२५ दिन बाटो बन्द, दशैंको बेला फोक्सिङ्गकोटमा खाद्यान्न अभाव

0
351

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका–२, फोक्सिङ्गकोट पाल्पामा विगत २५ दिन देखि सडक अवरुद्घ हुँदा स्थानीय मर्कामा परेका छन् । लगातारको झरीले ठाउँठाउँमा मोटरबाटो अवरुद्घ हुँदा सवारी साधन चल्न सकेको छैन ।

लामो समय सम्म सवारी साधन नचल्दा रानीबास, झर्लेङ्ग, कोटथर, भञ्ज्याङ्गथोक, बेलौजा, गाबुडाडाँ लगायतका गाउँमा रहेका किराना पसल रित्तिन थालेका छन । बिरामीलाई बोकेर अस्पताल पु¥याउनु पर्ने अवस्था आएको छ । गाउँपालिका केन्द्र पिपलडाँडा र सदरमुकाम तानसेन हिंडेर पुग्नुपर्ने बाध्यता बनेको छ । वडाको पूर्वी नाका रिमीघा लेकको लभडाँडामा पहिरोले बाटो पुरिंदा जीप तथा मोटरसाईकलका सवारी साधन चल्न सकेको छैन । पहिरोले पैदल यात्रुलाई समेत आवतजावत गर्न असजिलो र असुरक्षित बनाएको छ ।

फोक्सिङ्गकोटको पश्चिम नाका वडा कार्यालय, रानीबास हुँदे तानसेन जाने खण्डको रानीबासको लम्भारमा पहिरो जाँदा बाटो अवरुद्घ भएको छ । यात्रुहरु घण्टौं हिंडेर लम्भार सम्म पुगी जीपबाट तानसेन जान्छन भने बेलुका घर फर्कदा लम्भारबाट हिंडेर घर पुग्न बाध्य भएका छन् । दशैं नजिकिदै गर्दा पढ्न गएका विद्यार्थी र भारतमा नोकरी गर्न गएकाहरुको फर्कने क्रम बढदै गए पनि उनीहरु आफ्नो सामान बोकेर हिंड्दै आएको देख्न सकिन्छ । वडाको झर्लेङ्ग हुदै तानसेन जाने मोटरबाटो तथा गाबुडाँडा झेस्काङ्ग हुँदै तानसेन जानेबाटो समेत लामो समय देखि अवरुद्घ रहेको छ । रम्भा गाउँपालिकाले डोजर लगाई बाटो सफा गरे पनि लगातारको पानीले गर्दा बाटो बारम्बार अवरुद्घ हुदै आएको छ । घाम लागे पछि तुरुन्तै बाटो सफा गरिने वडा अध्यक्ष उमानसिं सारुले बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।