टुक्रिएको सम्बन्ध

0
81

गम बयम्बु मगर
बिहानै देखि आकाश र बादलुले सामीप्य जमाएको थियो। पानी बर्सिने र रोकिने ठेगान थिएन। साउन मसान्तको दिन। कामको माचो सबैलाई। रोपाई लगभग सबैको सकिएको थियो। रोपाई सकिए पनि बारीमा कोदो रोप्ने काम उस्तै…। मुखिया कान्छा बा को घरको बार्दलीमा एउटा रेडियो प्रायजसो बजिरहन्थ्यो। त्यो साँझ पनि रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र पोखराबाट तीज गीतहरु बजिरहेको थियो। 

रेडियोले समाचारको धुन बजायो। मैले रेडियोतिरै कान थापेँको थिएँ। मगर भाषामा समाचार दिदै थियो। मेझोर…..ईसै रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र मालेपाटन पोखरा आले। ङा खेम सारु मगरई नभि साडे छ बजेओ मगर ढुटाउँ  खबर सेके आछाने……..


•अढिकजा नामास राहाच्याई जाट्मो देशऔं ढलिङ् ठावाङ् बाढी र हुल्मा नुङ्ठाङ् परिस्मो ईन्नाङ सम्म देश भरियाङ् बाँङा भर्मी सिमोले। 
•पुर्वी पाल्पा ओ अर्चले र सिलुवा गा.वि.स.सिमाना ओ निस्दी खोलाई जोक्नङ् काट बुढा बेपत्ता छान्मोले। गहाराङ् रोपाई डुमाक्निङ् ईमाङ् राहच्यो बखतङ खोला चेस्नङ् भोगाटे घाटाई ………. बहादुर बयम्बुके जोक्च्यो कानुङ् पाल्पा सम्वाददाताई होस्ङ्के छान्मोले।००००

हँ…झस्किएँ..अनि मुटु नै चसक्क बनायो। मेरै छिमेकी को खबर। तीन दिन अघि खोलाले बगाएर हाम्रो गाउँ पारीको बुवाले ज्यान गुमाउनु भएको थियो। त्यही खबर रेडियोले समाचार फुक्दै थियो। हामी एउटै थरको भए पनि नून नलाग्ने भैसकेका थियौं तर दाजुभाई बोल्थ्यौं। त्यो खबरले अरु समाचार सुन्नतिर मेरो ध्यानै गएन। फेरि त्यही दुखद खबरले मनमा एक किसिमको हलचाल नै मच्चायो। आकाशबाट साउने झरी बर्सिए झैं त्यो परिवारको आँखामा आँसुको झरी बर्सिरहेको दृष्य आँखामा नाच्न थाल्यो। उहाँले संसार छोडेर जानु भयो तर भाईहरु,दिदीहरु र संगै जिउने बाचा कसम खाएर सम्बन्ध गाँस्नु भएकी ठुली आमाको हालत सोंचेँ। उहाँको मनमा कति पीडा होलान्! अचम्मको संसार छ। जन्म लिनु र मर्नु। बुढेशकालमा मर्नु र दुर्घटनामा परेर अकालमा मर्नु मा धेरै फरक छ। मर्नु छ भने किन जन्म दिनु परेको होला यो दैवले? बरु जन्म नदिए ठिक हुने नि! जन्मे पछि एक दिन मर्नै पर्छ भन्ने थाहा हुँदा हुँदै पनि मर्दा किन यति साह्रै विचलित हुन्छन् मान्छेहरु? मनमा यस्तै यस्तै प्रसंगहरु खेलिरह्यो। मायाँले त होला यस्तो भएको। मन सम्हाल्ने प्रयास गरेको थिएँ। मर्नेहरु त मरेर जान्छन् तर बाँचेकाहरुलाई कति पीडा!

