एउटा बालक जसको दैनिकी गोठमा बाधिएर बित्दैछ

0
795

डिल्लीराज पंगेनी । (पुर्वखोला) पाल्पा
सामाजिक सञ्जालभरि बाल दिवसका चर्चा छन् । बिभिन्न प्रतियोगिता र बिजयीहरुका समाचार आइरहेका छन् । “सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको मुल आधार” भन्ने मुल नारासहित आइतवार देशभर राष्ट्रिय बाल दिवसका अवसरमा बिभिन्न रचनात्मक कार्यक्रमहरु संचालन भए ।

बाल दिवसको अवसरमा भविष्यका कर्णधार समेत रहेका बालबालिका र उनीहरुको उज्जवल भविष्यबारे चर्चा भएपनि पूर्वखोला गाउँपालिका–१ सिलुवा ढाक्रेबासका ९ बर्षीय बालक माधव सारु भने गाई भैसी बाध्ने गोठमा गाई भैसी सरह नै बाधिएरै दैनिकी बिताउँदै आएका छन् । उनलाई दिनभरि नै यसरी कहिले घरको पिढीमा त कहिले गोठमा यसैगरि बाँधेर राख्ने गरिएको छ ।

माधव बोल्न जान्दैनन्, उनी आफै खान पनि सक्दैनन् । त्यसै छोड्दा धेरै पटक हराएको र कता जान्छन् जान्छन् भन्ने डरले उनी हिड्ने भएदेखि नै यसैगरि बाधेर राख्न थालिएको उनका बावु डिल बहादुर सारुले बताए । खाना खाने बेलामा पनि समाएर खुवाउनुपर्ने र राति सुत्ने बेलामा समेत खाटमा बाँधेरै सुताउनुपर्ने उनकी आमा मिना सारुले बताइन् । “राति घर भित्र लगेर सुताउँछौं, बिहान भएपछि गोठमा ल्याएर यसैगरि बाँधेरै राख्ने हो ।” उनले भनिन् । माधव आफ्नै सुरमा हास्ने, हिस्करिने र आफु वरपरको माटो भत्काउने बिगार्ने छन् ।
माधव सारु दम्पत्तीका कान्छा छोरा हुन् ।

माधवका ११ वर्षीय दाजु नारायण पनि अपांग छन् । उनी पनि सुन्न र बोल्न सक्दैनन् । तर दिनभरि बेवारिसे अवस्थामा गाउँ डुलेर साँझ घर फर्कन्छन् । उनीहरुकी २ वर्षीया बहिनी पनि छन् । तर बहिनी भने बोल्न थालिसकेकी छन् । बाँधेर राख्दा उसले अन्यत्र बिगार गर्ने डर नहुने र श्रीमान श्रीमतिमध्ये १ जनाले उसलाई पनि हेर्दै घरायसी काम गर्ने र गरेको र अर्कोले बाहिरी काम गर्ने गरेको सारु परिवारले जनायो ।

गाउँपालिका मार्फत हालै संकलन भएको अपांगता सम्वन्धी तथ्यांकमा दुबै जनाले रातो कार्ड पाउने बताएको उनीहरुका बावु डिल बहादुरले बताए । खेती किसानी र ज्याला मजदुरी गरि दैनिकी गुजार्दै आएका सारु परिवारले आर्थिक अभावमा छोराहरुको उपचार गराउन नसकेको बताए । धेरै जनाले उपचार गराउने हो भने बोल्न नसकेपनि अरु समस्या समाधान हुन्छ भनेपनि पैसा नहुँदा आफुहरुले छोराहरुलाई उपचारको लागि अस्पताल लैजान नसकेको उनले बताए । सारु परिवार अहिले पनि खरको छानोमै छन् ।

पुर्वखोला गाउँपालिका १ सिलुवका वडा अध्यक्ष भोग बहादुर थापाले जनताको सुख दुःखमा स्थानीय सरकार सधैं साथमै रहने बताए । उनले यसबारे बिस्तृत रुपमा बुझि वडा कार्यालय र गाउँपालिका कार्यालयले गर्ने सबै प्रकारका सहयोग गरिने समेत बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।