रम्भाका स्वास्थ्य चौकी र विद्यालयमा सोलार जडान

0
199

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिकाले स्वास्थ्य चौकी तथा विद्यालयमा सोलार प्रणाली जडान गरेको छ । गाउपालिकाको ताहु प्राथमिक स्वास्थ्य केन्द्र, पिपलडाँडा स्वास्थ्य चौकी तथा हुगी स्वास्थ्य चौकीमा सोलार प्रणाली जडान गरिएको हो ।

सोलार जडान पछि विद्युत नहुँदा पनि बिरामीको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने छ । सोलार जडान पछि विद्युतीय उपकरणको प्रभावकारी र भरपर्दो प्रयोग हुनेछ । विशेषगरी स्वास्थ्य प्रयोगशाला, एक्स रे तथा अन्य विद्युतीय सामाग्रीको संचालनमा सोलर प्रणाली उपयोगी हुनेछ । यसै गरि गाउपालिकाको सानाहुगी मावि फोक्सिङ्गकोट, जनहित मावि हुमीन तथा श्रीकृष्ण गण्डकी मावि हुगीमा पनि सोलार जडान गरिएको छ । सोलार जडान पछि कम्प्युटर कक्षा, विद्युतीय हाजिरी मशिन तथा ईन्टरनेट संचालनमा सहज हुनेछ । विद्युत नहुदा पनि विद्युतीय सामाग्री संचालन गर्न सकिने छ ।

गाउँपालिकाले नेपालकै धार्मिक तथा पर्यटकीय गन्तव्यको सुचिमा सुचिकृत रम्भादेवी मन्दिरमा समेत सोलार प्रणाली जडान गरेको छ । रम्भादेवी मन्दिरको सुरक्षा, भजनकीर्तनमा विद्युतीय आपुर्ति तथा प्रकाशको व्यवस्थापनमा सोलार प्रणाली उपयोगी हुनेछ । रम्भा गाउपालिकाले वैकल्पिक उर्जाको खोजी गर्दै यस वर्ष करिब ६ लाख रुपियाबाट विभिन्न सेवा प्रदायक संस्थामा सोलार जडान गरेको रम्भा गाउपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । गाउपालिकाले आगामी वर्षमा समेत वैकल्पिक उर्जाको खोजी र विस्तार गर्ने कार्यक्रम बनाएको छ ।