“कतै म यसरी नै अकालमा मरेँ भने मेरी माकुरी कति रोलिन्? कतै उसलाई पापी दैवले………! हैट! यस्तो हुनै सक्दैन। मेरी माकुरी माथि कुदृष्टि मात्रै लगाओस् न, तँ काललाई पनि म जिउँदो छोड्दिनं! तँलाई यसरी कुट्छु……।” म आवेगमा बोल्न पुगेछु।

“आगम…! के भो तिम्लाई? कसलाई गाली गरेको? कसलाई कुट्न भन्दै छौ? पागल त भएन तिमी?” कतैबाट नारी आवाज कानमा ठोक्किए झैं भयो। झल्याँस्स भएँ। माकुरी मेरो दायाँ हातमा समाईरहेकी थिईन्। “ए….म त कहाँ कहाँ हराएछु। के के सोंच्न थालेछु। मलाई केही भएको छैन माकुरी। तिमी चिन्ता नलेउ।” मैले सम्झाएको थिएँ।  

मलाई कस्तो डर लाग्यो! के भयो र भन न।” उसले मधुर बोलीले विनम्र अनुरोध गरेकी थिईन्। त्यस पछि मैले सबै कुरा बताएपछि शान्त भएकी थिईन्। गोधुली साँझको समय थियो। घामले भोलिको मिर्मिरे बिहान सम्मलाई बिदा लिएर गईसकेका थिए। अँध्यारोले आफ्नो जवानीको संकेत दिदै थियो। निस्पट्ट त्यही निशामा माकुरी र म…। चराचुरुङ्गीहरुले बास लिई सकेका। कतै लाटोकोसेरोले सुसेल्दै थियो। अलिक टाढा टाढा….।अँधेरीमा जुनकिरीको चमक झिलिक्क झिलिक्क हुन्थ्यो। त्यही जुनकिरीको उज्यालोले माकुरीको मुहार पुर्णिमाको जून जस्तै उल्यालो झलक्क देखिन्थ्यो।
“एउटा कुरा सोधु?” मैले अनुमति माग्दै भनेको थिएँ।”भन न के हो?” उसको स्वीकृति।
“तिमी रुन्छ्यौ कि? भयो सोध्दिनं।” मैले उसको मन चोर्न यस्तो भनेको थिएँ। 
“के कुरा हो र सोध्दैमा म रोई हाल्ने? कि कतै म बाट टाढिन सक्ने अरु कोही पायौ र?” उसले उल्टो मलाई नै प्रश्न हानेकी थिईन्।
“हेर न मैले भने हाम्रो मायाँको कुरा गर्न लागेको। तिम्ले भने शंका गर्न लागेकी। यो नारी पात्रहरुको मनमा यति विधि शंका किन उब्जिन्छ होला?” मैले प्रस्ट्याउने कोशिसमा भनेको थिएँ। 
“आगम.. यो शंका पनि मायाँले त गर्छ नि! मायाँ नभए किन शंका गर्थ्यो होला र? तर फरक यति हो शंका गरेर शंकाले लङ्का जलाउनु र आफ्नो मान्छे नबिग्रियोस् भनेर शंका गर्नु। ल अब भन के भन्न खोजेका थियौ?” 
“माकुरी, कतै पारी गाउँको ठुला बा जस्तै अकालमा म  मरेँ भने तिमी……!” मेरो कुरा सकिन नपाउदै….!”आगम…तिम्ले मलाई रोएको हेर्न चाहन्छौ? यो भन्दा अरु यस्तो कुरा मसंग नसोध। नत्र तिमी भन्दा पहिले म आफै मरिदिन्छु।” उसले आँखा पिल्पिल गर्दै बोलेकी थिईन्। 
“ल भयो बाबा! माफ गर ल। यति विधि मलाई किन मायाँ गर्छ्यौ? उसलाई अङ्गालोमा कस्दै मैले सम्झाएको थिएँ। 
“म आफैलाई थाहा छैन। किन तिम्रो मायाँ लाग्छ।पारी गाउँको बुवा त आफ्नै घमण्डले गर्दा हो रहेछ नि खोलाले बगाएको। नत्र अरुले त खोला बढेको छ नतर्नुस्। माथि पुलबाट घुमेर जानुस् भनेर सम्झाएकै हो रे। सधैं खेल्ने घाट हो। त्यत्रो बाटो हिडेर को जान्छ पुलतिर भनेर पस्नु भएछ।” आफुले सुनेको कुरा बताएकी थिईन्। 
खै किन मूर्ख हुनु भयो कुन्नि उहाँ। लाउँ लाउँ र खाउँ खाउँ उमेरका छोराछोरीहरुको भविष्य के हुने होला? आमालाई कति गाह्रो हुने भयो। उहाँको गल्तीले गर्दा सबैले दुख भोग्नु पर्ने कठै! कस्तो नियति। सधैं खेलि राखेको घाट भनेर के गर्नु। उमेरमा बल थियो र पो तरिन्थ्यो। उमेर ढल्किए संगै बल घट्छ। बर्खे भेलको विस्वास पनि हुँदैन। ठुला बाले किन सोंच्नु भएन होला। मनमा यस्तै कुरा आएको थियो।
“दशा बाजा बजाएर आउदैन भन्छन्। नहुनु पर्ने भयो।” मैले यही बोलेको थिएँ।”विगतलाई कोट्याएर किन पीडा थप्नु? बगेको खोला फर्केर आउदैन। छोड अब।” उसले मन बलियो पार्दै बोलेकी थिईन्। त्यो घटनाको कुरा त्यही विट मारेर आफ्नै प्रेम सागरतिर हामफालेका थियौं। र चुर्लुम्म डुबेका थियौं।
“आगम…भोलिबाट गाउँमा तीज गीत सिक्ने कुरा छ नि। तिमी मादल बजाई दिन आउ है। गा.वि.स.मा वडा स्तरको प्रतियोगिता गर्ने रे तीजको दिन। अब छ दिन त बाँकी छ।” उसले विस्तारमा बताईकी थिईन्। 
“अरु कोही छैन र मादल बजाउन जान्ने? मै आउनु पर्ने र?” मैले जिस्किदै सोधेको थिएँ।”तिमी आएनौ भने त म पनि आउँदिन। पोहोर सालको कार्यक्रममा माने दाईले मादलको ताल बिगारेर त हाम्रो गीत बिग्रियो। धन्न तेस्रो स्थानमा पर्न आएछ।” उसले विगतमा भोगेको दुख सुनाईकी थिईन्। 
“तिम्ले नै बोलाउछ्यौ भने त म नाई भनुला र?” यस्तै  भनेको थिएँ मैले।
“दिदी…..! ए~~~ दिदी…। माकुरीलाई उसको भाईले बोलाएको आवाज सुनियो। र हामी त्यहाँबाट छुट्टिएका थियौं। त्यसको भोलि पल्ट देखि तीज गीत सिक्नलाई मुखिया कान्छा बा कै आँगनमा जम्मा भयौ। गा.वि.स.मा प्रथम हुने लक्ष्य सहित सिक्दै गयौं हरेक साँझ। तीजको दिन सम्ममा तयारी पुरा गरेका थियौं।

