सि.एम.ए संघले मनायो आफ्नो १६ औँ स्थापना दिबस

0
80

भैरहवा । नेपाल सिएमए संघले आफ्नो १६ औँ स्थापना दिवस देश भर मनाएको छ । नेपाल सिएमए संघ रुपन्देहीले पनि भैरहवामा रक्तदान कार्यक्रम सहित आफ्नो १६ औ स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा नेपाल सिएमए संघका केन्द्रिय उपाध्यक्ष एवम ५ नं प्रदेश ईन्चार्ज गोपाल उपाध्यायले देशका विकट स्थानमा पुगेर गरिव जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेका सिएमए उत्तिर्ण गरेका स्वास्थ्यकर्मीहरु राज्य बाट उपेक्षित भएको आरोप लगाए । उनले सरकारले सिटामोल पुर्याउन नसकेको ठाउँमा सिएमए पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहँदा सिएमए हरुलाई उचित स्थान नदिएको, माग प्रति बेवास्ता गरेको र स्वास्थ्य व्यवसाय गर्नमा पनि रोक लगाएकोमा दुख व्यक्त गरे ।उनले सिएमए हरुले आफ्नो श्रमबाट त विरामीहरुलाई सेवा गरेकै थिए अव आफ्नो रगत पनि विरामीलाई दिएर मानविय कार्य गर्न पछि नपर्ने उद्धेश्यले रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको बताए ।

कार्यक्रमका विशिष्ठ अतिथि नेपाल सिएमए संघका केन्द्रिय सदस्य जनकराज पन्तले चिकित्सकको अनुपस्थितीमा सिएमए हरुले गरेको स्वास्थ्य सेवाको कदर राज्यले गर्नुपर्नेमा जोड दिए । उनले नेपाल सरकारले सिएमए उत्पादन गर्नका लागि टेक्निकल कलेजहरु स्थापना गर्न दिएको तर ती टेक्निकल कलेजहरुवाट उत्पादन भएका सिएमए हरुलाई न त रोजगार नै दिन सकेको न त स्वरोजगार नै हुन दिएको आरोप लगाए । उनले माफिया हरुलाई पैसा कमाउने थलोका रुपमा मात्र कलेज सञ्चालन गर्न दिएको समेत आरोप लगाए ।

नेपाल सिएमए संघ रुपन्देहीका अध्यक्ष शशीकान्त उपाध्यायले जति सिएमएले देश र जनताको लागि सेवा गरिरहेका छन् , सो अनुरुपमा देशले सिएमएहरुलाई वास्ता नगरेको आरोप लगाउँदै यदि सिएमएहरुलाई उचित दर्जा,स्वारोजगारमुलक पेशा गर्न नदिने हो भने सिएमए उत्पादन किन गर्न दिने भनि सरकारसंग प्रश्न गरे । उनले नेपालमा रहेका १ लाख सिएमएहरुले चिकित्सक पुग्न नसकेको स्थानमा गएर स्वास्थ्य सेवा दिईरहदा पनि सरकारले सिएमएहरुलाई वास्ता नगरेकोमा दुख व्यक्त गरे ।

नेपालमा रहेका सिएमएहरुको हक अधिकारको सुनिश्चितता र गाउँगाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले आज भन्दा ठीक १६ बर्ष अगाडि अर्थात २०६० भदौ २५ गते सुदुर पश्चिमको कैलालि जिल्ला को अत्तरियामा संस्थापक अध्यक्ष गणेश साउदको अध्यक्षतामा ११ जना संस्थापक सदस्यहरुद्धारा गठित नेपाल सिएमए संघमा हाल ५० हजार सदस्य आवद्ध रहेको र देशका ६५ जिल्लामा शाखा कार्यालय स्थापना भएको संघका केन्द्रिय संरक्षण समितिका सदस्य भवानी पोखरेलले बताईन् ।

स्थापना दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रम बाट २० पिन्ट रगत संकलन भएको सचिव रणजित कुमार हलुवाईले जानकारी दिए । रक्त संकलन मा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको प्राविधिक सहयोग रहेको थियो ।

नेपाल सिएमए संघ रुपन्देहीका अध्यक्ष शशिकान्त उपाध्यायको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष गोपाल उपाध्यायको प्रमुख आतिथ्यता, नेपाल सिएमए संघ रुपन्देहीका सचिव रणजित कुमार हलुवाईको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रम नेपाल सिएमए संघ रुपन्देहीका सह सचिव गोपाल बन्जाडेको संचालनमा सम्पन्न भएको थियो ।