रम्भा बन्यो शत प्रतिशत विद्यार्थी भर्ना भएको गाउँपालिका

0
541

एवत सारु । (रम्भा) पाल्पा

रम्भा गाउँपालिकालाई शत प्रतिशत विद्यार्थी भर्ना भएको गाउँपालिका घोषणा गरिएको छ । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर आयोजना गरिएको एक कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले घोषणा पत्रमा हस्ताक्षर गरेर तथा उपाध्यक्ष राधादेवी श्रेष्ठले घोषणा पत्र उद्घोष गरि शत प्रतिशत विद्यार्थी भर्ना भएको गाउँपालिका घोषणा गरिएको हो । रम्भा गाउँपालिकामा शैक्षिक सत्र २०७६ मा भर्ना भएका ५ वर्ष देखि १२ वर्ष उमेर समूहका १ हजार ५०५ जना बालबालिका विद्यालयमा भर्ना भएको र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको प्रतिवेदनका आधारमा उक्त घोषणा गरिएको हो ।

कार्यक्रममा रम्भा गाउँपालिका भरिका विद्यालयमा ३० वर्ष भन्दा बढी सेवा गरेका शिक्षकलाई सम्मान गरिएको छ । आधारभूत तथा माध्यमिक शिक्षक गरि २१२ जना सामुदायिक शिक्षक सेवारत रहेको गाउँपालिकाका ३० वर्ष बढी अविच्छिन्न सेवा गरेका ३४ जना शिक्षकहरुलाई दोसल्ला, सम्मान पत्रका साथै डायरी दिएर सम्मान गरिएको हो । आइतवार नै निजामति सेवा दिवसको अवसर पारेर रम्भा गाउँपालिका प्रशासन शाखा प्रमुख भक्तुजङ्ग रानालाई समेत सम्मान गरिएको छ । गाउँपालिकाले सम्मान गर्दा आफूलाई धेरै खुशी लागेको र शिक्षण कार्यमा थप आत्मविश्वास बढेको रविकिरण माविका सम्मानित शिक्षक गोकुल अर्यालले बताए ।

कार्यक्रममा शैक्षिक गुणस्तर अभिबृद्घि सम्बन्धी अन्तरक्रिया समेत संचालन गरिएको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख काशीराम बस्यालले रम्भा गाउँपालिकाको शैक्षिक अवस्थाबारे चर्चा गर्र्दै गाउँपालिकामा रहेका ३७ वटा सामुदायिक विद्यालय, ५ वटा नीजि विद्यालय तथा १ वटा धार्मिक विद्यालय रहेको जानकारी गराउँदै अन्तरक्रियामा सहजीकरण गर्नु भएको थियो । अन्तरक्रियामा रवि किरण माविका प्रधानाध्यापक केशबहादुर सारु, जनकल्याण माविका प्रधानाध्यापक युवराज पन्त, रम्भा बहुमुखी क्याम्पसका प्रमुख दुर्गाप्रसाद अधिकारी, पूर्ण ज्योति ईङलिस स्कुलका संचालक ऋषिराम अर्याल, शिक्षकहरु नूरराज गैरे, कृष्णप्रसाद बस्याल, गोकुल अर्याल लगायतले बालमैत्री विद्यालय, मूल्याङ्कन पद्घति, अनुगमन र सुपरीवेक्षण, स्थानीय पाठ्यक्रम, विषय विज्ञ समिति र क्रियाकलाप, गृहकार्य, बालविकास कक्षा लगायतका विषयमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा रम्भा गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. १ का वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले शैक्षिक विकासको लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने र यस कार्यमा सहयोग गर्न सम्पूर्ण प्रधानाध्यापक तथा शिक्षकहरुमा आग्रह गर्नु भयो । कार्यक्रममा सुआहारा नेपालका फिल्ड सुपरभाईजर कुश्माखर पाण्डे, नेपाल शिक्षक महासंघका अध्यक्ष धनबहादुर पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष खुमबहादुर पौडेल, अमृत पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र खनालले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम रकमा देवी आधरभूत विद्यालयका प्रधानाध्यापक धातानन्द बस्यालको संचालन तथा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा चलेको थियो ।