तीजको दिन टाढा टाढा विहे भएका दिदीबहिनीहरु पनि तीज मनाउन माईत आउने दिन। दिदीबहिनीहरु रातो साडी गरगहाना लगाएर माईत आउने जाने बाटोमा भेटिन्थे। दिउँसो बाह्र बजेबाट प्रतियोगिता शुरु गरेका थिए। दर्शकहरुको भिड थियो। सबै प्रतियोगीहरुको गीत र नृत्य उस्तै राम्रा थिए। प्रतियोगिताको अन्त्यमा नतिजा सुन्ने र पुरस्कार पाउने प्रतिक्षामा देखिन्थे सबैलाई। सञ्चालकले निर्णायकलाई माईक्रोफोन दिदै नतिजा घोषणाको अनुमति दिए संगै दर्शकहरुको ताली गुञ्जियो। मञ्चबाट प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ…..। जनजागृति समूह…। माकुरी थापाको नृत्यकलाले सबैको मन जितेको छ। अरु सफलताको शुभकामना। निर्णायकले यही बोलेको थियो। हाम्रै टिमले प्रथम स्थान हासिल गर्न सफल भएका थियौं। कप, प्रमाण पत्र र नगद सहित अनुहार भरी रातो अबिरमा पुरस्कार ग्रहण गर्दाको क्षण अति खुशी भएका थियौं।
“माकुरी तिम्रो जीवन साथी रोजाईको प्रथम स्थान मलाई नै दिनु पर्छ ल। आजको प्रतियोगितामा प्रथम भए जस्तै तिम्रो जीवनमा म प्रथम स्थान कब्जा गर्नु छ। पुरस्कार पाएर तिमी खुशी छ्यौ। मेरो जीवन तिमीलाई पुरस्कार भयो मैले सुम्पिसकेँ। तिमीलाई जिन्दगी भरि खुशी राख्नेछु।” मैले मन मनै भनेको थिएँ। पुरस्कार सहित गाउँमा फर्कियौं। बाटोमा मुखिया कान्छा बा लाई भेटेका थियौं।  

