एउटै गाउँको सहकारीले बेच्यो २१ लाखको खसी बोका

0
243

एवत सारु । (रम्भा) पाल्पा
उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था रम्भा २ फोक्सिङ्गकोटले झण्डै २१ लाख रुपिया बराबरको खसी तथा बोका बिक्री वितरण गरेको छ । नजिकिदैं गरेको दशैं र तिहारलाई लक्षित गरि सहकारी मार्फत २०७ वटा खसी तथा बोका विक्री वितरण गरेको हो ।

दुई दिन अघिमात्रै रम्भा २ ढुङ्गेकी बाख्रा पालक किसान हुमीकुमारी पाडेमगरले ८५ हजार २ सय रुपियाको ७ वटा खसी बोका बेचेकी छन् । उनको घरमा अझै पनि केही खसी बोका बाँकी नै छ । बेलौजाकी लक्ष्मी आलेले तीन वटा खसी बेचेर ६५ हजार रुपिया भन्दा बढी कमाएकी छन् ।

दशैं तिहारको खर्च जोहो गर्न आफुले खसी बेचेर ४७ हजार ३०० रुपिया कमाई गरेको रानीबासकी दुर्गामाया सारुले बताइन् । दशैं तिहारको समयमा सहकारी संस्थाबाट ४५० वटा खसी बोका बेच्ने लक्ष्य रहेको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक कृष्णमाया पाडेमगरले बताइन् । केही गाउँको खसी बोका बिक्री गरे पनि कोटथर, झोकेदी, खर्केहान, सुरुमडाँडा क्षेत्रको खसीबोका बेच्न बाँकी रहेको सहकारीका अध्यक्ष गंगीसरा सिंजालीले बताइन् ।

फोक्सिङ्गकोटमा हेफर ईन्टरनेशन नेपाल, स्काई समाज नेपाल तथा तत्कालिक फोक्सिङ्गकोट गाविसको त्रिपक्षीय सम्झौता अनुसार साना किसान उद्यमी सबलीकरण परियोजना लागु गरिएको थियो । परियोजना भए पछि किसानलाई बाख्रा पालनमा आकर्षित गर्न खोर सुधार, नस्ल सुधार, दानापानी व्यवस्थापन, औषधी उपचारका साथै बजार व्यवस्थापनका क्षेत्रमा प्राथमिकता दिई कार्यक्रम संचालन गएिको थियो । फोक्सिङ्गकोटका ३६ वटा समूहलाई परिचालन गरि बाख्रा पालनमा जोड दिईएको थियो ।

अहिले फोक्सिङ्गकोटको ६ स्थानमा खसीबोका संकलन केन्द्र स्थापना गरिएको छ । खसी बिक्री गर्दा खरिदकर्ताबाट प्रति किलो ५ रुपिया सहकारीलाई पनि आम्दानी हुने गरेको छ । सहकारीले राम्रो गर्दै गएपछि स्थानीय समाजसेवी विष्णुकुमार सिंजापतीले कार्यालय निर्माण गर्न निशुल्क जग्गा प्रदान गरेका छन् । २ नं. वडा कार्यालय, रम्भा गाउँपालिका र ५ नं. प्रदेश सरकारको सहयोगमा भवन समेत निर्माण गरिएको छ । सहकारीले भोलीका दिनमा बाख्रा पालनका साथै लोकल जातको कुखुरा पालन, गेडागुडी तथा फलफुल उत्पादनमा समेत प्राथमिकता दिनुपर्ने हेफर ईन्टरनेशनलका कार्यक्रम अधिकृत अनन्त सिलवालले बताए । खसी बोकाको बजार प्रवर्धन र व्यवस्थापनामा आर्थिक विकास संघ रेडाले हात हाले पछि व्यवस्थापन अझ चुस्त भएको रेडाका झविन्द्र भण्डारीले बताए । बाख्राको बिमा गर्न थाले पछि किसानहरु ढुक्क भएर पाल्न थालेका छन् । तस्बिर गुगल

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।