दशैं लागेसँगै पाल्पा भैरवस्थान मन्दिरमा दशनार्थीको घुइचो, ३ दिन निःशुल्क बस सेवा

0
737

पाल्पा । ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व सहितको पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरमा घटस्थापनाको दिनदेखि नै दशनार्थीको संख्या बढ्दै गएको छ ।

तानसेन तम्घास सडक खण्ड अन्र्तगत रिब्दीकोट गाउँपालिकामा अवस्थित यस मन्दिरमा वार्षिक करिब१० लाखसम्म आन्तरिक र १० हजारसम्म बाह्य पर्यटक भित्रने गरेकोमा दशै अवधिमा मात्र कम्तीमा ५० हजार बढी दशनार्थी आउने अपेक्षा गरिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले बताए ।

पाल्पा सहित गुल्मी अर्घाखाँची, स्याङजा लगायतका मानिसहरुमा बर्षमा १ पटक रोट चढाउन भैरवस्थान मन्दिरमा आउने प्रचलन रहेको छ । खासगरि यो अवधिमा जिल्ला र देशबाहिर रहेकाहरु समेत आफ्नो घर फर्कने भएकोले पनि मन्दिरमा आउनेहरुको संख्या बढि हुन्छ । अर्कोतर्फ भाकल गर्नेहरु समेत भाकल पुरा गर्न नवरात्रीको समयमा मन्दिरमा आउने गर्दछन् ।

मन्दिरमा आउने भक्तजनहरुका लागि सहज होस् भन्ने उद्देश्यले समितिले तानसेनबाट मन्दिरसम्म जान आउनको लागि दशैको सप्तमी, अष्टमी र नवमीको दिनको लागि निःशुल्क बस सेवा समेत संचालन गर्ने अध्यक्ष अधिकारीले बताए । यो अवधिमा दैनिक १५ हजारसम्म भक्तजनहरु आउने भएकोले सहज रुपमा दर्शन गर्नका लागि प्रवन्ध मिलाइएको, अपांगता भएका ब्यक्ति, जेष्ठ नागरिक र गर्भवती महिलाका लागि समेत लाइनमा बस्नु नपर्ने गरि प्रवन्ध गरिएको उनले बताए ।

पछिल्लो समय मन्दिरको आम्दानीबाट मन्दिरका विभिन्न भौतिक संरचना निर्माण, मर्मत, सरसफाइ, पूजा व्यवस्थापनलगायत क्षेत्रमा खर्च हुने गरेको छ । पाल्पाका तत्कालीन सेन वंशीय राजा मणिमुकुन्द सेनले १६ औँ शताब्दीमा भैरव बाबा उत्पत्ति भएको ठाउँमा यो मन्दिर निर्माण गरेका थिए । मन्दिरसँगै रहेका पौवाबाट मणिमुकुन्द सेनले नियमित भैरवको आराधना गर्ने गर्दथे । विसं २०१४ सालमा तत्कालीन राजा महेन्द्र दर्शनका निम्ति यहाँ आएपछि यसको महत्व झन् बढ्दै गएको समितिका सचिव नवराज ज्ञवालीले बताए ।

विश्वको सबैभन्दा ठूलो पुरानो त्रिशूल रहेकाले पनि पर्यटकको आकर्षण बढेको हो । पौराणिक मान्यताअनुसार पाल्पा गौँडाका प्रमुख राजा खड्क शमशेरले आफ्नी रानीको इच्छाअनुसार मन्दिरमा त्रिशूल चढाएका थिए । त्रिशूलमा सुनको लेपन लगाइएको हुँदा जतिबेला पनि नयाँ र ताजा जस्तै देखिन्छ । त्यस्तै मन्दिरको अर्को विशेषता भाकलस्वरुप ल्याइएका पशुको बलि दिँदा खुकुरी, खुर्पा र दाउलाई अहिलेसम्म धार नलगाइकन एकै पटकमा सजिलैसँग काटिने गरेको यहाँका समुदाय बताउँछन् । दशैँको नवरात्र, वैशाख र मङ्सिरमा बढी भीड लाग्ने लाग्दछ । यद्यपी यहाँ बाहै्र महिना पुजाआजा र अवलोकनका लागि मानिसहरु आउने गर्दछन् । यहाँबाट विभिन्न हिमशृङ्खलाको पनि दृश्य अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढी देखिन्छ ।

मन्दिरको आडैमा रहेको सुन्दर पार्कले नयाँ पुस्तालाई लोभ्याएको छ । सुन्दर बगैँचा, लहलह झुलेका विभिन्न प्रकृतिका फूलहरुले हिजोआज बुढापाका, युवायुवती र बालबालिकाको पनि मन लोभ्याइरहेको छ । हालै मन्दिर परिसरमा १७ वटा सिसि क्यामेरा समेत जडान गरिएको छ ।
यो मन्दिरले ४ सय वर्ष पुरानो इतिहास बोकेको छ । दुई तलामा रहेको मन्दिरको माथिल्लो भागमा बटुक भैरवको मूर्ति र तल्लो भागमा भयङ्कर महाकाल भैरवको मूर्ति छ । महाकाल भैरव मूर्तिलाई कालो कपडाले छेकिएको छ । काल भैरवको मूिर्त विकराल भएकाले पुजारी, दर्शनार्थी कसैलाई पनि हेर्न दिइँदैन । यो मूर्ति देख्ने बित्तिकै तर्सिने, झस्किने भएको हुँदा प्राचीनकालदेखि नै मन्दिरका पुजारीले मूर्ति अगाडि छोपिएको कालो कपडा बाहिरबाट पूजा गर्ने गर्दछन् । महाकाल भैरव रहेको कोठामा सयौँ वर्षदेखि अखण्ड ज्योति बलिरहेको रहेको अध्यक्ष अधिकारीले बताए ।

भैरव बाबासँग भाकल गरेमा मनोकामना पूरा हुने विश्वासले विभिन्न ठाउँबाट आउने दर्शनार्थीले प्रसादस्वरुप रोट चढाउँदै आएका छन् । यहाँ हाँस, कुखुरा, बोका, पाडाको पनि बलि दिने गरिन्छ । यो समयमा पञ्चवली लैजाने पनि गरिन्छ । पाल्पा सहित छिमेकी जिल्लाका मानिसहरुले देश बिदेश जाने बेला वा अन्य मनोकामना पुरा होस् भनि भाकल गर्ने र मनोकामना पुरा भएपछि भाकल अनुसारको पुजाआजा गर्ने प्रचलन रहेको छ । मन्दिर निस्कने बाटोमा रिब्दीकोट गाउँपालिकाले कोसेली घर संचालन गरि यस क्षेत्रको उत्पादनको प्रवर्धन गर्दै आएको छ ।
फोटो फाइल

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।