“गाउँको ईज्जत राखेछौ तिमीहरुले। साँझ हाम्रो घरमा सबै जना भेला भएर फेरि त्यही नाच देखाउनु पर्छ मैले दान गर्छु।” मुखिया कान्छा बा ले निम्तो दिनु भएको थियो। र तीजको रात तीज गीत गाएर,नाचेरै विताएका थियौं।००००

राती अबेर सम्म तीज गीतको नाचमा रमाईलो गरेर सुतेको थिएँ। बिहान विउझिदा घामले जिस्क्याई सकेछ।बार्दलीबाट तल झरेँ। “उठ्यौ तिमी? मुख धोएर आउ चिया दिन्छु।” आमाले भन्नु भएको थियो। पिँडीमा बसेर चिया लिदै आमासंग कुरा गर्दै बसेँ।”भोलि मुखिया कान्छा बा हरुले कोदो रोप्न बोलाउनु भएको छ। तिमी जाउ है छोरा।” आमाको मीठो आग्रह थियो। “ठिकै छ नि आमा जाम्ला।” आजै भने पनि जान तयार छु। माकुरीसंग दिन भरी संगसंगै गोडौंला,खनौला र कोदो रोपौंला। मायाँ पिरतीका कुरा गरौंला।” मनले यस्तै भनिरहे पनि मुख भने खोल्न सकेको थिएन। 

गाउँ भरी माकुरीको हिजोको नाचको प्रशंसा र पुरस्कार को प्रसङ्ग सुनेरै गदगद भएर दिन वितेको थियो। बिहान एक भारी घाँस काटेर खाना खाएपछि एउटा कोदलो लिएर मुखिया कान्छा बा को आँगनतिर निस्किएँ।

“ए..तिमी आयौ बाबू खेतला?” मुखियानी कान्छी आमाले भन्नु भएको थियो। “हो, आमा खेतला आको।” छोटो उत्तर दिएको थिएँ। “बस बाबु एकछिन। अरु पनि आउदै होलान्। माकुरी पनि जान्छे। जर्किनमा पानी भर्दैछे।” बारीतिर पानीको मुहान नभएकोले घरबाटै पानी लिएर जाने तरखरमा रहेछिन्। जर्किनमा पानी लिएर उनी निस्किन्। मुसुक्क मुस्कुराईन्। राम्रो मान्छेलाई साधारण कपडामा पनि उति नै राम्रो देखिने। कपडाले राम्रो देखाउने होइन रहेछ मान्छेलाई। राम्रो मान्छेलाई पुरानै होस्, जस्तो कलरको लाओस् सुहाउने रहेछ। मेरो मनले यस्तो निर्णय गरेको थिएँ। माकुरीको लवाई देखेर।

