तानसेन नगरभित्रका उत्कृष्ट २० उद्यमीको घोषणा

0
379

पाल्पा । तानसेन नगरपालिका भित्रका कृषि तथा पर्यटन क्षेत्रका उत्कृष्ट २० उद्यमीको पहिचान गरि घोषणा गरिएको छ ।
दायित्व संस्थाले तानसेन नगरपालिकासँगको सहकार्यमा उद्यमीहरुको घोषणा गरेको हो । संस्थाले २ महिना अघि औपचारिक कार्यक्रम मार्फत उद्यमीहरुबाट फारम आह्वान गरेको थियो ।

तानसेन नगरपालिकाभित्रका १ सय ८० उद्यमीहरुले प्रतियोगिताका लागि फारम भरेका थिए । जसमध्ये उनीहरुको ब्यवसायिक सफलता, ब्यवसायिक योजना दीगोपनको आधारमा उत्कृष्ट २० उद्यमी पहिचान गरिएको दायित्व ग्रामीण उद्यम कार्यक्रमका कार्यक्रम संयोजक सायिज्य शर्माले बताए ।
उत्कृष्ट २० उद्यमीहरुलाई प्रमाणपत्र बितरण गर्दै तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले यसप्रकारको अभियानले केही गर्नुपर्छ भन्ने मान्यताका साथ देशमै आफ्नै ठाउँमा श्रम गरिरहेका उद्यमीहरुलाई प्रत्यक्ष रुपमा लाभ् मिल्ने बताए । उनले दायित्वको यो अभियानमा नगरपालिकाको सधै साथ सहयोग रहने समेत बताए ।

दायित्वका अध्यक्ष डा. पुकार मल्लले दायित्व संस्थाको परिचय गराउँदै ग्रामीण उद्यम कार्यक्रम मार्फत दायित्वले ग्रामीण उद्यमीहरुलाई अझ शसक्त बनाएर अगाडि बढ्न प्रेरित गरेको बताए । उनले यो अभियानबाट नेतृत्व सहित सफलको उद्यमी अगाडि आउने समेत प्रष्ट पारे ।

तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेले स्थानीय सरकारले यसप्रकारका नविनतम सोच सहितका संस्थाहरुसित सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
कार्यक्रममा तानसेन नगरपालिका वडा नं. ६ का अध्यक्ष सागरमान महर्जनले नगर क्षेत्रका उद्यमीहरुलाई यो कार्यक्रमले टेवा पुर्याउने बिश्वास गरे । कार्यक्रममा दायित्व उद्यमी टंकनाथ घिमिरेले आफ्नो सफलताको अनुभव सुनाएका थिए ।
यो कार्यक्रम अन्र्तगत पहिलो चरणमा छनौट भएका उत्कृष्ट २० उद्यमीबाट एसएमएस तथा निर्णायक मण्डलको अनुगमनपछि उत्कृष्ट १० घोषणा गरिनेछ । उत्कृष्ट १० मा पर्न सफल उद्यमीले ब्यवसाय साक्षरता तालिम पाउनेछन् । व्यवसायिक साक्षरतापछि पुनः निर्णायक मण्डलको भ्रमणपछि उत्कृष्ट ५ घोषणा गरिनेछ । यसरी उत्कृष्ट ५ मा पर्न सफल उद्यमीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यसपछि पुनः उत्कृष्ट ५ लाई थप नेतृत्व विकास प्रशिक्षण गरि उनीहरुको ब्यवसायिक सफलताको मुल्यांकन पछि निर्णायक मण्डलको भ्रमणपछि उत्कृष्ट १ उद्यम घोषणा गरिनेछ ।

यसरी उत्कृष्ट १ मा पर्न सफल उद्यमीले थप १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।