बिमा सुविधाले बिरामीलाई झनै गाह्रो

0
1157

पाल्पा । सरकारले कुनै पनि नेपाली पैसा नभएकै कारण उपचारबाट बञ्चित हुनु नपरोस् भन्ने योजनाका साथ ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत बिमा गरेका बिरामीहरुले टिकट लिनकै लागि सास्ती बेहोर्नु परेको छ ।

बिमा कार्यक्रम अन्र्तगत एक परिवारमा ५ जनाको एकमुष्ट ३५ सय रुपैयाँ बुझाएपछि उक्त परिवारले वर्षभरिमा १ लाख रुपैयाँ बरावरको उपचार निःशुल्क पाउने ब्यवस्था रहेको छ । त्यस्तै ५ जना भन्दा बढी ब्यक्ति भएको परिवारले ५ जना भन्दा माथि प्रति ब्यक्ति ७ सय रुपैयाँ बुझाउनुपर्ने र त्यसबापत थप प्रति सदस्य २० हजारको उपचार सुविधा पाउने कार्यक्रम रहेको छ ।
बिमितले पहिलो पटक सरकारी अस्पताल उपचारका लागि जानुपर्ने र त्यहाँ उपचार सम्भव नभए सरकारी अस्पतालले नै अन्य अस्पतालमा रिफर गर्न पाउने ब्यवस्थाका कारण सरकारी अस्पतालमा बिरामीहरुको भिडभाड लाग्ने गरेको हो । बिमा कार्डको नम्बर सहित बिरामीको डिटेल कम्प्युटरमा इन्ट्री गर्नुपर्ने भएकोले १ जना बिरामीको नाम दर्ता गर्न कम्तीमा २ मिनेट समय लाग्छ । अस्पतालमा २ वटा स्थानबाट बिरामीको नाम दर्ता काम गरिएपनि पर्याप्त हुन सकेको छैन ।

अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्ति विना नै स्वास्थ्य विमाको कार्यक्रम सञ्चालन हुँदा समस्या भएको हो । स्वास्थ्य विमा कार्यक्रम सरकारी अस्पतालबाट सञ्चालन गर्ने भनियो तर विमा सम्बन्धी काम गर्ने र आवश्यक औषधि, जनशक्ति र व्यवस्थापन नहुँदा समस्या थपिएको हो । बगनासकाली १ चिर्तुङधाराका ढाल बहादुर झेडीले स्वास्थ्य बिमा कार्यक्रमले बिरामी खुशी हुुनुको साटो उल्टै धेरै सास्ती पाएको बताए ।
पछिल्लो समय तानसेन नगरपालिका सहित जिल्ला अन्य स्थानीय तहहरुले समेत विपन्न, दलित, स्वास्थ्य स्वयम्सेविकालाई समेत लक्षित गरेर स्वास्थ्य विमा गरिरहेका छन् । यसबाट समग्र सर्वसाधारण उत्साहित भएपनि रिफर बनाउँदा झेल्नुपरेको समस्याले विमा गरेका सेवाग्राही निरास भएका छन् । सरकारले हाल पाल्पा सहित ४७ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम संचालनमा ल्याएको छ ।
पाल्पा जिल्लामै मात्रै हालसम्म ३८ हजार ३ सय ३ घरपरिवारका १ लाख ५० हजार ४ सय ९० जनाको स्वास्थ्य बिमा भएको स्वास्थ्य बिमा बोर्ड पाल्पाका प्रमुख त्रिलोचन गैरेले बताए । यी सबै ब्यक्तिहरु बिरामी पर्दा रेफर लेटर बनाउनकै लागि जिल्ला अस्पताल आउनु अनिवार्य छ । पाल्पा मात्रै नभएर छिमेकी जिल्लाहरु अर्घाखाँची र स्याङजाका पाल्पा पायक पर्ने बिमा गरेका बिरामीहरु समेत उपचार तथा रेफर लेटर बनाउन यही अस्पतालमा आउने गरेका छन् । यस क्षेत्रमा नाम चलेका युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज समेत पाल्पामै रहेकोले ती अस्पतालमा उपचारका लागि जानका लागि रेफर लेटर बनाउनकै लागि बिरामीहरु जिल्ला अस्पताल आउने गरेका छन् ।

कम जनशक्ति धेरै काम
जिल्ला अस्पताल पाल्पामा एकातिर पर्याप्त छैन । हाल अस्पतालमा स्थायी दरबन्दीमा २ जना र ४ जना छात्रबृत्तिका करार डाक्टर रहेका छन् । यसरी हरेक दिन एक जना डाक्टरले कम्तीमा १ सय देखि १ सय ५० जना सम्म बिरामी हेर्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुष्प ज्ञवालीले बताए । उनले भने–“रेफर दिने बिरामीहरुलाई समेत साधारण जेकजाच गर्नुपर्छ, उनीहरुको समस्या के हो भनेर रेफर लेटरमा लेख्नुपर्ने भएकोले झनै समस्या भएको छ ।” उनले भने । साधारणतया १ जना डाक्टरले प्रति दिन २५ जना सम्म बिरामी हेर्न सक्ने भएपनि यहाँ एकै डाक्टरले ६ गुणा बढी बिरामी हेर्नुपरेको उनले बताए ।

अस्पतालमा न पानी न पार्किङ
पाल्पा अस्पताल साँघुरो स्थानमा छ । जसका कारण बिरामीहरु समेत सहज रुपमा लाइनमा बस्न समेत पाउँदैनन् । अर्कोतर्फ अस्पतालमा पानीको समस्या छ । बिरामीको चाप बढे अनुसार अस्पताल बिकास समितिले खानेपानी तथा सौचालयका समेत पानी पर्याप्त पु¥याउन सकेको छैन । पर्याप्त सौचालय समेत छैन । अस्पताल बिकास समितिको खातामा अहिले ८० लाख रुपैयाँ बढी रकम रहेपनि यो समितिले बिरामीलाई पर्याप्त पिउने पानीको समेत ब्यवस्था गर्न सकेको छैन । यो समितिको अध्यक्षमा हालसम्म जिल्ला समितिका प्रमुख रहने ब्यवस्था छ । तर समिति निष्क्रिय छ । समितिका पदाधिकारी स्वयम् समस्या समाधानमा उन्मुख छैनन् । समितिका अध्यक्ष दयाराज बस्यालले बिमा समस्या मन्त्रालयबाटै सहज हुनुपर्ने बताउँछन् । अस्पतालको आन्तरिक ब्यवस्थापन सहित खानेपानी ब्यवस्थापनका लागि आफुहरुले केही पहल गरेको उनले बताए । तर पहल अनुसारको कुनै काम भएको देखिदैन । अस्पताल परिसरमा एम्बुलेन्स लगायत बिरामी ल्याउने गाडीहरु पार्किङ गर्ने स्थान समेत छैन ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।