“ए.. तिमी पनि हाम्रो खेतला आज त?” माकुरीले सोधेकी थिईन्। मैले हो मात्रै जवाफ दिएको थिएँ। नौ, दस जना खेतला हामी र माकुरी बारीतिर लाग्यौं।मकैबारीमा टमक्क झारले ढाकेको थियो। ठुलो पाटोबारी। कोदोको बिरुवा छेउतिर हरियो थियो। आज ती बिरुवाहरुको बसाई सराई हुँदैछ। बाल्यपन एक ठाउँ र जिन्दगी विताउने अर्को ठाउँ आउदैछ। नारीहरुको जिन्दगी जस्तै..। तर ती निर्दोष बिरुवाहरुलाई थाहा छैन के हुदैछ र के हुनेवाला छ। कसैले बिरुवा तयार गर्ने कसैले झार गोड्ने र खन्ने गरेका थियौं। एक मेलो सक्याएर एकछिन् चिसो हावा खाउँ। पानी पिउँ भनेर बारीको छेउमा छहारीतिर गएर बस्यौं। 
“ए…..आगम, तन्नेरी भैसक्यो अब विहे गरे हुन्छ। कुन केटीलाई मन पराएका छौ?” साहिली बज्यैले ठट्याउलो पारामा भन्नु भएको थियो। “साईली बज्यै पनि……फूलको वरिपरि भमरा डुलिरहेको देखे पो! आँखा कम्जोर भएर होला।” मास्टरनी भाउजुले हाँस्दै यस्तो भनिरहदा म लाजले भुतुक्कै भएको थिएँ। माकुरीले पनि हामीलाई व्यङ्ग्य हानेकोमा म तिर पुलुक्क हेरी अनि मुस्कुराईन्।

