तानसेन नगरपालिकामा फाटेको मन सिलाउने विधि

0
366

गोविन्द भट्टराई । पाल्पा
हामी जो सुकैले पनि कुरामा विवाद रहित समाजको कल्पना गर्न सकिन्छ तर सो कुरा व्यवहारमा प्राय भेटिदैन् । अर्थात् विवादरहित परिवार, समाज हुँदैन । जिवन्त समाजमा विवाद रहेकै हुन्छ तर विवाद भएपछि यसको समाधानका लागि उचित पद्दतीको प्रयोग गर्न जरुरी हुन्छ ।

त्यसका लागि दुवै पक्षलाई पराजय वोध नहुने मेलमिलाप पद्धति बिकास मार्फत् समाजमा दिगो शान्ती स्थापना गर्ने उद्देश्यले एसिया फाउडेशनको आर्थिक सहयोग र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको प्राविधिक सहयोगमा तानसेनमा फाटेका मन मिलाउने विधि अवलम्वन गरिएको छ । विवादलाई समयोचित रुपमा व्यवस्थापनका लागि यो विधि उपयोगी हुने ठानेर तानसेन नगरपालिकामा गत साता १० दिने वडास्तरको मेलमिलापकर्ता छनौट तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तानसेन नगरपालिकको १४ वटै वडामा सञ्चालित उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि लगायत वडा भित्र रहेका टोल विकास संस्थाका प्रतिनिधि साथै अन्य सरोकारवालाको उपस्थिीति रहेको थियो ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले वडास्तरको अभिमुखिकरण कार्यक्रममा आफ्नो भनाइ राख्दै संविधानले तीनतहको सरकार निर्माण गरी जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकारलाई अरु अधिकारसँगै न्यायिक अधिकारको समेत व्यवस्था गरेको बताए । न्यायिक अधिकार प्रयोग गर्न अलमल भइरहेको अवस्थामा यस संस्थाले गरेको कार्य स्वागतयोग्य भएको बताउदै दक्ष मेलमिलाप कर्ता उत्पादन गरी तल्लो तहमा न्यायमा पहुँच नपुगेकालाई न्यायिक पहुँच पुर्याउन प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरि दुवै पक्षले पराजयवोध नगर्नेगरी न्यायनिरुपण गर्ने बताए ।

तानसेन नगरपालिका उपप्रमुख एवम् न्यायिक समिति संयोजक लक्ष्मीदेवी पाठकले संविधानको धारा २१७ बमोजिम स्थानीय तहमा न्यायिक समिति गठन भइ स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा ४७ अधिकार क्षेत्र भित्रका जम्मा ६५ विवाद दर्ता भइ ४७ (१) बमोजिमको १ विवाद न्यायिक समितिले निरुपण गरेको र ४७(२) बमोजिमका ४४ विवादमा पक्षहरुलाई जुटाएर छलफल पश्चात मिलापत्र गराईएको बताइन् । पाठकले मिलापत्रहुन नसेकेका २ वटा विवादलाई अदालत पठाईएको र ३ विवाद जिल्ला प्रशासन कार्यालयमा पठाइएको बताइन् । यसरी विवाद समाधान गर्दा गतवर्ष देखि नै वडाबाट नै सम्वन्धित समाजमा रहेका विवाद समाधान गर्ने उद्देश्यले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरी वडाबाट नै दुवै पक्षलाई जितजितको अनुभूति गराउने किसिमबाट न्याय सम्पादन गर्न खोजेकोमा केही चुनौतीको सामना समेत गर्नु परेको उनले बताइन् । पाठकले यस वर्ष प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले प्रत्येक वडामा कम्तिमा ६ जना दक्ष मेलमिलापकर्ता उत्पादन गर्ने भएकोले अब मेलमिलाप केन्द्रलाई व्यवस्थित गरी वडातहबाट विवाद समाधान गर्ने र न्यायमा पहँच स्थापित नभएकालाई समेत वडावडामा न्याय सम्पादनको अभ्यास थालेर पहुँच पुर्याउने बताइन् ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुपबहादुर थापाले मानिसका शरीरका टुटेका अङ्गहरु सिलाएर जीवन बचाउँने अस्पताल त थुप्रै बनेकाछन् तर फाटेको मन सिलाएर अर्थात् मिलाएर जीवन बचाउँने विधि वा उपचारमा भने हाम्रो ध्यानपुग्न सकेको छैन भने । थापाले समाजमा विवाद सुरुवात हुँदा आफ्नो विवादको आफैँ समाधान खोज्न दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मूलनाराका साथ २०७० सालमा उक्त संस्थाको स्थापना भएको बताए । स्थापनाकाल देखि हालसम्म रसुवा, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र दोलखा जिल्लाका ३८ गाउँपालिका र १३ नगरपालिकाहरुमा द एसिया फाउण्डेशनको सहयोगमा ४०४ मेलमिलाप केन्द्र र ३४१५ मेलमिलापकर्ताको माध्ययमबाट ७३३४ अन्तरव्यतिm विवाद समाधान गरी सम्बन्ध सुधार सहित आपसमा मेलमिलाप भइ दिगोशान्ति निर्माणमा सहयोग पुगेको निर्देशक थापाले जानकारी गराए । यस अभियानलाई देशभरीका स्थानीयतहमा विस्तार गरी समाजमा दिगो शान्ति स्थापना गरीनुपर्ने कुरामा समेत थापाले जोड दिए ।

