झुण्डिएको अवस्थामा युवतीको शव फेला, उनका प्रेमी प्रहरी नियन्त्रणमा

0
1269

पाल्पा । तानसेन नगरपालिका वडा नं. १० रस्साकी १७ वर्षीया युवती सपना बिकको बुधवार दिउँसो स्थानीय बाँसटारी नजिकैको जंगलमा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

उनले आत्महत्या नगरेको र आत्महत्याका लागि बाध्य बनाइएको वा हत्या गरेर झुण्ड्याएको पनि हुन सक्ने भन्दै पिडित परिवारको उजुरीको आधारमा बुधवार गते नै शुद्धोधन गाउँपालिका वडा नं. ६ का १८ वर्षीय लोक नारायण खनाललाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा लिएको छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको एसपी कृष्णराज सापकोटाले बताए । शवको बिहीवार जिल्ला अस्पताल पाल्पामा पोष्र्टमार्टम गरिएको छ । घटनाबारे सत्य तथ्य अनुसन्धान गर्ने बारे प्रहरी र स्थानीय जनप्रतिनिधि तथा पिडित परिवार बीचको मौखिक सहमतिको आधारमा परिवारले शव बुझेका छन् ।

यस्तो छ घटना बिबरण
भदौ १६ गते तीजको दिन बिहान ११ बजेतिर सपना घर नजिकैको प्रभास भन्ने ठाउँमा तीज मेला हेर्न भनेर घरबाट एक्लै निस्केकी थिइन् । सपना मेला हेर्न नगई उनका प्रेमीलाई भेट्न गइन् । उनका प्रेमी खनाल बुटवलबाट उनलाई भेट्नकै लागि पाल्पा पुगे ।

उनीहरु बाँसटारीमा भेट भए र नजिकैको जंगलमा पुगे । आरोपित् खनालका अनुसार १६ गतेको रात उनीहरुले सोही जंगलमै बिताएको देखिन्छ । सपनाको घरमा भने १६ गते साँझबाट खोजी भयो । उनी नफर्केपछि उनको खोजी गर्ने क्रममा सपनाकी साथी मार्फत सपनाको प्रेमी रहेको थाहा पाएपछि प्रेमीलाई सम्पर्क गरि पिडित परिवारले पाल्पा बोलाए ।

पिडित परिवारले पटक पटक टेलिफोन गरेपछि उनी १८ गते दिउँसो बुटवलबाट पुनः बाँसटारी आइपुगे । आफुहरुसित भेट हुने बित्तिकै उनले सपना ज्युदो नहरेको बताएको र उनीहरुले १६ गतेको रात बिताएको स्थानमा पुग्दा नजिकैको रुखमा झुण्डिएको अवस्थामा सपनाको शव फेला परेको उनका मामा गोविन्द थापाले बताए । शवमा रगतको डाम समेत देखिएकोले पनि शारीरिक सम्वन्धपछि उनको हत्या गरि झुण्ड्याइएको प्रष्ट देखिने भएकोले सत्य तथ्य अनुसन्धान गरि दोषीलाई कानुन बमोजिम कारवाही हुनुपर्ने उनले माग गरे । सपना स्थानीय लक्ष्मी माध्यमिक बिद्यालय सुन्दरगाउँमा कक्षा १० मा अध्ययनरत थिइन् ।

प्रहरीले भने आत्महत्या दुरुत्साहन मुद्धा लगाएर आरोपित्बारे अनुसन्धान अगाडि बढाएको छ । बिहीवार नै उनको जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप भएको छ । घटनाको यथार्थ बिवरण भने आउन सकेको छैन ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।