जे होस त्यो दिन ठट्टा,रमाईलो मै वितायौं। माकुरी को साथ पाउँदा अझै दिन लम्बियोस् भन्ने लागेको थियो। हाम्रो मायाँलाई अझैं गहिरो रुपमा कसिलो बनाउन उर्जा मिलेको थियो त्यो दिन। दिन कसरी वित्यो पत्तै पाएको थिएन। संगैगोड्यौं,खन्यौं,संगसंगै कोदो रोप्यौं। सबैको सामु मुख खोलेर मायाँको कुरा गर्न नसके पनि आँखाको ईशाराले मौका मिल्दा सम्म मायाँको भावहरु साटेका थियौं आपसमा।”बारीमा उम्रिएको झारलाई जस्तै हाम्रो जिन्दगीमा आउने दुख,कष्टलाई उखेलेर पार लगाई दिन्छु। आज रोपेको कोदो सप्रिदै फुल्दै जान्छ र फल्छ। हाम्रो मायाँ पनि त्यसरी नै फुल्दै र फल्दै जाओस् भनेर माकुरीलाई भन्न मन थियो। तर सबैको सामु मुख फोर्न सकिनं। तर केही दिन पछि मात्रै मैले उसलाई सुनाएको थिएँ। र उनी मुसुक्क मुस्कुराएकी थिईन्।
हामी बिचको हिमचिम र समीप्यताको बारेमा एक कान मैदान हुँदै एक दिन मुखिया कान्छा बा को कान सम्म पुगेछ। उहाँले जे सुन्नु भएको थियो सत्यता त्यही थियो। विना हावा पात कहाँ हल्लिन्छ र? त्यहाँ हावा चलेर नै पात हल्लिएको थियो। तर हाम्रो सम्बन्ध मुखिया कान्छा बा लाई पहिलो गाँस मै ढुङ्गा भने जस्तै भएको रहेछ। त्यो कुरा पछि मात्र थाहा भयो।००००
केही दिन पछि, म भरखरै उठेर बार्दलीबाट तल झर्दै थिएँ। एकाबिहानै मुखिया कान्छा बा हाम्रो आँगनमा देखिनु भयो। मेरो बा गाईको गोबर फाल्दै हुनुहुन्थ्यो। आमाले पिँडीतिर चटाई दिदै यता बस्नुस्! भन्दै हुनुहुन्थ्यो। 
“काहिँलो कहाँ छ? एउटा कुरा गर्नु छ।” अलिक चर्को स्वरमा बोल्नु भयो। “मलखादतिर गोबर फाल्दै हुनुहुन्छ।” आमाले गोठतिर देखाउदै भन्नु भएको थियो।
“ए,,काहिँला…एउटा कुरा सुन। तिम्रो छोरा आगमले मेरी छोरी माकुरी माथि कुदृष्टि लगाएको छ रे। मेरो सम्पत्ति पाउने लोभमा उसलाई फसाउन लागेको हो। तिम्रो छोराले हाम्रो खानदानको छोरीसंग विहे गर्ने दिवा सपना नदेख्दा हुन्छ। के औकात छ मेरी छोरीसंग विहे गर्ने? बेलैमा तिम्रो छोरालाई ठिक ठाउँमा राख। नत्र जे पनि हुन सक्छ। यो मेरो अन्तिम चेतवानी हो।” अरुले सुन्ने गरि मुखिया कान्छा बा बोल्नु भएको थियो।
“यसमा हाम्रो गल्ती छैन हजुर! हामीलाई थाहा पनि थिएन। उनीहरु दुबैले मन पराएर मायाँ गर्छ भने हाम्रो के दोष हैन र?” मेरो बाले आफ्नो विचार पोख्नु भयो।
“आफ्नो धरातलमा रहेर हिड्न सिकाऊ तिम्रो छोरोलाई। मुखिया खानदानको सम्बन्ध तिमीहरुसंग सुहाउदैन।” यस्तो भन्दै कड्किदै जुर्मुरिएर फर्किनु भएको थियो मुखिया कान्छा बा। उहाँ जानू भएपछि मलाई बाआमाले सम्झाउनु भयो। माकुरीसंग नजिक नहौ भनेर। मैले न हुन्छ, न त नाई भन्न सक्ने अवस्थमा थिएँ। किन कि हामीले निस्वार्थ मायाँ गरेका थियौं। न मुखिया कान्छा बा को सम्पत्तिमा मलाई चासो थियो। न त हामी गरिब हुनुमा माकुरीलाई गुनासो थियो। थियो त केबल जिन्दगी भरि नछुट्ने बाचा र कसमको चासो। त्यो घट्ना पछि हाम्रो स्वतन्त्रता गुम्यो। गाउँघरमा आउ जाऊमा अनौपचारिक भेट बाहेक माकुरीसंग मनको कुरा गर्न, मायाँको कुरा बाँड्न भुमिगत रुपमा बाहेक सम्भव भएन। सायद माकुरीलाई घरबाट धेरै दवाव दियो।  माकुरी पहिले जस्तो खुल्दैन थिईन्। चाहिने भन्दा बोल्दैन थिईन्। हाम्रो सम्बन्ध विस्तारै आकाश र धर्तीको जस्तो टाढिने अवस्थामा पुग्यो। हामी बिचको कारक नै धन सम्पत्ति हुन आयो। धनी र गरिब बिचको खाडलले हाम्रो मायाँलाई नजिक हुनबाट धकेल्दै थियो। म गरिब परिवारमा जन्म लिनु, न मेरो परिवारको न त मेरो भाग्यको नै दोष थियो। माकुरी धनी परिवारमा जन्म लिनु उसको पनि दोष थिएन। हाम्रो चोखो मायाँमा बार लगाउने समाजका तिनै धनी भनाउदाहरु थिए। जसले धनी र गरिब विचको विभेद पुर्ण संकुचित परिभाषा दिमागमा भरेर खुलेआम विभेद गरेर डुल्थे। जसले धन सम्पत्तिसंग प्यारलाई दाँजेर हेर्ने गर्थे। धनसंग मायाँ दाँज्नेलाई सांचो मायाँको अर्थ के थाहा? त्यही चाङ्गुलमा फसिरहेका थियौं हामी। 
एक दिन उसको भाई मार्फत खबर पठाएँ। साँझ भञ्ज्याङ्गमा भेट्नलाई। संयोगले त्यही दिन दुई चार दिनलाई मुखिया कान्छा बा तासनेन जानू भएको रहेछ। 
झिस्मिसे साँझमा भञ्ज्याङ्गतिर निस्केँ। माकुरी आएकी थिएन। मनमा धेरै खुल्दुली चल्यो। नआउने पो हो कि। तर माकुरी आईन्। निराश देखिन्थी। मैले धेरै सम्झाएँ। 
“माकुरी हाम्रो प्यार यतिकैमा टुङ्गिने हो अब?” मैले बुझ्न चाहेर सोधेको थिएँ।”म धेरै अन्योलमा छु आगम! के सही के गलत छुट्याउनै नसक्ने भएको छु। तिमी नै भन म के गरुँ?” उसले रुन्चे स्वरमा सोधेकी थिईन्। “कि भागेर जाउँ! सक्छ्यौ?” मैले मेरो एकल निर्णय बताएको थिएँ। “हँ…! कहाँ जाने भागेर? मेरो बाको ईज्जतमा दाग लाग्ने काम गर्न सक्दिनं। कहिल्यै नफर्किने गरि जाने हो र?। कहाँ लान्छौ भन।” उसले सोधेकी थिईन्। “बुटवल.. या काठमाण्डौं जाउँला।” मैले आँट गरेर उसलाई भनेको थिएँ। 
“आगम…..भागेर जानु मात्रै उपाय होईन। अरु पनि छन्  बाटाहरु। फेरि भोलि सुख दुख पर्दा फर्केर आउने यही गाउँमा हो। यही छिमेक र यही समाजमा हो। बरु तिमीले केही राम्रो काम गरेर देखाउ। जुन काम देखेर मेरो बाको मन पगाल्न सकोस्। तब सम्म म विहे गर्दिन भनेर तिम्लाई कुर्छु।” उसले एउटा उपाय देखाएकी थिईन्। 
उसको विचार पनि एक हड सम्म ठिकै लाग्यो र हुन्छ भनेर मैले सहमति जनाएको थिएँ। ००००
असोज आयो। दशैं लायो। त्यो पालीको दशैं खासै रमाइलो रहेन मेरो लागि। गाउँलेको आँखा छलेर भुमिगत रुपमा कहिले कही भेट्ने क्रम जारी नै राखेका थियौं। मंसीरको महिना शुरु भयो। चिसो बढ्दै थियो। मंसीरको चियो मौसमले मात्र होईन हाम्रो मायाँको यात्रा कतै रोकिने त होईन मन चिसिन्थ्यो। त्यही मंसीर पन्ध्र गतेको दिन मेरो लागि कालो दिन सावित भयो। हामी बिचको सम्बन्ध देख्न नसकेर मुखिया कान्छा बा ले माकुरीलाई सुटुक्कै अर्कै खानदानी घरनामा दिई सक्नु भएको रहेछ। केटा पक्षका लिन आएका रहेछन्। माकुरीले मेरो नाम लिएर हामी एक अर्का बिच मायाँ गरेको कुरा गरेर नाई नस्ती गर्दा समेत बलजफती गरेर केटा पक्षले उठाएर लगेको थियो। माकुरी चिच्याई चिच्याई रोएकी थिईन्। म हतासिदै माकुरीलाई छुटाउन पुगेको थिएँ। तर त्यहाँ पहिले नै योजना बनाएर चार पाँच जना बलिया पुरुष हरुलाई तयारी गरेर राखेको रहेछ। मलाई अगाडि बढ्न दिएन। बरु उनीहरुले जबर्जस्ती धकेल्दै मलाई घर सम्म पुर्याएका थिए। म छाँगाबाट खसे झैं भएँ। मुटु विनाको शरीर जस्तो फिल भयो। माउ कै काखबाट चिलले चल्ला पक्रेर लग्दा कुखुरी छटपटिए जस्तै छटपटिएँ। त्यो बेला लाग्दै थियो, यो दृष्य देख्नु भन्दा बरु दुबै आँखा बन्द भैदिए हुन्थ्यो। उसको रुवाई, चिच्च्याहट सुन्नु भन्दा दुबै कानले सुन्न नसक्ने भैदिए हुन्थ्यो। तर म निरीह भएर आँखाबाट आँसु झार्दै आँखाले देख्दा सम्म हेरिरहेँ। कानले सुन्दा सम्म उसको आवाजलाई रुँदै सुनिरहेँ। सदाका लागि अलग गराई दिए हाम्रो मायाँलाई। मन परेको फूल हातैबाट कसैले खोसेर लगिदिए जस्तै भयो।

