फोक्सिङ्गकोटलाई पूर्ण सरसफाई वडा घोषणा गरिने

0
224

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका–२, फोक्सिङ्गकोट, पाल्पालाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिने भएको छ ।

खानेपानी, सरसफाई तथा स्वच्छता समितिको बैठकले पूर्ण सरसफाई उन्मुख वडाका लागि निर्धारित धेरै सूचक पूरा भएकोले कार्तिक १७ गते पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिने निर्णय गरिएको हो । बैठकमा साविकका वडालाई आधार बनाईएका वडा संयोजकहरुबाट आआफ्नो क्षेत्रमा सरसफाई सम्बन्धी भए गरेका प्रगति विवरण प्रस्तुत तथा समीक्षा समेत गरिएको छ ।

बैठकमा फोक्सिङ्गकोटमा ९५% बढी घरले फिल्टरको प्रयोग गरि शुद्घ पानी खाएको, शत प्रतिशत घरमा शौचालय भएको र सो मध्ये ९०% शौचालय सफा रहेको, ६०% घरकुरीयामा घरपालुवा जनावर व्यवस्थित गरेको, महिनावारी हुने महिलाको सरसफाईमा पहुँच पुगेको, भान्साकोठा सरसफाई भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । बैठकले नम्ताहा र पिपर्दीमा तुरुन्तै स्थानीय तवरबाट अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

रम्भा गाउँपालिकाको वडा नं. ४ हुमीन र वडा नं. ५ ताहुँलाई गत वर्ष पूर्ण सरसफाई वडा घोषणा गरि सकिएको छ । गाउँपालिकाले फोक्सिङ्गकोट, पिपलडाडाँ र हुँगीलाई केन्द्रित गरि पूर्ण सरसफाई सम्बन्धी कार्यक्रम संचालन गरिरहेको छ । पूर्ण सरसफाई वडा घोषणाको लागि चर्पीको गुणस्तर तथा प्रयोग, व्यक्तिगत सफाई, सही हात धुने विधि, खानेपानीको सुरक्षा, खानाको स्वच्छता र घरआँगनको सरसफाई गरि ६ शीर्षकमा २२ वटा सूचक निर्धारण गरि सरसफाईका कार्यक्रम चलाईएको छ । बैठकमा वडा अध्यक्ष उमानसिं सारुले आफ्नो नीजि खर्चमा वडाका ७ वटा विद्यालयलाई १६ वटा फिल्टर समेत प्रदान गरेका थिए ।

बैठक सुआहारा नेपालका फिल्ड सुपरभाईजर कुश्माखर पाण्डेको सहजिकरण र वडा अध्यक्ष एवम् वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समितिका अध्यक्ष उमानसिं सारुको अध्यक्षतामा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।