भुसलडाँडाका शिक्षकलाई तालिम

0
117

पाल्पा । भुसलडाँडा माध्यमिक विद्यालय, तानसेन, पाल्पामा आयोजित शिक्षकहरूका लागि दुई दिने तालिम कार्यशाला समापन भएको छ ।


काठमाडौ विश्वविद्यालय, स्कूल अफ एजुकेशन, ललितपुरको सहयोगमा सञ्चालित यस कार्यशालामा काठमाडौ विश्वविद्यालयका प्रतिक्षा खनाल, सम्झना पन्त, गीता बराल र चन्दा श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यशालामा कला र सिप विकास, एकिकृत शिक्षण, क्रियाकलाप तथा परियोजना कार्यमा आधारित शिक्षण र प्रयोगात्मक अभ्यासका नमुना शिक्षण गरिएको थियो । विशेषगरी प्रारम्भिक तथा प्राथमिक कक्षाशिक्षणलाई प्रभावकारी शिक्षण गर्ने विविध क्रियाकलाप, खेल विधि र सामान्य सामग्री प्रयोगबाट भाषिक, गणितीय, सामाजिक, विज्ञान जस्ता सिपको विकासमा कार्यशाला केन्द्रीत थियो ।


कार्यशालाको समापनमा सहभागीका तर्फबाट शिक्षक पदमबहादुर कार्कीले कार्यशालाबाट कक्षाशिक्षण बढी प्रयोगात्मक र गरेर सिक्ने सिप विकास भएको, खेल तथा क्रियाकलापमा आधारित शिक्षण र विभिन्न विषयलाई एकिकृत गरी शिक्षण गर्ने सिप विकास भएको बताए ।
समापन समारोहमा नेल्टा प्रदेश नं. ५ का वरिष्ठ उपाध्यक्ष तथा प्रशिक्षक गोपालप्रसाद वश्यालले किताब पढेर ब्याख्या गर्ने परम्परागत विधिको बन्द गरेर विद्यार्थीलाई विभिन्न प्रकारका क्रियाकलाप मार्फत प्रयोगात्मक अभ्यास गरी सिकाइ बृद्धि गर्न शिक्षकहरू लाग्नुपर्ने बताए । उनले कार्यशालामा प्रस्तुत गरिएका एकिकृत शिक्षण र क्रियाकलापमा आधारित शिक्षण नै अहिलेको कक्षाशिक्षण विधि भएकोमा जोड दिंदै विद्याार्थीलाई विभिन्न परियोजना कार्य मार्फत सिकाइ सक्षमता र सिकाइको ब्यवहारिक प्रयोग बढाएर प्रतिस्पर्धात्मक अवस्थामा विद्यार्थीको आकर्षण केन्द्रका रुपमा विद्यालयलाई विकास गर्न आग्रह गरे ।


समापन समारोहमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण के. सी. ले विद्यालयको विकासमा सबै शिक्षकहरूको सक्रिय सहभागिता र प्रयाश हुनु आवश्यक भएको बताए । समापन कार्यक्रममा प्रशिक्षक गोपालप्रसाद वश्याल र विब्यस अध्यक्ष हरिकृष्ण कार्कीले सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरे ।