार्यमा यस स्वास्थ्य चौकीमा संचालित बर्थिङ सेन्टरमा आर्थिक वर्ष २०७४,०७५ मा २२ जनाले र ०७५,०७६ मा २२ जना महिलाहरुले सुरक्षित रुपमा सुत्केरी भएको उनले जानकारी गराए ।

बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले गाउँपालिकाको बालमैत्री स्थानीय शासन कार्यक्रम अन्र्तगत महत्वपुर्ण सूचकको रुपमा पूर्ण संस्थागत सुत्केरी घोषणा कार्यक्रम पनि रहेको बताए । उनले गाउँपालिका भित्रका ६ वटा वडा घोषणा भइसकेको र बाँकी वडाहरु दर्लमडाँडा, यम्घा र खानीगाउँलाई पनि छिटै घोषणा गरिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ का प्रदेश सांसद बीर बहादुर रानाले सबैभन्दा ठूलो सम्पत्ति नै शिक्षा र स्वाथ्य भएकोले पनि स्थानीय सरकारले समेत यस क्षेत्रको प्रवर्धन र सुधारका लागि आवश्यक पर्ने बजेट बिनियोजन गर्नु आवश्यक रहेको बताए । उनले भने–“स्वस्थ आमा र शिशु हुनका लागि स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउनु आवश्यक छ ।”
बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले स्वास्थ्य क्षेत्रको बिकासका लागि गाउँपालिकाले पर्याप्त बजेट सहितको कार्यक्रम बनाएको बताए । उनले स्वस्थ मानिस सहितको स्वस्थ समाज निर्माण नै आजको आवश्यकता भएको औल्याए ।

गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी दर्लामीले असुरक्षित सुत्केरी हुँदा आमा र बच्चा दुबैलाई खतरा हुने भएकोले पनि नियमित रुपमा गर्भजाच र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुनुपर्ने बताइन् । कार्यक्रममा प्रदेश नं. ५ अर्थमन्त्रालयका लेखा अधिकृत लीला अर्यालले घोषणासँगै फलोअप र निरन्तरता पाउनुपर्ने बताए ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारी, वडा नं. ८ का अध्यक्ष गणेशप्रसाद बस्याल, वडा नं. ३ का अध्यक्ष टिका बहादुर थापा, वडा नं. ४ का अध्यक्ष हुतमानसिं दर्लामी, वडा नं. ५ का अध्यक्ष इश्वर कुमार राना, इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, चन्द्र मावि चापपानीका सदस्य रणप्रताप खाँण, महिला समूहकी प्रतिनिधि सिता घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा पूर्ण संस्थागत सुत्केरी घोषणा कार्यक्रमका लागि सहयोग गर्ने बिभिन्न संघ संस्था, ब्यक्ति, महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्य चौकीका कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।

स्वास्थ्य चौकी ब्यवस्थापन समितिका उपाध्यक्ष भोजराज तिमिल्सिनाको स्वागत, वडा अध्यक्ष एवम् स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष थानेश्वर तिमिल्सिनाको अध्यक्षता र स्वास्थ्य चौकी प्रमुख सृजना चापागाईको संचालनमा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।