संस्थागत सुत्केरी वडा अभियानमा पूर्वखोला गाउँपालिका जिल्लामै पहिलो

0
84

पाल्पा । यसअघि सबै वडामा बर्थिङ सेन्टर शुभारम्भ गरि आफ्नो बेग्लै पहिचान बनाएको पूर्वखोला गाउँपालिकाका ६ वटै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषित भएका छन् । वडा नं. १ सिलुवालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरे संगै गाउँपालिकाका ६ वटै वडा पूर्ण संस्थागत सुत्केरी वडा भएका हुन् ।
यो गाउँपालिका नै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका भएको छ, यद्यपी औपचारिक घोषणा बाँकी छ । प्रदेश नं. ५ का सांसद युवराज खनालले सिलुवालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरे । पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्दै प्रदेश सांसद युवराज खनालले स्थानिय संगै संघिय र प्रदेश सरकार संविधानले प्रदान गरेको स्वस्थ्य सम्बन्धी अधिकार प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले वडा नं. १ का वडा अध्यक्ष भोग बहादुर थापा र सिलुवा स्वस्थ्य चौकी प्रमुख बसन्ता केसीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै गाउँपालिकाले संभवत प्रदेश नं. ५ मै पहिलो पटक सम्पूर्ण वडा पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न सफल भएको बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले संविधानले प्रदान गरेको अधिकार प्रयोग गरि काम शुभारम्भ गरेको बताउदै नागरिक सेवा प्रदान गर्ने दायित्व निर्वाह गरेर स्वास्थ्य संस्थामा लगानी गरिएको र यस घोषणाले सभ्यताको पहिचान दिएको बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका पब्लिक हेल्थ नर्स अधिकृत कल्पना पौडेल, पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक श्रीराज आचार्य, स्वास्थ्य शाखा उपसंयोजक मोहन ढकाल, सुआहारा कार्यक्रम पाल्पाका संयोजक ज्ञानदिप आचार्य, जनमार्ग माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हरि प्रसाद भारती, हेक्लाङ्ग स्वास्थ्य चौकीका प्रमुख अमृत श्रेष्ठ, महिला स्वास्थ्य स्वयम सेविका कमला ढकाल लगायतले पूर्वखोलाको यो अभियान निकै राम्रो भएको बताए ।
सिलुवा स्वस्थ्य चौकीका प्रमुख बसन्ता केसीले वडामा गत वर्ष ९४ जना सुत्केरी भएकोमा ४२ जनाले सिलुवा स्वस्थ्य चौकी बाट र ५२ जनाले अन्य स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएको बताइन् । वडाअध्यक्ष भोग बहादुर थापाको अध्यक्षता, सिलुवा स्वस्थ्य चौकीका प्रमुख बसन्ता केसीको स्वागत र हात्तीलेक सामुदायिक विकास बहुउद्देश्य सहकारी संस्थाका प्रमुख ज्ञान बहादुर रानाको सञ्चालनमा भएको हो । कार्यक्रमको अवसरमा वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।