आकाश र धर्ती जस्तै पारेर छुट्याई दिएका थिए। त्यसपछिका दिनहरु कसरी विताएँ। रातहरु कसरी विताएँ। कारुणिक छन्। तपाईहरुको मन दुखाउन चाहन्न म। बाध्यता वस ती काहाली लाग्दो दृष्यहरुलाई मेट्ने प्रयासमा धेरै रोएँ। धेरै ठाउँ पुगेँ। एकान्त नै प्यारो लाग्थ्यो। मेरो अवस्था देखेर आमाको मन कति दुखेको हुँदो हो। “संसार एक्लो छैन बाबू। एउटीले छोड्दैमा संसारै शुन्य नठान्नु” आमाले सम्झाउनु हुन्थ्यो। तर मेरो मनले माने पो। कता कता आफैलाई डिप्रेशन हुने डर बढ्न थाल्यो। बिस्तारै आफैले आफैंलाई सम्हाल्न कोशिस गरेँ। करिब एक सालपछि सामान्य अवस्थामा पाएको थिएँ आफैंलाई।
“एउटा मान्छेको मायाँले कति फरक पार्दछ जिन्दगीमा।” नारायाण गोपालको गीतको सार मेरो जीवनमा मेल खाएको थियो। केही सालपछि फेरि गाउँघरमा रेडियो र टेपरिकार्डमा “कोदो रोप्दा लाएको पिरती, छुट्यो तोरी फुल्ने बेलामा…।” लोक दोहोरी गीत बजेको सुनियो। निकै चासो लिएर खोज्न थालेँ। को रहेछ यो गीत लेख्ने?अन्तत: पत्ता लगाएरै छोडें। एकनारायण भण्डारीले तयार गर्नु भको गीत रहेछ। देवी घर्ती मगर र राजु परियारको सुरिलो स्वरमा सजिएको। स्याङ्जाका एकनारायण भण्डारीले म पाल्पालीको प्रेमकथालाई कहाँबाट थाहा पाउनु भएछ र टपक्कै टिप्नु भएछ। मेरै कथा समेटेर मेरै लागि गाएका रहेछन् मन मनै धन्यवाद दिएको थिएँ। त्यो समयमा मसंग त्यो गीत बजाउने कुनै सामान थिएन। तर रेडियोमा त्यो गीत बज्दा म आफै बोल्दैछु जस्तो लाथ्यो।

