एक पटक पुग्नैपर्ने ठाउँ पाल्पाको जलेश्वर, प्रर्वधनको काम तीव्र

    0
    2037

    पाल्पा । रिब्दीकोट गाउँपालिकाको सुन्दर डाँडो जलेश्वर क्षेत्रलाई थप सुन्दर सहित पर्यटकीय गन्तब्य बनाउन प्रदेश सरकार र स्थानीय सरकार कस्सिएर लागेका छन् ।

    पछिल्लो समय जलेश्वर मन्दिर क्षेत्र पर्यटनको आकर्षणको केन्द्रको रुपमा बिकसित हुदै समेत गएको छ । करिव १७ सय मिटर उचाईमा रहेको जलेश्वर क्षेत्र धार्मिक हिसावले मात्रै नभएर ऐतिहासिक रुपमा समेत महत्वपुर्ण छ । यो क्षेत्र जडिबुटीको खानीको रुपमा समेत रहेको छ ।

    आर्थिक वर्ष २०७५,०७६ मा प्रदेश स्तरीय सामाजिक बिकास मन्त्रालयबाट प्राप्त १५ लाख रुपैयाँ तथा र ३ लाख ९१ हजारको जनसहभागितामा जलेश्वर क्षेत्र बिकास समितिले जलेश्वर क्षेत्रमा जडिबुटी उद्यानको काम गरेको जलेश्वर क्षेत्र बिकास समिति तथा जडिबुटी उद्यान समिति अध्यक्ष वेणी माधव आचार्यले बताए । जलेश्वर क्षेत्रमा लोपोन्मुख जडिबुटीहरुको संरक्षण साथै नयाँ जातका बिरुवाको बिकास साथै संरक्षण गर्न लागेको बताए । यस क्षेत्रलाई जडिबुटीको नमुना उद्यानको रुपमा बिकास गरि प्रभावित क्षेत्रका जनतालाई उत्पादनका आधारमा रोजगारीको व्यवस्था मिलाउने योजना रहेको आचार्यले बताए ।

    जलेश्वर क्षेत्रमा अहिले धार्मिक महत्वका मुर्ति तथा सम्पदाहरुको समेत निर्माण गरिएको छ । जसका कारण यो क्षेत्र थप सुन्दर भएको छ । यस क्षेत्रको महत्वबारे थप प्रचार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरु यहा प्रसस्त रुपमा भित्र्याउन सकिने उनले बताए ।

    हालसम्म कुरिलो, मेकाडमिया, दाँते ओखर, एभोकाडा, रुद्राक्ष, अगरउड, क्रिस्मस ट्री, बोदीचित्त, घ्यू कुमारी लगायत बिभिन्न प्रजातीका फलफूल, जडिबुटी तथा सुगन्धित वनस्पती रोपण गरिएको छ । यस क्षेत्रको थप प्रवर्धनका लागि स्थानीय सरकार रिब्दीकोट गाउपालिकाले समेत तत्परता देखाएको छ । रिब्दीकोट गाउपालिकाको आर्थिक बर्ष २०७६,७७ को निति तथा कार्यक्रममा जलेश्वर मन्दिर क्षेत्रलाई धार्मिक स्थलका साथै जडिबुटी उद्यानको निर्माण गरी उक्त क्षेत्रलाई अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने,आन्तरिक पर्यटन प्रवद्र्धनका लागि गाउपालिका क्षेत्रभित्र उपयुक्त स्थान छनोट गरी पिक्निक स्पटको निर्माण गर्ने साथै सांस्कृतिक तथा धार्मिक पर्यटनका लागि लुम्बिनी–जलेश्वर–भैरवस्थान हुदै पाणिनी तपोभूमि तथा ऋषिकेश क्षेत्र मार्ग अध्ययन र थप पदमार्ग निर्माणका लागि प्रदेश तथा संघसंग सहकार्य गर्ने नीति लिएको गाउ“पालिकाका अध्यक्ष नारायण बहादुर जीसीले बताए ।

    यस स्थानको ऐतिहासिक अबस्थालाई नियाल्दा भारतमा मुगलहरुको आक्रमण सहन नसकी तुथारय सेनले पैयागबाट धपिएर बुटवलको बाटो रिब्दीकोटलाई आफ्नो स्वतन्त्र राज्य स्थापना गरि बसेको र तानसेन आउनु अघि सेन बंशीय राजाहरु शिलाङथोक को नजिकमा रहेको पुरानकोट साबिकको भैरवस्थान गा.वि.स. लाई राजधानी बनाई शासन गरेको इतिहासमा उल्लेख गरेको पाइन्छ । ऐतिहासिक भैरव बाबाको मन्दिर देखि करिव ११ किलोमिटर पश्चिममा रहेर उत्तर पूर्व मोहोडामा रहेको यो क्षेत्र रिब्दीकोट कै रमणीय पर्यटकिय स्थलको रुपमा रहेको छ ।

    ऐतिहासिक जलेश्वर मन्दिर क्षेत्रलाई बोटानिकल गार्डेनको रुपमा बिकास गर्ने गाउँपालिकाले कार्यक्रम बनाएको गाउँपालिकाका अध्यक्ष जि.सी.ले बताए । यस क्षेत्रमा रहेको ६५ रोपनी गुठीको जग्गामा बिभिन्न प्रजातीका बिरुवा लगाउनुका साथै अरु करिव २५ हेक्टर क्षेत्रफलको सामुदायिक बन क्षेत्रलाई टिमुर, अम्रीसो, तेजपात जातका जडिबुटीको पकेट क्षेत्रको रुपमा बिकास गर्न लागेको अध्यक्ष जि.सीले बताए । यस क्षेत्रमा स्याउ, चिया,कफी लगायतका बिरुवाहरुको नमुना उत्पादन गरि पाल्पा कै गहनाको रुपमा बिकास गर्ने लक्ष्य गाउ“पालिकाको रहेको अध्यक्ष जि.सीको भनाई छ ।

    जलेश्वर क्षेत्रलाई ऐतिहासिक धार्मिक, सांस्किृतिक पर्यटकिय स्थलको साथै बोटानिकल अनुसन्धान केन्द्रको रुपमा बिकास गर्न लागिएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिसिराम अर्जेलले बताए । ऐतिहासिक सेन राज्यको धार्मिक, सांस्कृतिक पहिचान साथै पर्यटन बिकासका लागि सरकारले फेकको रिङसिङ रिब्दीकोट क्षेत्र, पुर्णकोट साथै तानसेनको श्रीनगर क्षेत्रको एकिकृत बिकासको अबधारणा बनाउन सके पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने देखिन्छ ।

    यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतका १ सय ४० जना कामदारलाई १ महिनासम्म यस क्षेत्रको सरसफाई तथा जडिबुटीका बिरुवा लगाउन गाउ“पालिकाले उपयोग गरेको थियो । जसका कारण यो क्षेत्र थप चिटिक्क भएको छ । हालै यहाँ १ सय ८ पिपल समेत रोपिएको छ ।

    पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।