जनमैत्री सेवामा प्रतिबद्ध छौं ः वडाध्यक्ष घर्ती

0
651
पाल्पा । माथागढी गाउँपालिका वडा नं. ३ कसेनीका वडाध्यक्ष तेज बहादुर घर्तीको यो पहिलो जनप्रतिनिधि अनुभव हो । हुन त घर्ती जनप्रतिनिधि हुन अघि पनि विभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्थ्यो । गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार भई वडाध्यक्षको रुपमा निर्वाचित वडाध्यक्ष घर्तीले आफू सहित वडाका जनप्रतिनिधिहरुले जनताको असल सेवकको रुपमा कार्य सम्पादन गर्दै आएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा वडाभित्र सञ्चालित विभिन्न योजनाहरुको कार्यान्वयन, अनगुमन र फरफारक प्रक्रियामा सहजीकरण गर्दै आगामी वर्षको बजेटबाट योजना सञ्चालन र बजेट बिनियोजनका लागि टोलभेलाका कार्यक्रम पनि चलिरहेको उहाँले बताउनुभयो । “स्थानीय समुदायसम्म पुगेर उहाँहरुको आवश्यकता अनुसारको योजना बनाई सोही बमोजिम बजेट बिनियोजन समेत गरिनेछ ।” वडाध्यक्ष घर्ती भन्नुभयो ।
वडाभित्रका सबै जसो योजनाहरुको सम्झौता भइसकेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा संघ, प्रदेश, गाउँपालिका तथा वडाबाट बिनियोजित बजेटका योजनाहरू करिव ६३ वटा योजना सराईमा रहेका छन् ।  जेठ महिनाभित्रै सबै जसो योजना सम्पन्न हुने उहाँले बताउनुभयो ।
वडामा अधिकांश योजना उपभोक्ता समिति मार्फत सञ्चालित छन् । केही योजनाहरुको काम कोटेशन मार्फत निर्माण व्यवसायीसग सम्झौता गरि गरिएको छ । चालु आर्थिक वर्षमा वडाकै ठूलो योजनाको रुपमा रहेको ५० लाख रुपैयाँ बजेट रहेको एक्लेबर सिकारकोट ओलेस सिलङ्गी सरापकोट सराई मोटरबाटोको रिङरोड निर्माण कार्य रहेको छ । यो योजनाको काम चलिरहेको छ । अर्को महत्वपूर्ण योजनाको रुपमा रहेको कसेनी स्वस्थ्य चौकी भवन टेण्डर प्रक्रिया मार्फत काम सुरू भएको छ । विद्यालय, कुवा मर्मत, सडक स्तरोन्नति कृषि, स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, खानेपानी, सिंचाई, भौतिक संरचना निर्माणका साथै मानवीय तथा सामाजिक विकासका योजनाहरु पनि वडाभित्र सञ्चालनमा रहेको उहाँले
बताउनुभयो ।
वडाभित्र लक्षित वर्गका कार्यक्रमहरु पनि प्रभावकारी रुपमा सञ्चालन  भइरहेका छन् । युवाहरुका लागि खेलकुद सामग्री खरिद गरी वितरण गर्ने कार्य सम्पन्न भएको छ । वडाभित्रका ५ वटा विद्यालयललाई ल्यापटप र प्रिन्टर उपलब्ध गराउने गरी कार्यक्रम अन्य केहीको काम सकिएको छ भने केही काम छिटै सकिने उहाँले बताउनुभयो ।
लक्षित वर्ग कार्यक्रम अन्तरगत नै आदिवासी जनजातिहरुको लागि माइन्यूट लेखन, प्रस्तावना, प्रतिवेदन लेखन, कार्यक्रम सञ्चालन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । यी कार्यक्रमसँगै तीज गीत प्रतियोगिता, विभिन्न रचनात्मक खेल, फरक क्षमता भएका व्यक्ति, विपन्न, दलित, सामाजिक सुरक्षा भत्ता नपाउने ज्येष्ठ नागरिकका लागि समेत न्यानो कपडा वितरण जस्ता काम सम्पन्न भएको र यसखालका कार्यक्रमबाट लक्षित वर्गहरू पनि खुशी भएको उहाँले
बताउनुभयो ।
वडामा रहेका टोल विकास समितिहरुका टोल संयोजकहरुलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ । वडाभित्र सञ्चालनमा रहेका योजनाको गुणस्तर र समयमा सम्पन्न गर्नका लागि बजेट र मापदण्ड अनुसार अनुगमनको काम हुने गरेको छ । समयमा हुने अनुगमनले ज्ञानका अभावमा हुने गल्ती तत्काल सच्याउन सकिने भएकोले योजना तथा कार्यक्रमको प्रभावकारिता बढेको उहा“ले बताउनुभयो ।
वडाले योजनाहरुमा जनसहभागितालाई पनि विशेष जोड दिएको छ । वडाको ग्रामीण क्षेत्रमा अझ बढी रहेको र बजार क्षेत्रमा पनि जनसहभागिता उत्साहजनक नै रहेको उहाँले बताउनुभयो । वडा कार्यालयमार्फत उपभोक्ताले गर्ने योजना तथा कार्यक्रम सानो बजेटको हुने भएकोले योजना सञ्चालनको सुरुवातीमै पेश्की नपाउने, दररेट कम हुने र काम अनुसारको मुल्यांकन नआउँदा उपभोक्ताहरुले कतिपय अवस्थामा उपभोक्ता समितिहरुमा बस्न अप्ठेरो मान्ने गरेको यसबारे पालिकामा पनि विभिन्न समयमा छलफल हुने गरेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here