सम्पदा संरक्षणमा नगरपालिकाको चासो

0
94

यज्ञमूर्ति तिमिल्सिना । पाल्पा
तानसेन नगरपालिकाले नगर क्षेत्रका ऐतिहासिक सम्पदाहरुको संरक्षण र सम्वर्धनमा प्राथमिकता दिएको छ ।

यहाँ दर्जनबढी ऐतिहासिक तथा धार्मिक सम्पदाहरु रहेका छन् । ऐतिहासिक सार्वजनिक सम्पत्तिहरु पाल्पा दरवार सहित रानीमहल, ऋषिकेश मन्दिर, रणउजीरेश्वरी भगवती मन्दिर, नारायण स्थान मन्दिर, सित्तलपाटी भिमसेन मन्दिर, भिमसेनटोल भिमसेन मन्दिर, नारायण मन्दिर, तेर्सो सडक स्वेताम्बर गणेश मन्दिर बिभिन्न चर्च, मस्जिद्, बौद्ध गुम्वाहरु, मुलढोका, गोलघर सहित बिभिन्न सिलालेख लगायत दर्जनौं ऐतिहासिक सम्पदाहरु तानसेन नगरपालिका भित्रै छन् । कतिपय सम्पदाहरुको महत्व हुँदा हुँदै पनि जीर्ण अवस्था पुगेका छन् भने राम्रो अवस्थामा रहेका सम्पदाहरु पनि प्रचार प्रसारको अभावमा खास अगाडि आउन सकेका छैनन् ।

आर्थिक वर्ष २०७५।०७६ मा तानसेन नगरपालिकाले शित्तलपाटी, गोलघर, मुलढोका र स्थानीय भिमसेन मन्दिरको जीर्णोद्धारका लागि भन्दै ७ लाख ५० हजार बिनियोजन गरेको थियो । यसमध्येबाट पहिलो चरणमा मन्दिरमा पित्तलको छानो लगाइएको र अन्य बाँकी रकमले बाँकी कामहरु गरिने बताइएको छ । नगरपालिकाको रकम र स्थानीयको श्रमदानबाट भिमसेन मन्दिरमा पित्तलको छानो लगाउने काम सम्पन्न भएको तानसेन नगरपालिका वडा नं. ५ का अध्यक्ष महेशलाल शाक्यले बताए । अहिले २ लाख रुपैयाँको लगानीमा यो मन्दिरको लागि रथ निर्माणको काम समेत चलिरहेको उनले बताए । वडा अध्यक्ष शाक्यले यस्ता ऐतिहासिक सम्पदाहरु हाम्रा सम्पत्ति भएकोले यिनको संरक्षण सम्वर्धन आवश्यक रहेको बताए । उनले भने, हामीले मन्दिरका लागि मात्रै हैन स्थानीय चर्च र मस्जिदका लागि समेत बजेट बिनियोजन गरेर उनीहरुको संरक्षण सम्वर्धनका लागि टेवा पुर्याएका छौं ।

२ सय वर्ष पुरानो यो मन्दिरमा हरेक बर्ष भिमा द्धाद्धशीको दिन भिमसेनको रथ निकाल्ने प्रचलन छ । प्रत्येक वर्ष भीमा एकादशीको दिन राति जाग्राम गरिने चलन छ । मन्दिर अगाडि आगो बाल्ने, भजन गाउने र सहभागीहरुलाई प्रसादको रुपमा सम्हयबजी बाड्ने गरिन्छ । अर्को दिन शुभ साइतमा हातमा मुगदल लिएको भगवानको पित्तलको सानो प्रतिमुर्तिलाई रथमा राखेर बजार परिक्रमा गराउने चलन रहेको छ ।