द एसिया फाउन्डेशनका प्रदेश नं.५ का फिल्ड संयोजक चुरामणी पोखरेलले स्थानीय सरकारलाई संविधानले दिएको अधिकार प्रयोग गर्न अलमल परिरहेको सन्दर्भमा द एसिया फाउन्डेसनले स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तरगत विभिन्न साझेदार संस्थाहरुको माध्यमबाट तानसेन नगरपालिकालाई विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको बताए । द एसिया फाउन्डेसनको साझेदार संस्था प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको प्राविधिक सहयोगमा सामुदायिक मेलमिलापकर्ता उत्पादन गरी स्थानीय स्तरमा हुने सानातिना विवादलाई स्थानीय स्तरमै मेलमिलापको माध्ययमबाट समाधान गरी विवादित पक्षको विवाद समाधानमा लाग्ने समय र खर्च समेत कम गरी समाजमा दिगोशान्ति स्थापना गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको संयोजक पोखरेलले बताए ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका सिन्धुपाल्चोक जिल्लाका कार्यक्रम संयोजक एवम् तानसेन नगरपालिका वडास्तरिय अभिमुखिकरण कार्यक्रमका सहजकर्ता ठाकुरराम चौलागाईले २०७२ सालमा सविधान जारी गरी स्थानीय तहलाई बिवाद समाधानको न्यायिक निकायको रुपमा स्वीकार गरिएको र मेलमिलापलाई बिवाद समाधानको महत्वपूर्ण पद्धतिको रुपमा आत्मसात गरिएको बताए । साथै सबिधानमा आधारित रहेर स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले वडातहसम्म स्थानीय बासिन्दाले वडामा रहेको मेलमिलाप केन्द्रबाट सेवा प्रयोग गर्ने अवसर प्राप्त गर्न सक्ने बताए । यस किसिमका अधिकारलाई एकरुपता कायम गर्ने मेलमिलाप ऐन २०६८ र नियमावली २०७० बमोजिम तानसेन नगरपालिकाको प्रत्येक वडाबाट योग्यता पुगेका कम्तीमा ६ जना दक्ष मेलमिलापकर्ता छनौट गरी मेलमिलाप परिषदबाट स्वीकृत पाठ्यक्रममा आधारित रहेर ४८ घण्टाको तालिम प्रदान गरिने र सोही तालिम पश्चात प्रत्येक वडावडामा मेलमिलाप केन्द्र स्थापना गरी सर्वसाधारण नागरिकलाई वडातहमा नै दुवै पक्षलाई जितजितको महसुस गराई न्यायमा सहज पहुँच स्थापना गर्ने संस्थाको लक्ष्य रहेको संयोजक चौलागाईले बताए । यस खालको अभ्यासले स्थानीय स्तरमा न्याय निरुपणका लागि टेवा पुग्ने तानसेन नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक लक्ष्मीदेवी पाठकको धारणा छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।