बगनासकालीको शैक्षिक सुधारबारे छलफल सहित शिक्षक बिद्यार्थीको सम्मान पनि

0
185

पाल्पा । राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा बगनासकाली गाउँपालिकामा शिक्षक, बिद्यार्थी सम्मान कार्यक्रम तथा शैक्षिक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिका भित्रका बिद्यालयबाट सम्मिलित भई २०७५ सालको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने गुगा मावि यम्घाका गिरिजाप्रसाद खनाल, ग्राम्य मावि चिर्तुङधाराका अञ्जु राना र सिता मावि यम्घाका बिमल बस्याल, गत वर्ष कक्षा ८ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने ज्ञान ज्योति सामुदायिक बिद्यालय पोखराथोककी अंकिता बिक र बिष्णु मावि पोखराथोकका शुसिल गैरेलाई सम्मानपत्र, नगद र मायाको चिनोले सम्मान गरिएको थियो । त्यस्तै हालै स्वेच्छिक अवकाश लिन लाग्नुभएका बेद मावि बराङदीका शिक्षक भिमराज खनाल र बसन्त प्रावि चिलाङदीका शिक्षक शिव खनाललाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले गाउँपालिका स्तरको शैक्षिक अवस्था कसरी थप गुणस्तरीय बनाउन सकिन्छ भन्ने बिषयमा सुझाव सल्लाह दिएका थिए । सो अवसरमा बिद्यालयका प्रधानाध्यापकहरु, पत्रकार, जनप्रतिनिधि तथा सरोकारवालाहरुले आआफ्नो धारणा समेत राखेका थिए । सहभागीहरुले घोकन्ते भन्दा ब्यवहारिक शिक्षा दिनुपर्ने, स्थानीय परिवेश समेटिएको स्थानीय पाठ्यक्रम तयार गरिनुपर्ने, शैक्षिक क्षेत्रको सफलताका लागि सबै क्षेत्रको सहयोग हुनुपर्ने लगायतका धारणा राखेका थिए ।

कार्यक्रमको उद्देश्य मावि प्रकाश पार्दै गाउँपालिकाका शिक्षा अधिकृत गुनाराम खनालले यसप्रकारको कार्यक्रमले एकातिर शिक्षा क्षेत्रको सुधारका लागि पर्याप्त सुझाव आउने र अर्कोतिर बिद्यार्थी र शिक्षकलाई हुने सम्मानले अरुलाई पनि अझ राम्रो गर्न प्रेरणा मिल्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बिद्यालयहरुको प्रवर्धन र गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाको तर्फबाट हुने सहयोगमा कुनै पनि कमि नहुने बताए । उनले यसप्रकारको अन्र्तक्रियात्मक कार्यक्रमहरु बिद्यालयहरु पनि स्वतःस्फुर्त रुपमा राख्नुपर्ने बताए ।

गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी दर्लामीले बगनासकालीका बिद्यार्थी जहाँ पुगेपनि सर्वोत्कृष्ट हुने गरि शैक्षिक अभियान चलाउनुपर्नेमा जोड दिइन् । उनले बिद्यालयहरुले समय सापेक्ष शिक्षा प्रदान गर्नुपर्ने समेत बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बिद्यालयका भवन राम्रा भएपनि बिद्यार्थी कम हुने समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्नेमा अव सोच्ने बेला आएको बताए । उनले शैक्षिक सुधारका लागि अव बृहत रुपमा छलफल गरि अगाडि बढ्नुपर्ने बेला आएको समेत बताए । कार्यक्रमको संचालन गाउँपालिकाका बालमैत्री फोकल पर्सन मनोज आचार्यले गरेका थिए ।