रैनादेवी छहरा गाउँपालिकाकी उपाध्यक्षले ल्याइन् नयाँ तीज कोसेली (भिडियो सहित)

0
387

पाल्पा । पश्चिमा संस्कृतिको प्रभाव र उत्तरआधुनिकतावादले तीज पर्व निकै भड्किलो बनिरहेका बेला रैनादेवी छहरा गाउँपालिका उपाध्यक्ष चेतना थापाले तीज गीत ‘सिमसिमे पानीमा’ ल्याएकी छन् । तीजमा गाइने गीतको कथावस्तु, मौलिकता र गायनशैलीमा सुधार गर्दै उनले यो तीजगीत ल्याएकी हुन् ।

लोकसंस्कार, साँस्कृतिक पद्दति र मौलिकतालाई आत्मसाथ गर्दै तीजगीत सार्वजनिक गरिएको छ । राजनीति, सामाजिक सेवा र कलाकारितालाई थापाले संगसैगै अगाडी बढाएकी छन् । उनको आवाजलाई संगीत क्षेत्रमा रुचाइएको पनि छ । महिलाको महान पर्व तीजले बजार तात्दै गर्दा बजारमा ल्याएको तीज गिती एल्बम सिम सिमे पानीमा उनको आफ्नै स्वर छ । गीतमा लय शब्द शिब हमालको रहेको छ ।

यस गीतको संगीत संयोजन विश्वास नेपाल र श्रृँगार सगुन शर्माले गरेका छन् । गीतको सम्पादन, छायाँकन र निर्देशन बिष्णु भट्टराईले गरेको थापाले बताइन् । करिष्मा ढकालको अभिनय निकै मनमोहश छ । तीज गीतको म्यूजिक भिडियो समेत तयार भइसकेको छ । गीतमा परिवर्तित समय अनुसार चल्न दिदीबहिनीहरूलाई सन्देश दिने प्रयास गरिएको उनले बताइन् । गीत मार्फत चेलीहरुको माईती घरको मोह र मायालाई प्रष्टसंग दर्शाइएको छ ।

माईतीहरु प्रशस्त भएर पनि तीजमा चेलीलाई माईती घरमा नबोलाएको र लिन नआएको भनेर चेलीहरुले गर्ने गुनासोलाई पनि गीतमा सम्बोधन गरिएको कलाकार थापाले बताइन् । गीतको छायाँकन रैनादेबी छहरा गाउँपालिकाको सेरोफेरोमा गरेकी छन् । यस गीतले आम दर्शक, श्रोताको मन जित्ने विश्वास गायिका थापाको छ । अघिल्लो वर्षका तीज गीतले युट्युबमा धेरै दर्शक पाएकाले यो गीतले अझ धेरै पाउने अपेक्षा गायिका थापाको छ । विगतका गिती एल्वम भन्दा यो एल्वम धेरै फरक र सुधारिएकाले पनि धेरै दर्शक र श्रोता पाउने अपेक्षा लिएको उनले बताइन् । श्रीमान र घर परिवारको राम्रो साथ र सहयोग रहेकाले राजनीति, समाजसेवा र कलाकारितालाई संगै अगाडी बढाउन धेरै सहयोग पुगेको गायिका थापाले बताइन ।
समग्रमा गीतले सामाजिक चेतना जगाउने र पश्चिमा संस्कृतिलाई परिवर्तन गरिनुपर्ने आवाज बुलन्द पारेको यसलाई नजिकबाट नियालेका गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बताए । गीतले नेपाली समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको देखिने उनले बताए ।

गाउँपालिको उपाध्यक्षको जिम्मेवारी र व्यस्त दैनिकी हुँदाहुँदै थापाले कलाकारिता क्षेत्रलाई पनि संगसंगै अगाडी बढाएको उनले बताए । यसअघि मादलुको तालमा, आहा रेलुमै र जुरेली चरी सहित तीन वटा गिती एल्वम सार्वजनिक गरिसकेकी छन् ।


https://www.youtube.com/watch?v=jHYfytKOJ6g

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।