नेवार समुदायको बसोवास रहेको तानसेनको मध्ये भागमा रहेको यो मन्दिर नेवार परिवारले निर्माण गरेका थिए । यहाँका स्थानीय समुदायले यो भिमसेनलाई ब्यापार ब्यसायको भगवानको रुपमा पनि मान्दै आएका छन् । तानसेनको बजारको बीच भागमा रहेको भिमसेन भगवानले आफ्नो ब्यापार प्रवर्धनमा सहयोग गर्छन् भन्ने बिश्वास ब्यापारीहरुको रहेको पाल्पा संग्रहालयका अध्यक्ष राजेन्द्र गोपाल सिंहले बताए ।
पाल्पाको संस्कृति संरक्षणको अभियन्ता समेत रहेका मदन लाल श्रेष्ठ (मदन देउराली)ले हालै प्रकाशन गरेको तानसेनमा मनाइने जात्रा तथा चाडपर्व नामक पुस्तकमा यो मन्दिरको किवंदन्ती यसरी उल्लेख गरेका छन् । काठ्माण्डौ उपत्यकाबाट बिभिन्न प्रयोजनका लागि नेवारहरु तानसेनमा आएर बसोवास गर्न थालेपछि उनीहरुले यहाँ इष्टदेवता भिमसेनको मन्दिर बनाई गुठी पुजा आदि गर्ने गरे । तानसेनका बिभिन्न टोलहरुमा स्थापना गरि भिमसेनका ६ वटा मन्दिरहरु मध्ये शित्तलपाटीको भिमसेन मन्दिर सबैभन्दा पुरानो मन्दिरको रुपमा रहेको छ । यो मन्दिरको स्थापना बि.संं १८६४ मा भएको हो भन्ने भनाई छ । मन्दिरको माथिल्लो तल पित्तलको रहेपनि पहिलो तला झिंगटीले छाएको थियो । हालै यो तलामा पनि पित्तलको छानो लगाइएपछि मन्दिर थप आकर्षक बनेको छ । पुर्व मोहडा फर्केको मन्दिरको भुइतलाको अगाडिको भागमा काठको कलात्मक ढोका रहेको छ । मन्दिरभित्र कलात्मक फे्रेम भित्र अत्यन्त सुन्दर ढुंगाको भिमसेनको मूर्ति शत्रु माथि आक्रमण गरिरहेको छ । मन्दिर अगाडि राखिएको घण्ट सवंत् १०३९ मा चढाइएको भनेर उल्लेख छ ।

तानसेन नगरपालिका वडा नं. ४ मख्खनटोलमा पनि ऐतिहासिक स्वेताम्बर गणेश मन्दिर छ । यो मन्दिर पनि ऐतिहासिक सम्पदा हो । स्थानीय लाकौल परिवारले यो मन्दिरको स्थापना गरेका थिए । हरके वर्ष पनि बिशेष पुजा आजा हुने गर्दछ ।

यो मन्दिरमा पनि आर्थिक वर्ष २०७५।०७६ को वडाको बजेटबाट २ लाख र जनश्रमदान १ लाख गरि ३ लाख रुपैयाँको लगानीमा पित्तलको छानो लगाइएको छ । वडा अध्यक्ष राजेशन्द्रमुनी शाक्यले बजारको बिच भागमा रहेको यो मन्दिर आकर्षक देखिएको र यहाँ आउने पर्यटकहरुको मन तान्न सफल भएको बताए । अध्यक्ष शाक्यले मन्दिरमा मात्रै नभएर वडा कार्यालयले स्थानीय बौद्ध गुम्बाहरुका लागि पनि बजेट बिनियोजन गरिएको बताए ।

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले तानसेन नगरपालिकाको प्रमुख आर्कषण यहाँका सम्पदाहरु भएको बताए । यहाँ आउने पर्यटकहरु समेत यहाँ सम्पदा मन पराउने गरेका छन् । यसकारण पनि यी सम्पदाहरुको संरक्षण आवश्यक छ । प्रमुख शाहीले भने । हाम्रो इतिहास संस्कृति र कला पुर्खाले दिएको विषय हो । हामीले पर्यटनको कुरा गरेका छौं यसले पनि यस पर्यटन प्रवर्धनमा सहयोग गर्छ ।

‘क्रमागत रुपमा यहाँ रहेका सबै सम्पदाहरुलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरि काम अगाडि बढाएका छौं । भगवती मन्दिरको जिर्णोद्धारका लागि हामीले पुरातत्व विभागसँग समन्वय गरेका छौं । सबै धर्म संस्कृतिलाई हामीले समान महत्व दिएका छौं ।’ प्रमुख शाहीले भने ।
साभारः हाम्रो तानसेन बुलेटिन