जब मेरो हातमा मोबाईल पर्यो त्यो गीत खोजेर सेभ गरेको थिएँ। आज पनि राखेको छु। कहिले कही मन विरक्तिन्छ। गीतको लिस्टमा त्यो गीत सर्च गर्छु र बजाउछु। दोहोर्याई,तेहेर्याई…!कति सिजनको कोदो रोपिसके। फलिसके। तोरी फुली सके । फलिसके तर हाम्रो मायाँ फुलिरहन सकेन। फलिरहन सकेन। एकनारायण भण्डारीको शब्दमा रहेको “कोदो रोप्दा लाएको पिरती, छुट्यो तोरी फुल्ने बेलामा।”गीतमा जस्तै भयो हाम्रो प्रेमकथा!
आकाशले धर्तीलाई र धर्तीले आकाशलाई हेरिरहे जस्तै हेर्न सकिने तर सामीप्य देखि दूर दूरको जिन्दगी जिउन बाध्य भएका छौं। लाग्छ मिलनमा रमाउने मात्र होईन जिन्दगी, बिछोडको पीडासंग पनि लड्न सक्नु पर्ने रहेछ। छोडेर जानेलाई भन्दा यादमा तड्पिएर बस्नेलाई बढी पीडा हुदोरहेछ। उसकै यादमा जून जस्ती उज्याली माकुरीलाई कहिले जूनतिर,कहिले धर्तीतिर,त कहिले आकाशतिर नियालिरहेको हुन्छु। कतै देख्छु कि भनेर ।

निस्दी-६ अर्चले,पाल्पा