पत्रकारिता सिक्दै बगनासकालीका ३० युवा

0
1095

कृष्ण गैरे । (बगनासकाली) पाल्पा
बगनासकाली गाउँपालिका वडा नं. १ घोरबन्दाकी १९ वर्षीया सुनिता गाहा बुधवार बिहान ११ बजे बगनासकाली गाउँपालिकाको सभाहलमा आइपुगिन् । उनी पत्रकार बन्न चाहन्छिन् । गाउँपालिकाको सहयोगमा बगनासकाली पत्रकार समूहले आयोजना गरेको ३ दिने आधारभुत पत्रकारिता तालिममा सहभागी हुन उनी गाउँपालिकाको सभाहलमा आइपुगेकी हुन् ।

समाजमा रहेका बिभिन्न खालका बिकृति बिसंगतिहरुलाई अन्त्य गर्दै समुन्नत समाजको निर्माण गर्न पत्रकारिता क्षेत्रको महत्वपुर्ण भूमिका देखेर उनी पत्रकार बन्न चाहन्छिन् । “अहिले पनि हाम्रो समुदायमा बालबिवाह कायमै छ । समाचारका माध्यमबाट बालविवाह गर्दा समाज, परिवार र स्वयम् ब्यक्तिको स्वास्थ्यमा पर्ने असरबारे चेतना फैलाउन चाहान्छु ।” सुनिताले भनिन् ।


सोही गाउँकी सन्तोषी कुमाल पनि पत्रकार बन्न चाहन्छिन् । गाउँठाउँमा भएका कार्यक्रम तथा गतिबिधिहरुलाई समाचारका माध्यमबाट संचारमाध्यममा पुर्याउन उनलाई मन छ । “गाउँठाउँमा धेरै कार्यक्रमहरु भएका छन् । ती राम्रा खालका कार्यक्रमको सन्देश संचारमाध्यममा लैजान सक्ने हो भने त्यसबाट अरुले पनि सिको गर्न सक्छन् ।” उनले भनिन् ।

सुनिता र सन्तोषी मात्रै हैन बगनासकाली गाउँपालिकाभित्रका ३० जना युवाहरु पनि पत्रकारिता क्षेत्रबारे जान्न र बुझ्न चाहन्छन् । उनीहरु पनि पत्रकारिताबारे जान्न चाहन्छन् र नेतृत्व विकास गर्न चाहन्छन् ।

बगनासकाली पत्रकार समूहले स्थानीय स्तरबाट पनि पत्रकारहरु उत्पादन गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरेको हो । तालिमको पहिलो दिन श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैयाले रेडियो उद्घोषण शैली र रेडियोमा समाचार प्रस्तुतीकरण लगायतका विषयमा सहजीकरण गरे ।
त्यस्तै अर्का पत्रकार सुमन गैरेले स्टेज उद्घोषण सिप सिकाए ।

सो अवसरमा आफ्नो धारणा राख्दै बगनासकाली पत्रकार समूहका सहसंयोजक भोजराज तिमिल्सिनाले अहिलेको समाज सुचना प्रविधि मैत्री समाज भएकोले पनि युवा पुस्तालाई संचारमाध्यमसम्म जोड्न यसप्रकारको तालिम आयोजना गरिएको बताए ।

२० गतेसम्म चल्ने तालिममा पत्रकारहरु देव पचभैया, सुमन गैरे, माधव अर्याल, बिष्णु घिमिरे, भोजराज भट्टराई, यज्ञमूर्ति तिमिल्सिना लगायतले सहजीकरण गर्नेछन् ।
(प्रशिक्षार्थी पत्रकार)

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।